दमौली । बन्दाबन्दीको समयमा बैंकमा सर्वसाधारणको अत्यधिक भीड बढेपछि व्यास नगरपालिकाका वडा कार्यालयले वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण गरेका छन् । व्यास नगरपालिका–४ र ९ ले सामाजिक दूरी कायम गर्दै वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण गरेका हुन् ।
अहिलेको विषम परिस्थितिमा बैंकबाट भत्ता वितरण गर्दा भीडभाड बढेको र लाभग्राहीलाई पनि अप्ठ्यारो भएका कारण वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण गरिएको व्यास नगरपालिका–४ का सदस्य वसुन्धरा घर्तीले जानकारी दिनुभयो ।“यसभन्दा अगाडि बैंकबाटै भत्ता वितरण हुँदै आएको थियो, तर अहिलेको परिस्थतिमा बैंकबाट वितरण गर्दा बढी भीडभाड हुने देखियो”, घर्तीले भन्नुभयो, “त्यही भएर सामाजिक दूरी कायम गर्दै वडाबाटै भत्ता वितरण ग¥यौँ ।” उहाँका अनुसार प्रभु बैंक दमौली शाखाको समन्वयमा वडाबाट १६० जनालाई चार महिनावापतको सामाजिक सुरक्षाभत्ता वितरण गरिएको छ ।
वडामा २४७ लाभग्राही छन् । बाँकीलाई बैंकले समय मिलाएर सामाजिक सुरक्षाभत्ता वितरण गर्नेछ । वडाबाटै सामाजिक सुरक्षाभत्ता पाएपछि ज्येष्ठ नागरिक खुशी भएका छन् । बन्दाबन्दीको समयमा बैंकमा गएर पालो पर्खिएर भत्ता बुझ्न समस्या हुने भएकाले वडाबाटै भत्ता पाउँदा सजिलो भएको ज्येष्ठ नागरिक केशरबहादुर गुरुङले बताउनुभयो ।
“बन्दाबन्दीले गर्दा सधैँ बैंक पनि खुल्दैन, खुलेको दिनमा भीडभाड हुन्छ, घर नजिकै भत्ता पाउँदा सजिलो भयो”, उहाँले भन्नुभयो । यसैगरी व्यास नगरपालिका–९ ले पनि वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ । वडाध्यक्ष सुरेश थापाले महालक्ष्मी विकास बैंक दमौली शाखाको समन्वयमा २७० लाभग्राहीलाई सामाजिक सुरक्षाभत्ता वितरण गरिएको जानकारी दिनुभयो ।
बैंकको शाखा कार्यालय दमौलीमा रहेकाले गाउँका ज्येष्ठ नागरिकलाई बन्दाबन्दीका कारण दमौली पुग्न समस्या भएकाले वडाबाटै भत्ता वितरण गरिएको थापाले बताउनुभयो । “बन्दाबन्दीका कारण सवारी साधन नचल्ने भएकाले हिँडेर जान तीन÷चार घण्टासम्म लाग्छ, सोही कारण गाउँमै बैंकका कर्मचारीलाई बोलाएर भत्ता वितरण ग¥यौँ”, उहाँले भन्नुभयो । महालक्ष्मी विकास बैंक दमौली शाखाका प्रबन्धक सुदीप न्यौपानेले ज्येष्ठ नागरिक, एकल महिला, दलित र अपाङ्गता भएकालाई गाउँमै पुगेर सामाजिक भत्ता वितरण गर्दा लाभग्राहीलाई पनि सहज भएको बताउनुभयो । उहाँका अनुसार सामाजिक दूरी कायम गरी सुरक्षित हिसाबले भत्ता वितरण गरिएको छ ।
व्यास नगरपालिकाले दमौलीमा सञ्चालित बैंक तथा वित्तीय संस्था खोल्नका लागि हप्ताको चार दिन निर्धारण गरेको छ । प्रभु बैंक र महालक्ष्मी बैंक मङ्गलबार बन्द रहने भएका कारण ती दुई बैंकले गाउँमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरेका हुन् । नगरपालिकाले सोमबार, मङ्गलबार, बुधबार र बिहीबार हप्ताको चार दिन दमौलीका बैङ्कलाई बिहान ११ देखि दिउँसो ३ बजेसम्म खोल्न अनुमति दिएको छ ।
प्रकाशित मिति: २१ जेष्ठ २०७७, बुधबार १५:५९