मुगु । नेपालकै सबै भन्दा ठुलो ताल रारा जोड्ने पर्यटकीय पदमार्ग निर्माण हुने भएको छ । छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजङ्ग शाहीले गमगढी देखि रारा जोडने पर्यटकीय पदमार्गको बिहीवार एक कार्यक्रमका बिच शिलान्यास गरेपछि पदमार्गको निर्माण कार्य अघि बढेको हो ।
पर्यटकीय हिसावले अत्यन्तै महत्वपूर्ण मानिएको राराको पर्यटन विकासमा टेवा पुरयाउनका लागि छायाँनाथ रारा नगरपालिका वडा नं ३ तलितुम देखि लामाचौर सम्मको ४ किलोमिटर लम्वाई रहेको उक्त पदमार्गको निर्माण कार्य अघि बढाइएको छ ।
आर्थिक वर्ष २०७६÷०७७ को नगर सभाले बिनियोजित रु ५५ लाख र स्थानीय जनसहभागिताबाट रु ३ लाख गरि कुल ५८ लाख रुपयाँको लागतमा उक्त पर्यटकीय पदमार्गको निर्माण कार्य अघि बढाइएको नगरपालिकाले जनाएको छ ।
विश्व जगत नै कोभिड– १९ ले थला परेको बेला बन्दाबन्दीको समयमा पनि सामाजिक दुरी कायम गरि अत्यन्तै सजकताका साथ नगरक्षेत्रका केही गौरवका आयोजना मात्र सञ्चालन गरिने नगर प्रमुख शाहीले बताउनु भयो ।
नेपालकै रमणीय ताल रारा घुम्न आउने जोसुकै पर्यटकका लागि छिटो छरितो र सहजताका लागि गमगढी हुदै तलितुम, लामाचौर, पासाहाल्ना सडक निर्माणमा जोड दिइएको बताइएको छ ।
यस अघि गमगढी देखि रारा जान गमगढी, तुम ताल्च हुदै रारा पुग्न करिव १२ किलो मिटरको दुरी पार गर्नु पर्दथ्यो भने अव बन्ने पदमार्गबाट रारा जान ४ किलोमिटरको दुरी मात्र पार गर्नु पर्ने बताइएको छ ।
यो पदमार्ग निर्माणसँगै रारा जान कम समय लाग्न अपेक्षा गरिएको छ । आर्थिक वर्ष २०७७ साल असार मसान्त सम्ममा उक्त पर्यटकीय पदमार्गको निर्माण कार्य पुरा हुने लक्ष रहेको छ ।
प्रकाशित मिति: २२ जेष्ठ २०७७, बिहीबार १९:४२