सुर्खेत । लकडाउनमा पनि राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम भने धमाधम भइरहेको छ । आवश्यक निर्माण सामग्री मौज्दातमा राखिएकोले लकडाउनको असरले समेत सो आयोजनालाई प्रभावित पारेको छैन ।
आयोजनाको बाँध निर्माण स्थल सुर्खेतको भेरीगंगा नगरपालिकाको चिप्लेमा अहिले दोस्रो चरणको काम अन्तर्गत ड्याम, हेड वर्क र पावरहाउस निर्माणका कामहरु धमाधम भइरहेको हो ।
आयोजनाका इन्जिनियर शम्भुराज पण्डितले लकडाउन अघि सामानको मौज्दातमा राखिएको हुनाले आयोजनामा कार्यरत ७० जना मजदुरबाट अहिले पनि धमाधम काम भइरहेको बताउनुभयो । मजदुरलाई खानेबस्नेको सुविधा भित्रै गरिएको र धेरैजसो काम मेसिनबाटै भइरहेको उहाँले जानकारी दिनुभयो ।
सुरुङको ब्रेकथ्रुपछि थालिएको कामको अहिलेसम्म १० प्रतिशत सम्पन्न भएको छ । बाँध निर्माण स्थलमा पानीको बहाव फर्काउने कफर ड्यामको काम भइरहेको आयोजनाले जनाएको छ । आयोजनाका इन्जिनियर पण्डितले लकडाउनको समयमा पनि मेसिनले गर्ने कामहरु धमाधम भएको बताउनुभयो । उहाँका अनुसार आयोजनाको सुरुङ मार्ग खनेर सकिएपछि दोस्रो चरण अन्तर्गत हेडवर्क र पावर हाउसको काम भइरहेको हो । इन्जिनियर पण्डितले कूल आयोजनाको ४० प्रतिशत काम सकिएको बताउनुभयो ।
पहिलो चरणमा पर्ने सुरुङ खन्ने काम २०७६ बैशाख ३ गते ब्रेकथु्र भइसकेको छ । नेपाल सरकारको लगानीमा निर्माणाधीन पहिलो बहुउद्देश्यीय आयोजना निर्माणको लागि नेपालमै पहिलो पटक टनेल बोरिङ मेसिन (टिबिएम)बाट १२ किमी सुरुङ तयार भइसकेको छ ।
आयोजनाको दोस्रो चरण अन्तर्गतको विद्युतगृह र बाँध निर्माणका लागि २०७६ साउन १३ मा रमण–ग्वाङ्डोन जेभीसंग ६ अर्व १६ करोडमा ठेक्का सम्झौता भइ काम अघि बढेको छ । आयोजनाका इन्जिनियर पण्डितले आयोजनाको अन्य काम पनि तीव्र गतिमा भइरहेको बताउनुभयो । उहाँका अनुसार हाइड्रो मेकानिकलको कामको ठेक्का भइसकेको, इलेक्ट्रो म्याग्नेटिक चरणको काम थालिएको, ट्रान्समिसन लाइन सर्वे भइरहेको छ ।
आयोजना अन्तर्गत भेरी नदीको चिप्लेमा ११४ मिटर लामो, ६ ब्यारेजसहितको १५ मिटर अग्लो बाँध निर्माण गरी चिप्लेबाट भेरीको पानी १२ किमी सुरुङ हुँदै ४० घनमिटर प्रतिसेकेण्ड बबईको हात्तीखालमा खसालिने योजना रहेको छ ।
आर्थिक वर्ष २०७९÷०८० मा सक्ने भनिएको सो आयोजनाबाट ४८ मेगावाट विद्युत र बाँके, बर्दियाका करिव ५२ हजार हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पुर्याउने लक्ष्य राखिएको छभने आयोजनाले कृषिबाट तीन अर्ब र विद्युतबाट चार अर्ब गरी बार्षिक सात अर्ब आम्दानी गर्ने सरकारको योजना छ ।
प्रकाशित मिति: २३ बैशाख २०७७, मंगलवार १५:३१