मुगु । कोराना भाइरस कोभिड १९ रोकथाम, नियन्त्रण, उपचार तथा राहतमा सहज होस भनेर सरकारले लकडाउन गरेपछि यसको असर यार्सा संकलनमा पनि परेको छ ।
प्रत्येक वर्ष बैशाख महिनाबाट मुगुका विभिन्न पाटन क्षेत्रहरुमा पाईने यार्सागुम्वा संकलन गरिने भएपनि यो वर्ष कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि स्थानीय सरकारले यार्सागुम्बा संकलन, पाटन तथा वनक्षेत्रमा प्रवेश निषेध गरेको छ ।
मुगु जिल्लाका चार वटा स्थानीय तहहरु मध्ये मुगुम कार्मारोङ्ग गाउँपालिकाका वडा नं १, २ र ७ नं वडाहरुका २ दर्जन बढी पाटन क्षेत्रहरुमा पाईने यार्सागुम्वा यो वर्ष संकलनमा गाउँपालिकाले रोक लगाएकोले संकलक तथा खरिदकर्ताहरु नआउन भन्दै शुक्रबार गाउँपालिकाले सुचना सार्वजनिक गरेको छ ।
यार्सागुम्वा संकलन गर्न खरिद गर्न देश भित्रका विभिन्न जिल्ला र छिमेकी भारत तथा चीनको तिब्बत क्षेत्रबाट संकलन तथा खरिदकर्ताहरु हजारांैको संख्यामा गाउँपालिका क्षेत्रमा आउने भएकाले विश्वलाई नै आक्रान्त बनाएको कोरोना भाइरसको संक्रमण हुने सम्भावना भएको र नेपाल सरकारले पनि ठ्ला जमघट भेला नगर्न समेत भनेकाले यो वर्ष गाउँपालिकाले यार्सागुम्वा संकलनमा रोक लगाएको मुगुम कार्मारोङ्ग गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिर्थराज शाहीले बताउनु भयो ।
मुगालीको खेतगरामा भएको उत्पादनले बढीमा ४ महिनासम्म पुग्ने भएकाले अधिकांश मुगाली यो सिजनमा १ महिना यार्सा संकलन गर्न पाटनहरुमा जाने र संकलन गरेका यार्सा खरिदकर्तालाई पाटन मै विक्री गरेर वर्ष भरीको घर खर्चको जोहो गर्ने गर्दथे ।
कोरोनाको असरले सर्वसाधरणको रोजीरोटी, वर्षभरीको आम्दानी, खर्च र गाउँपालिकाको आम्दानी यो वर्ष रोकिने भएको छ ।
गत वर्ष यार्सा संकलन गर्न मुगुमा २० हजार बढी संकलक पाटन क्षेत्रमा प्रवेश गरेका थिए भने १ करोड बढी स्थानीय राजश्व आम्दानी गरेको गाउँपालिकाले जनाएको छ ।
यार्सा संकलन गर्न नपाईने भएपछि यार्सा संकलनबाटै वर्षभरीको खर्च जोहो गर्दै आएका यहाँका स्थानीय चिन्तित भएका छन् । छायाँनाथ रारा नगरपालिका वडा नं १० तल्लेखका अंकबहादुर बुढा आफ्ना गाउँमा मात्र वर्षेनी ८० देखि ९० लाख यार्सा विक्रीबाटै गाउँलेले आम्दानी गर्ने र एक जनाले कम्तिमा ३ लाखसम्म कमाएर ल्याउने बताउँदै कोरोनाले यार्सा टिप्न पनि रोकिनु र विकास निर्माणका काम पनि शुरु नहँदा यो वर्ष गाउँमा भोकमरी हुने चिन्ता व्यक्त गर्नुहुन्छ ।
प्रकाशित मिति: १३ बैशाख २०७७, शनिबार १७:२०