मुगु । कोरोना भाइरसका कारण लगडाउनको समय लम्बिदै गएपछि काठमाडाैँ, नेपालगञ्ज लगायत सुर्खेतमा अलपत्र परेका आप्ना नागरिकलाई मुगुका दुई ओटा स्थानीय निकायले उद्दार गरेका छन् । छायाँनाथरारा नगरपालिका र सोरु गाउँपालिकाको आर्थिक सहयोगमा उद्दार कार्य गरिएको हो ।
चौबिस ओटा बस मार्फत दुबै ओटा स्थानीय निकायका गरि जम्मा ७ सय २० जना बिहीवार मुगु पुगेको छायाँनाथ रारा नगरपालिकाका नगर हरिजङ्ग शाहीले जानकारी गराउनु भयो ।
कोरोना भाइरसले विश्व जगतनै तर्सित भएको बेला उद्दार गरि बिहीवार मुगु पुगेका नागरिकलाई छायाँनाथ रारा नगरपालिका भित्र पर्ने ढोटु, ताल्च र ठिनीमा रहेको हेल्प डेष्कमा चेक जाँचगरि पन्ध्र दिनसम्ममा होम क्वारेन्टाइनमा बस्ने गरि आ–आफ्नो घर पठाईएको नगर प्रमुख शाहीले बताउनु भयो ।
पढाई लगायत बिभिन्न कामको शिलसिलामा विद्यार्थी लगायत अन्य नागरिक गाउँबाट शहर पसेका हुन् । यो समस्यालाई मध्यनजर गर्दै यहाँका २ वटा स्थानीय निकायले नागरिकको उद्दार गरेका छन् ।
जिल्लामा एकै चोटी ७ सय भन्दा बढी मानिस भित्रिएपछि स्थानीय बासिन्दा तर्सित भएका छन् । सबै जनालाई जिल्लामा एकै चोटी क्वारेन्टाईनमा राख्ने क्षमता नभएकोले घर पठाउनुको विकल्प नभएको मुगुका प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले बताउनु भयो ।
हाल मुगुका चारै वटा स्थानीय निकायमा गरि १७ वटा क्वारेन्टाइन, १९ वटा हेल्प डेष्क र २ वटा आइसोलेशन कक्ष रहेको मुगुका प्रहरी नायब उपरीक्षक भुवनेश्वर शाहले बताउनु भयो । हालसम्ममा जिल्लामा कोरोना भाइरसबाट संक्रमित ब्यक्ति नभएकाले विभिन्न सजकता समेत अपनाईएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताउनु भयो ।
जिल्लामा कोभिड १९ कोरोना भाइरस भित्रिन र संक्रमण हुन नदिनका लागि छायाँनाथ रारा नगरपालिकाले वस्ती स्तरमा दु्रत समिति समेत गठन गरेको छ । जसमध्ये बस्ती स्तरमा ५६ वटा, वडा स्तरमा १४ वटा, नगर समिति १ वटा, मुल समिति १ वटा र खोजी दस्ता १४ वटा बनाइएको र सोही अनुसार काम कारर्वाही अगाडी बढीरहेको नगर प्रमुख हरिजङ्ग शाहीले बताउनु भयो । हाल मुगुमा कतारबाट २ जना, दुबई बाट ४ जना र भारत बाट २ सय ४० जना गरी जम्मा २ सय ४६ जना मध्ये सबै जनाको आरडिटी परीक्षण गरिएको र उनीहरु सबैको नेगेटिभ रिर्पोट आएको बताईएको छ ।
प्रकाशित मिति: १९ बैशाख २०७७, शुक्रबार १७:१०