मुगु । यहाँका स्थानीय सरकारले आफ्नै विपद् व्यवस्थापन कोष स्थापना गरि कोरोना भाइरस विरुद्घका कार्यमा खर्च गर्न थालेका छन । लकडाउन शुरु भएको तेस्रो हप्ता लाग्दा पनि कहि कतैबाट सहयोग नभएपछि यहाँका स्थानीय सरकारले आफ्नै पालिकाको विपद् व्यवस्थापन कोष खोली सोही कोषबाट कोरोना भाइरस रोकथाम, नियन्त्रण, उपचार र राहतमा खर्च गर्न थालेमा हुन् ।
स्थानीय सरकारले आर्थिक वर्ष २०७६÷०७७ का लागि आफ्ना बजेट बाँडफाँड गरिसकेकाले चैत महिनामा आकस्मिक कोरोना भाइसरका लागि बजेट जोहो गर्न गाह्रो भएको थियो । तत्काल संघीय तथा प्रदेश सरकारबाट आर्थिक तथा अन्य सहयोग भए क्रमश बजेट रकमान्तर गरेर पालिकाहरुले व्यवस्था गर्ने साचेका भएपनि कतैबाट पनि समय मै सहयोग उपलब्ध नभएपछि स्थानीय सरकारले कार्यपालिकाको बैठकबाट निर्णय गर्दै स्वास्थ्यकर्मीहरुका लागि आवश्यक पिपिई सेट, औषधी, राहत सामग्री, क्वारेन्टाईनमा आवश्यक पर्ने सामग्री, सर्वसाधारण जनतालाई मास्क, सावुन र सेनिटाईजर खरिदका लागि बजेट रकमान्तर गरेर विपद् व्यवस्थापन कोषमा रकम छुटाई खर्च गर्न थालेका छन् ।
जिल्लामा रहेका चारवटा स्थानीय सरकार मध्य छायाँनाथ रारा नगरपालिकाले कोषमा १ करोड १० लाख रकम छुटाएको छ । नगर प्रमुख हरिजंग शाही छुटाएको रकम स्वास्थ्यकर्मी तथा कर्मचारीलाई प्रोत्सान भत्ता, २० वटा पिपिई सेट, २६ हजार मास्क, २६ हजार साबुन, क्वारेन्टाईन, स्वास्थ्य सहायता कक्ष व्यवस्थापन, सर्जिकल मास्क, हेन्ड सेनिटाइृजर, सर्जिकल ग्लोप्स, फिभर गन, विपन्न तथा ज्यालादारी कामदारहरुका लागि खाद्यान्न सहयोगमा खर्च हुने बताउनुहुन्छ ।
नगर कार्यपालिकाले निर्णय गरेर आवश्यक पर्ने स्वास्थ्य सामग्री र अन्य राहत सामग्री खरिद भएर जिल्ला प्रशासन कार्यालय मुगुको सहजीकरणमा नगरपालिकामा आईसकेकाले हेल्पडेक्स, स्वास्थ्य संस्था, स्वास्थयकर्मी, संचारकर्मी र स्थानीय जनतालाई छिटै वितरण गर्ने नगरप्रमुख शाही बताउनुहुन्छ । विपद् कोषका लागि नगर कार्यपालिकाले १४ वटै वडामा छुटाएको बजेट शिर्षकबाट प्रति वडा ७ लाख ५० हजारका दरले रकमान्तर गर्ने र अपुग रकम नगरपालिकाले व्यवस्था गर्ने निर्णय भएको थियो ।
मुगुम कार्मारोङ्क गाँउपालिकाले आफनो विपद् कोषका लागि २३ लाख छुटाएकोमा १३ लाख मास्क, सावुन, राहत, क्वारेन्टाइृन व्यवस्थापनमा खर्च भैसकेको र बाँकी १० लाख र अन्य संघ सस्थाबाट प्राप्त हुने रकम स्वास्थ्य सामग्री, औषधी खरिद र आकस्मिक घटनामा खर्च गर्ने गाउँपालिका अध्यक्ष छिरिङ्ग क्याप्ने लामा बताउनु हुन्छ ।
प्रमुख प्रशासकीय अधिकृत तिर्थराज शाही यो गाउँपालिकामा थोरै जनसंख्या भएकाले सबै खर्च गरेर ३०÷४० लाख खर्च हुने र बढीमा २५ प्रतिशतसम्म मात्र रकमान्तर गर्न मिल्ने भएकाले यो भन्दा बढीको खर्चका लागि प्रदेश, संघीय सरकार र सहयोगीदाताहरु कै भर पर्नु पर्ने अवस्था रहेको बताउनुहन्छ ।
खत्याड गाउँपालिकामा आजको मितिसम्म विपद् व्यवस्थापन कोष खोलीएको छैन, कोरोना विरुद्घको खर्च गाउँपालिकाका विभिन्न खर्च शिर्षकहरुबाट हुदै आएको छ । पालिकामा क्रियाशील सहकारी वित्तिय सस्था र गैर सरकारी संघ सस्थाहरुबाट १९ लाख बराबरको रकम कोषमा सहयोग गर्ने प्रतिवद्घ आएको र छिटै कानुनी प्रावधान बुझी विपद् व्यवस्थापन कोष खोल्ने र सो खातामा प्रदेश सरकारको पनि सहयोग आउने अध्यक्ष उब्जन शाही बताउनुहुन्छ ।
पहिलो चरणमा हेल्थ डेक्समा खटिएका स्वास्थ्यकर्मीहरु र गाउँपालिकामा रहेका विपन्न, गरिव, मजदुरी गरि खाने परिवारका लागि खाद्य सामग्री खरिद गरिएको र दोस्रो चरणमा स्वास्थ्यकर्मीहरुका लागि पिपिई सेट, औषधी, मास्क, सेनिटाइजर, सावुन जस्ता सामग्री खरिद गर्ने र यी सबै जोडेर १ करोडसम्म रकम खर्च हुने अनुमान आफुले गरेको अध्यक्ष शाही बताउनुहन्छ ।
यता सोरु गाउँपालिकाले पनि विपद् व्यवस्थापन कोषका लागि बुधबारै गाउँ कार्यपालिकाबाट निर्णय गर्दै ७५ लाख रुपैयाँ छुटाएको छ, सोही कोषबाट गाउँपालिकाले कोरोना भाइरस (कोभिड १९) नियन्त्रण रोकथाम, उपचार तथा राहत अन्य खर्च गर्नेछ ।
गाउँपालिका अध्यक्ष लोक बहादुर शाही शुरुमा अकास्मत यो कोरोना बारे खर्च कसरी जाहो गर्ने भनेर अलमलमा परेपनि गाउँ कार्यपालिकाले आफ्ना सेवा सुविधाहरु कटौती गर्दै विनियोजित बजेट पनि रकमान्तर गरेर कोरोना भाइरस रोमथाम, नियन्त्रण, उपचार र राहतमा खर्च गर्ने निर्णय गरेपछि हाल सोही अनुसार खर्च भैरहेको बताउनुहुन्छ । आफनो गाउँपालिकामा मास्क र सावुन वितरण भैरहेको र स्वास्थ्य सामग्री खरिदका लागि सेवा प्रदायक कम्पनी फर्मसंँग समन्वय भैरहेको र चैत मसान्त वा बैशाखको पहिलो हप्तासम्म गाउँपालिकामा सामग्रीहरु आईपुग्ने अध्यक्ष शाही बताउनुहन्छ ।
स्थानीय सरकारले विकटता, सडकको गुणस्तर नहुँदा र समय मै सामग्री प्रदायक फर्म तथा कम्पनीहरुले उपलब्ध नगरी दिंदा आफुहरुलाई समस्या हुने गरेको बताएका छन् ।
अहिलेको अवस्थामा मुगुमा अधिकांश जनता १ देखि ३ महिनासम्म खानपुग्ने र खेतीपाती पनि गर्ने भएकाले तत्काल यहाँका जनतामा खान नपाएर भोकै बस्नु पर्ने अवस्था छैन, त्यसैले राहतलाई अवस्था हेरी लकडाउन लम्विएमा २ वा ३ महिनापछि वितरण गर्नुपर्ने र तत्काल स्वास्थयकर्मीका लागि स्वास्थ्य सामग्री, सरसफाईका सामग्री र जनचेतनामा स्थानीय सरकार लाग्नु पर्ने नागरिक समाज मुगुका अध्यक्ष रुप बहादुर मल्ल सुझाव दिनु हुन्छ ।
प्रकाशित मिति: २८ चैत्र २०७६, शुक्रबार १९:०१