मुगु । मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका वडा नं. १ श्रीनगर गाउँका तिन दाजुभाई लोकेन्द्र बहादुर मल्ल, नृपेन्द्र बहादुर मल्ल र भुपेन्द्र बहादुर मल्लले आफ्ना बुवाको सोमबार पर्न गएको २२ औं एकतृष्ठ तिथीको खर्च कटाएर कोरोना रोकथाम, नियन्त्रण, उपचार तथा राहतका लागि स्थानीय सरकारले स्थापना गरेका कोषमा सहयोग रकम जम्मा गर्ने भएका छन् ।
जिल्ला रहेका ४ वटै स्थानीय सरकार छायाँनाथ रारा नगरपालिका, खत्याड, सोरु र मुगुम कार्मारोङ्ग गाउँपालिका मार्फत लगडाउनले दुख्ख पाएका अपाङ्ग, असाय, विरामी र गरिव परिवारलाई दिईने राहत तथा अन्य सेवामा सहयोग होस् भनेर प्रति स्थानीय तह १० हजारका दरले ४० हजार रुपैयाँ उपलब्ध गराउने जेठा छोरा लोकेन्द्र बहादुर मल्लले बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘प्रत्येक बर्षको बुवाको मृत्यु भएको दिन एकतृष्ठ तिथी मनाउँदा आफन्तजन, शुभचिन्तक, दिदीवहिनी तथा भान्ज ज्वाईहरु सहभागी हुन्र्थे । यो वर्षको तिथीमा कोरोना भाइरस रोकथाम, नियन्त्रण, उपचार र राहतमा सहज होस् भनेर सरकारले बन्दाबन्धी गरेकाले एग्लै तिथी प्रक्रिया पुरा गर्यौ र यो बेला ठुला जमघट नगर्न समेत भनेकाले तिथीमा खर्च हुने पैसा स्थानीय सरकारको विपद् व्यवस्थापन कोषमा सहयोग गर्ने निर्णय गरेका हौ ।’
स्वर्गीय पदम बहादुर मल्ल (सुब्बा) एक समाज सेवी हुनुहुन्थ्यो, गाँउघरमा कसैको घरमा जुनसुकै दुख्खकष्ठ पर्दा, गरिव, वेसाहाराको घरका बालबबालिकाको पढाई, विहाबारी, गर्दा सहयोग गर्नुहुन्थ्यो भने गाउँका प्राय सवै सामाजिक काममा सहभागी हुन्नु हुन्थ्यो श्रीनगर गाउँका स्थानीय रंग बहादुर मल्ल सम्झदै भन्नुहुन्छ उहाँ हुँदा गाउँमा कसैले अन्याय सहनु पर्दैनथ्यो सबैलाई न्याय हुने गरि गाउँमा झै झगडा र विवाद हुँदा मिलाउनु हुथ्यो, त्यस्तो मान्छे यो बेला पाउन कहाँ सकिन्छ र छोराहरुले समाजसेवी वुवाको मृत्यु तिथीको खर्च समेत सामाजिक काममा खर्च गर्ने निर्णय गरेछन खुशी लाग्यो ।
आजै सबै स्थानीय सरकारको विपद् व्यवस्थापन कोषमा रकम जम्मा गर्ने भने पनि जिल्लामा रहेको राष्ट्रिय बाणिज्य बैकको शाखा लकडाउनका कारण आइतबार, मंगलबार र विहीबार मात्र खुल्ने भएकाले मंगलबार सबै स्थानीय तहको खातामा रकम जम्मा गर्ने माईला छोरा नृपेन्द्र बहादुर मल्लले बताउनु भयो ।
मनकारी छोराहरु जेठा लोकेन्द्र बहादुर मल्ल नेपाल शिक्षक महासंघका निवर्तमान जिल्ला अध्यक्ष, माईला छोरा नेपाल पत्रकार महासंघ मुगु शाखाका अध्यक्ष र कान्छा छोरा नेपाल बचत तथा ऋण सहकारी संघ, कणाली प्रदेश समितिको सदस्य हुनुहुन्छ ।
प्रकाशित मिति: १५ बैशाख २०७७, सोमबार १७:४९