सुर्खेत । कोरोना महामारीको संक्रमणबाट हालसम्म सुरक्षित रहेको कर्णाली प्रदेशलाई थप सुरक्षित राख्न परीक्षण र जनचेतनालाई प्रभावकारी बनाउने अभियानमा सरकार, राजनीतिक नेतृत्व र स्थानीय सरकारकासाथै आम नागरिक जुटेका छन् ।
सोही अभियानका क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री हृदयराम थानी स्थानीय सरकारकासाथै आम नागरिकलाई हौसला प्रदान गर्न राहत सहयोग सहित स्थानीय सरकारसँग हातेमालो अभियानमा जुट्नु भएको छ ।
सहयोग अभियानकै क्रममा कांग्रेस केन्द्रीय सदस्य थानीले बिहीबार सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतका गुर्भाकोट, भेरीगंगा, लेकवेशी नगरपालिका र सीम्ता गाउँपालिका कार्यालयमा पुगी २५ हजारका दरले १ लाख रुपैयाँ नगद तथा मास्क, सेनिटाइजर, साबुन लगायतका स्वास्थ्य सामग्री प्रदान गुर्न भएको छ ।
स्थानीय सरकारलाई नगद तथा स्वास्थ्य सामग्री सहयोग गरेकोमा कांग्रेस नेता एवं पूर्व मन्त्री थानीलाई चारवटै स्थानीय तहका प्रमुखहरुले संकटको वेलामा भएको सहयोग प्रति धन्यवाद दिएको सुर्खेत कांग्रेसका सभापति कमलराज रेग्मीले जानकारी दिनुभयो ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि हौसला दिन कांग्रेस केन्द्रीय सदस्य थानी सहित कांग्रेस जिल्ला सभापति कमलराज रेग्मी र जिल्ला समन्वय समिति सुर्खेतकी उपप्रमुख देवी भट्टराई सहितको टोली बिहीबार पूर्वी सुर्खेतको सीम्ता, गुर्भाकोट, लेकवेशी र भेरीगंगाको कार्यालयमा पुगेको थियो ।
कांग्रेस युवा नेता थानीले यसअघि सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ अन्र्तगतका पञ्चपुरी नगरपालिका, चौकुने गाउँपालिका र बराहताल गाउँपालिकामा पनि २५ हजारका दरले ७५ हजार रुपैयाँ र मास्क, सेनिटाइजर र साबुन लगायतका स्वास्थ्य सामग्री प्रदान गर्नु भएको थियो ।
प्रकाशित मिति: १ जेष्ठ २०७७, बिहीबार १९:५६