सुर्खेत । कर्णाली प्रदेश सरकारले कोभिड १९ को द्रुत परीक्षणका लागि घुम्ती प्रयोगशाला परीक्षण सेवा तत्काल व्यवस्थापन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेकाे छ ।
कर्णाली प्रदेश सरकारको मंगलवार वसेको २४ औं मन्त्रिपरिषद् बैठकले ठुलो संख्यामा भारत लगायतका देशहरुवाट आएका कर्णाली प्रदेशका नागरिकहरुमा कोभिड १९को संक्रमण भएको हुन सक्ने र एक अर्को व्यक्तिमा संक्रमण फैलिन सक्ने सम्भावनालाई दृष्टिगत गरी द्रुत गतिमा कोभिड १९ को परीक्षण आवश्यक देखिएको हुँदा घुम्ती प्रयोगशाला परीक्षण सेवाको तत्काल व्यवस्थापन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेकाे हाे ।
मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस (कोभिड १९) को रोकथाम, नियन्त्रण, उपचार, राहात तथा आवश्यक व्यवस्थापन गर्न कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा भएको रकमबाट वीरेन्द्रनगर नगरपालिकालाई ३० लाख, अन्य नगरपालिकाहरूलाहरुलाई २० लाख र गाउँपालिकाहरूलाई १५ लाख रुपैयाँको दरले सम्वन्धित स्थानीय तहले स्थापना गरेको विपद् व्यवस्थापन कोषका लागि वजेट उपलब्ध गराउने समेत निर्णय गरेकाे प्रदेश सरकारका प्रवक्ता विमला के.सी. जानकारी दिनुभएकाे छ ।
मन्त्रिपरिषद् बैठकले देश बाहिर र प्रदेश बाहिर अलपत्र पर्नुभएका कर्णालीवासी नागरिकहरुको तत्काल व्यवस्थापन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने, कोरोना भाइरस (कोभिड १९)को सम्भावित जोखिम न्युनिकरण गर्न संघीय सरकारद्वारा गरिएको लकडाउन थप गर्ने निर्णयलाई कडाईपूर्वक कार्यान्वयन गर्ने गराउने समेत निर्णय गरेकाे छ ।
कर्णाली प्रदेश भित्रका सवै स्वास्थ्यकर्मीहरू कोरोना भाइरस (कोभिड १९)को रोकथाम, नियन्त्रण तथा उपचारमा संलग्न रहेको र गर्मीयाम शुरूवातसंगै अन्य मौसमी महामारी हुनसक्ने अवस्थालाई ख्याल गर्दै औषधि, उपकरण र विशेषज्ञ सहितको टोली तयारी अवस्थामा राखि आवश्यक परेको अवस्थामा कर्णाली प्रदेशमा पठाउन नेपाल सरकारलाई अनुरोध गर्ने मन्त्रिपरिषद् बैठकले गरेकाे प्रवक्ता के.सी. बताउनु भएकाे छ ।
प्रकाशित मिति: २५ चैत्र २०७६, मंगलवार १९:२९