मुगु । कोरोना भाइरस नियन्त्रण, रोकथाम, उपचार र राहतका विषयमा अग्रपंतिमा रहेर समाचार संकलन गर्ने जिल्लामा क्रियाशिल संचारकर्मीहरुलाई सरसपफाईका सामग्री सहयोग गरिएको छ ।
जिल्लामा रहेको एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाले जिल्लामा क्रियाशिल १६ जना संचारकर्मीहरुलाई उपलब्ध गराउने गरि नेपाल पत्रकार महासंघ मुगु शाखालाई मास्क, सेनिटाईजर र डिटोल सावुन उपलब्ध गराएको हो ।
नगर क्षेत्रका नगरवासीहरुका लागि ल्याईएका स्वास्थ्य तथा सर सफाईका सामानहरुको निरीक्षण तथा अनुगमन कार्यक्रममा नगरप्रमुख हरिजंग शाहले जिल्लामा क्रियाशिल पत्रकारहरुका लागि १०० सर्जिकल माक्स, ४४ वटा १०० एमएलका हेन्ड सेनिटाईजर र २० वटा डिटोल सावुन सहयोग गर्नु भएको हो ।
महामारीको वेला पनि अग्रपंतिमा रहि काम गर्दा संचारकर्मी बढी जोखिममा रहेकाले नगरक्षेत्र भित्र काम गर्दा कोरोना भाइरसको जोखिम नहोस् र ढुक्कसँग समाचार संकलन गर्नु सकुन भनेर मास्क, सेनिटाईजर र सावुन स्थानीय सरकारले उपल्बध गराएको र कोरोना भाइरस विरुद्घको लडाईमा सँगसँगै हिड्न र समाजमा सकारात्मक सन्देश दिेने सूचना प्रवाह गर्न संचारकर्मीलाई उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा संघीय सांसद गोपाल बहादुर बमले कोरोनाको महामारी अझै नेपालमा नफैलिएकाले राहतमा भन्दा जनतालाई सरसफाई र जनचेतनामा ध्यान दिने खालका कार्य गर्न स्थानीय सरकारलाई सुझाव दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मुगु शाखाका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले कोरोना विरुद्घको लडाईमा जनता अप्रत्यक्ष र संचारकर्मी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी प्रत्यक्ष सिपाई भएकाले तिनै तहका सरकारले प्रत्यक्ष सिपाईको सुरक्षाका लागि चाहिने साधन उपलब्ध गराउन कुनै कसर बाँकी राख्नु नहुने बताउनु भयो । उहाँले जिल्लामा क्रियाशिल पत्रकारको स्वास्थ्य सुरक्षाको ख्याल गर्दै स्वास्थ्य, सरसफाई सामग्री उपलब्ध गराएकोमा नगरपालिकालाई धन्यवाद दिनु भयो ।
नगरपालिकाले नगरबासीका लागि ल्याएको मास्क, सेनिटाईजर र सावुन वितरणको शुरुवात संघीय सांसद बमलाई एक एक सेट सामान नगर प्रमुखबाट हस्तान्तरण गरेर शनिबारबाट सुरुवात गरिएको छ ।
नगरपालिकाले ५५०० घरधुरीलाई पुग्ने सेनिटाजर, २६०० जनालाई पुग्ने मास्क र सावुन खरिद गरेको छ ।
प्रकाशित मिति: २९ चैत्र २०७६, शनिबार १६:४६