काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुद्ध जयन्तीको अवसरमा बुद्धका उपदेशलाई सबैले पालन गरेर देशमा शान्ति कायम होस् र भैरहेको अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सम्पूर्ण देशवासीले मुक्ति पाउन् भन्ने कामना गर्नुभएकाे छ ।
बुद्ध जयन्तीको शुभकामना सन्देश दिदै नेपाली कांग्रेसका सभापति देउवाले दिगो शान्ति विना मुलुकको समग्र विकास सम्भव नहुने नेपाली कांग्रेसको स्पष्ट धारणा रहेको उल्लेख गर्नुभएकाे छ । उहाँले नेपाली कांग्रेसको पहिलो प्राथमिकता नै शान्ति भएकाे बताउनु भएकाे छ ।
विगतका वर्षहरु अशान्ति र द्वन्दबाट आक्रान्त रहेको हाम्रो देश अझै पनि हत्या, हिंसा, अपहरण, मानव अधिकार विरोधी लगायतका घट्नाहरुबाट मुक्त हुन नसकेको उल्लेख गर्दै सभापति देउवाले शान्त र समुन्नत नेपाल निर्माणका लागि हाम्रा सामु थुप्रै अवसरहरु रहेकाे हुनाले हिंसा, हत्या, अपहरण जस्ता मानव अधिकार विरोधी क्रियाकलाप अब सदाका लागि बन्द गरिनुपर्ने बताउनु भएकाे छ ।
कांग्रेसका सभापति देउवाले नेपाल लगायत विश्वका सबै देश अहिले कोरोना भाइरस (कोभिड १९) बाट प्रताडित भएकाे हुनाले लकडाउनको पूर्ण पालना गर्दै सामाजिक दुरी कायम गरेर विश्वव्यापी महामारीलाई परास्त गर्नु आजको आवश्यकता भएकाे बताउनु भएकाे छ । उहाँले उच्च मनोवलका साथ आपसी सहकार्य र एकता विना सम्भव नभएकाे समेत उल्लेख गर्नुभएकाे छ ।
बुद्ध जयन्तीको अवसरमा यही मेरो हार्दिक शुभ–कामना दिदै उहाँले शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, बचन र कर्मले पालन गरी अशान्ति, हत्या र हिंसाको विरोध गर्न समेत आग्रह गर्नुभएकाे छ ।
प्रकाशित मिति: २५ बैशाख २०७७, बिहीबार १०:२९