सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कोरोना विरुद्धको लडाईमा उच्च मनोवलका साथ सहभागि हुन चिकित्सकहरुलाई निर्देशन दिनुभएको छ ।
सोमबार कर्णाली प्रदेश अस्पत्ताल सुर्खेतमा पुगेर मुख्यमन्त्री शाहीले चिकित्सकहरुसँग अन्तरक्रिया गर्दै कोरोना विरुद्धको लडाई जित्न चिकित्सकहरुको महत्वपूर्ण भुमिका रहेको बताउनुभयो ।
प्रदेश सरकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी लगायत आम नागरिकको उच्च सावधानी सहितको भूमिकाले कर्णाली प्रदेशमा कोरोना भाइरसका विरुद्धको लडाई जीत हाँशील गरिरहेको बताउँदै मुख्यमन्त्री शाहीले अवको चुनौतिलाई सामना गर्न स्वास्थ्यकर्मीहरुको भूमिका निर्णायक हुने बताउनुभयो ।
‘सशस्त्र युद्धको अग्रमोर्चामा सिपाहीको जस्तो भुमिका कोरोना विरुद्धको लडाईमा तपाईहरुको छ ।’ मुख्यमन्त्री शाहीले चिकित्सकहरुलाई भन्नुभयो – ‘तपाईहरु उच्च मनोवलका साथ आफ्नो भूमिका पुरा गर्नुस् ।’
कोरोनाले निम्त्याएको संकट हल गर्न प्रदेश सरकारले विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्यकर्मीहरुको टोली गाउँ-गाउँमा पठाउने निर्णय गरेको बताउँदै मुख्यमन्त्री शाहीले हरेक वडा वडामा पुगेर जनचेतना निर्माण, कोरोना परिक्षण लगायतको काम गर्न निर्देशन गर्नुभयो ।
मुख्यमन्त्री शाहीले कोरोना परीक्षणलाई व्यापक बनाउनुपर्ने बताउँदै लकडाउन पछि फरक फरक ठाउँबाट भित्रिएका नागरिकहरुको प्रतिनिधित्व हुने गरि स्वाव संकलन गरि कोरोना परीक्षणलाई तिव्र वनाउन निर्देशन गर्नुभयो ।
प्रदेश प्रवेश गर्ने नाकाहरुमा अझै पनि लकडाउनलाई कडाई गर्नुपर्ने बताउँदै मुख्यमन्त्री शाहीले प्रदेश भित्र परीक्षण पश्चात कोरोना देखिएको क्षेत्रलाई सील गर्ने तथा नदेखिएको क्षेत्रमा लकडाउनलाई खुकुलो बनाउन सकिने धारणा राख्नुभयो ।
चिकित्सकहरुले राखेका जिज्ञासाको जवाफ दिदै मुख्यमन्त्री शाहीले स्वास्थ्यकर्मीहरुको लागि प्रदेश सरकार गम्भिर रहेको बताउनुभयो । स्वास्थ्यकर्मीलाई प्रदेश सरकारले निराश हुन नदिने भन्दै स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामग्री र प्रोत्साहन भत्ताको व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: २६ बैशाख २०७७, शुक्रबार २०:२९