काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँमै रोजगारीको व्यवस्था मिलाउनुपर्ने बताउनुभएको छ । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले आज यहाँ आयोजना गरेको ‘कोरोनाको सङ्क्रमण र विश्व परिवेश’ विषयक भर्चुअल कार्यक्रममा उहाँले भोकमारी र बेरोजगारीको अन्त्यका लागि गाउँमुखी अर्थनीति र जनमुखी राजनीति आवश्यक रहेको बताउनुभएको हो ।
वरिष्ठ नेता पौडेलले गाउँमुखी अर्थनीतिलाई अगाडि ल्याएर कोरोनाको सङ्क्रमणमा गाउँ फर्केका नागरिकलाई गाउँमै रोजगारी र गाउँमै आम्दानीको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । “शहरमा उपलब्ध सेवालाई गाउँमा लगेर रोजगारी र आम्दानीको व्यवस्था मिलाउनसकेमात्र मुलुकको अर्थतन्त्र जोगाउन सकिन्छ”, उहाँले भन्नुभयो ।
उहाँले राज्यको सामाजिक रुपान्तरण हुन नसकेका कारण रुकुमको चौरजहारीमा जातीय विवेदसम्बन्धी घटना घटेको बताउनुभयो । सरकारले कोरोनाविरुद्धको लडाईमा सबैलाई समेटेर अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा काँग्रेस कपिलवस्तुका सभापति सुरेन्द्र आचार्य, रोल्पाका सभापति अमरसिंह पुन, गुल्मीका सभापति भुवन आचार्य, इलामका सभापति हिमालय कर्माचार्य, सङ्खुवासभाका सभापति दिपेन श्रेष्ठ, पाँचथरका सभापति नरेन्द्र केरुङ, कास्कीका सभापति कृष्ण केसी, तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेलगायतको उपस्थिति थियो ।
पुराना नेता खत्रीको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त
नेपाली काँग्रेसले पार्टीका अग्रज नेता क्याप्टेन लालबहादुर खत्रीको निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गर्दै जेठ २० गते निधन हुनुभएका रुपन्देहीका अग्रज नेता ८५ वर्षीय खत्रीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो ।
काँग्रेस रुपन्देही पडसरी गाउँ कार्यसमितिका पूर्वसभापति एवं विसं २०४९ को स्थानीय तहको निर्वाचनमा पडसरी गाउँविकास समितिको उपाध्यक्ष खत्रीको निधनले लोकतान्त्रिक आन्दोलनमा ठूलो क्षति पुगेको काँग्रेसले जनाएको छ । काँग्रेसले भूतपूर्व सैनिक सङ्घ रुपन्देहीका पूर्वसदस्य स्व खत्रीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चीरशान्तिको कामना साथै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।
प्रकाशित मिति: २४ जेष्ठ २०७७, शनिबार १९:५३