मुगु । विश्व लगायत नेपाल सहित कोरोना भाइरस (कोभिड १९) ले आक्रान्त भएका बेला विपद्मा परेका सर्वसाधारण श्रमिक, मजदुर, गरिव, विपन्नलाई सहयोग पुगोस् भनी स्थानीय व्यापारी लोकराज दाहालले खाद्यान्न सहयोग गर्नु भएको छ ।
यो विपत्तिको बेला पनि व्यापारी दाहालले स्थानीय सरकार मार्फत लकडाउनले गर्दा काम गर्न नपाएर भोक भोकै बस्नु परेका विपन्न, गरिव, वेरोजगार परिवारलाई राहत पुगोस् भनेर खाद्यान्न सहयोग गरिरहनु भएको हो ।
मुगु जिल्लामा रहेका ४ वटा स्थानीय सरकार मार्फत विपन्न, गरिव, वेरोजगार परिवारलाई सहयोग पुगोस् भनेर सोमबार नयाँ बर्षको अवसर पारेर खत्याड गाउँपालिकाबाट सहयोग गर्न उहाँले शुरु गर्नु भएको छ ।
गाउँपालिका अध्यक्ष उवजंग शाहीलाई १४८ बोरा चामल र ३७ काटुन (७४० पाकेट) तेल सहयोग हस्तान्तरण गर्नु भएको हो । गाउँपालिकाले पहिचान गरेका ७३३ विपन्न परिवारलाई राहत स्वरुप उपलब्ध गराउने भनी २ लाख ६८ हजार २८४ मुल्य बराबरको खाद्यन्न तथा तेल सहयोग गरेको व्यापारी दाहालले बताउनु भयो ।
अन्य स्थानीय सरकारलाई पनि उहाँहरुले पहिचान गरेका विपन्न परिवारलाई पालिका मार्फत नै आफ्नो क्षमता अनुसार सहयोग गर्ने उहाँले बताउनु भयो ।
स्थानीय सरकार आत्मनिर्भर र परिपक्क समेत नभएकाले सबै तह र तप्काबाट स्थानीय सरकालाई सहयोग र साथ चाहिने र एउटै स्थानीय सरकारले चाहेर मात्र सपना पुरा नहुने भएकाले विकास तथा स्थानीय तहको प्रगतिका निजी, सरकारी तथा सहकारी क्षेत्रको साझेदारी आवश्यक रहेको गाउँपालिकाले बताएको छ ।
प्रकाशित मिति: २ बैशाख २०७७, मंगलवार १७:५५