सुर्खेत । कोरोना संक्रमण नदेखिएको कर्णाली प्रदेशमा भारत र देश भित्रकै जोखिमयुक्त क्षेत्रबाट प्रदेश प्रवेश गर्ने व्यक्तिहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राखिने भएको छ । जेठ १ गते देखि लागु हुने गरी प्रदेश विपद् व्यवस्थापन केन्द्रले यस्तो निर्णय गरेको हो ।
कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्रको वुधबारको निर्णय अनुसार त्यस्ता व्यक्तिलाई राख्नका लागि प्रदेशका सीमानाकाहरुमा तत्काल क्यारेन्टाइन स्थापना गर्ने समेत निर्णय गरेको छ ।
कर्णाली प्रदेशलाई कोरोना भाइरसको संक्रमणबाट सुरक्षित राख्न जिल्ला र स्थानीय तहको क्षेत्रमा प्रवेश गर्ने जिल्ला प्रशासन कार्यालयले तोकिएको व्यक्ति बाहेक जो कोहीलाई पनि तोकिएको अवधिसम्म उपयुक्त क्वारेन्टाइन स्थलमा राख्ने प्रदेश विपद् व्यवस्थापन केन्द निर्णय गरेको छ ।
विकास आयोजनाहरु सञ्चालन गर्नका लागि निर्माण सामग्री तथा उपकरण बाहिर जिल्लाबाट ल्याउनु पर्ने अवस्थामा सम्बन्धित निकायको कामको विवरण सहितको सिफारिसको आधारमा ल्याउन समन्वय, सहजिकरण र सिफारिस गरिने समेत प्रदेश विपद् व्यवस्थापन केन्दले जनाएको छ ।
त्यसैगरी सुरक्षा सुनिश्चितता सहित उत्पादन, प्याकेजिङ्ग तथा डेलिभरी हुने गरी अनलाइन वा अफलाइन अडरको आधारमा प्रयाप्त सुरक्षा प्रत्याभूति सहित नियन्त्रित रुपमा खाना वा खाजा वा अन्य उपभोग्य सामग्रीको घुम्ती डेलिभरीका लागि व्यवसायीलाई अनुमति दिन सकिने गरी जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिने समेत निर्णय गरेको छ ।
त्यस्तै कर्णाली प्रदेशका हिमाली जिल्लाहरुमा संकलन गरिने यार्सागुम्बाको संकलन कार्यलाई अर्को सूचना वा आदेश नहुँदासम्मका लागि रोक्का गर्ने निर्णय गरिएको प्रदेश विपद् व्यवस्थापन केन्दले जनाएको छ ।
प्रदेश विपद् व्यवस्थापन केन्द्रको वुधबारको निर्णय
प्रकाशित मिति: १ जेष्ठ २०७७, बिहीबार १३:०९