सुर्खेत । विश्वभर कोरोना भाईरस (कोभिड–१९) को कहर बढिरहेको अवस्थामा यसको असर नेपाली समाजमा पनि परेको छ । डेढ महिनादेखि बढिरहेको त्रासका कारण पछिल्लो समय नेपाली समाजमा यसको असर परेको हो ।
यसैको त्रासका कारण कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर छोडेर बाहिरिनेको संख्या पनि ह्वात्तै बढेको छ । पछिल्लो ५ दिनमा ८० हजार बढीले वीरेन्द्रनगर छोडिसकेको मध्यपश्चिम यातायात समितिका एरिया इन्चार्ज दिनेश पुरीले जानकारी दिनुभयो ।
दैलेख नौमुलेका टेकराज रोकाय कोरोनाकै डरले काठमाडौंदेखि आफ्नो गाउँ फर्किनुएको छ । प्लस टु पढ्न काठमाडौं पुग्नुभएका शाही भन्नुहुन्छ ‘कोरोनाको त्रासले क्याम्पस नै बन्द भयो, शहरभन्दा गाउँ नै सुरक्षित होला भन्ने लाग्यो त्यही भएरपनि गाउँ नै फर्किएको हुँ ।’
काठमाडौंमा मानिसको भिडभाड धेरै हुने र घरहरु पनि नजिक भएकै कारण कोरोना सर्ने डरले गाउँ फर्किएको शाही बताउँनुहुन्छ । ‘कोरोना त भिडभाडबाट नै सर्ने रहेछ, उहाँले भन्नुभयो, ‘गाउँमा त घर टाढा हुन्छन् र मानिस पनि थोरै हुन्छन्, त्यसैले शहर भन्दा त गाउँ नै सुरक्षित हुन्छ ।’
त्यस्तै कालिकोटकी संगिता फडेरापनि कोरोनाबाट बच्न शहरभन्दा गाउँ नै सुरक्षित लागेकाले गाउँ फर्किएको बताउँनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘यहाँ त धैरै भिडभाड हुन्छ, हाम्रो गाउँतिर त यस्तो भिडभाडपनि हुँदैन त्यसैले गर्दा सावधानी अपनाउन गाउँ नै फर्किन्छौँ ।’
कोरोना भाइरसको जोखिम बढेको भन्दै सरकारले एसईई लगायतका सबै परीक्षा स्थगित गर्नुका साथै अत्यावश्यक काममा बाहेक घरबाहिर ननस्किन र सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेलामा रोक लगाउने लगायतका निर्णय ग¥यो । निर्णय लगत्तै वीरेन्द्रनगर उपत्यकाबाट ठूलो संख्यामा मानिसहरु बाहिरिरहेका छन् ।
स्वास्थ्यकर्मीहरु पनि कोरोनाको संक्रमण तुलनात्मक रुपमा शहरभन्दा गाउँमा जोखिम कम हुने बताउँछन् । गाउँमा थोरै जनसंख्या र घरहरु टाढा भएका कारण सहरभन्दा गाउँ सुरक्षित मान्न सकिने स्वास्थ्यकर्मीहरुको भनाइ छ । प्रदेश अस्पताल सुर्खेतका फिजिसिएन डाक्टर केएन पौडलले भारत लगायत विभिन्न मुलुकहरुबाट धेरै नागरिक गाउँ फर्किएको भन्दै धेरै सावधानी अपनाउन सुझाव दिनुभयो ।
कर्णाली प्रदेश सरकारले पनि संक्रमति देशबाट फर्केकाहरु क्वारेन्टाइनमा नबसे कारबाही गर्ने चेतावनी दिएको छ । संक्रमित देशबाट गाउँ फर्किएका नागरिकलाई अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइन बसेर व्यवस्था गरेको छ ।
सरकारका प्रवक्ता विमला केसीले भारतबाट आउनेले सरकारलाई ढाँटेर क्वारेन्टाइनमा नबसेको खण्डमा कानुनअनुसार कारबाही गर्ने बताउनुभयो । संक्रमण फैलिन नदिने कोसिस गर्दागर्दै पनि गाउँमै कोरोना फैलिएको खण्डमा पनि संक्रमितले गाउँमै उपचार पाउने केसीको दाबी छ ।
ढाई महिना पुग्ने चामल मौज्दात
यस्तै दैनिक उपभोग्य वस्तुको अभाव र कालोबजारी हुन नदिन पूर्व तयारी थालिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अनुसार सुर्खेतमा मात्रै १४ हजार क्विन्टल चामल मौज्दात छ ।
जुम्लामा ३ हजार ९ सय ४८ क्विन्टल, कालिकोटमा २ हजार ८ सय ८०, डोल्पामा ६ हजार, मुगुमा २ हजार ९ सय, हुम्लामा २ हजार ६ सय, जाजरकोटमा ३ हजार पाँच सय र दैलेखमा १ हजार पाँच सय क्विन्टल चामल मौज्दात रहेको कम्पनी लिमिटेड सुर्खेतका प्रमुख भीमबहादुर थापाले जानकारी दिनुभयाे । उहाँका अनुसार सबै जिल्लामा कम्तिमा ढाई महिनासम्म पुग्ने खाद्यान्न मौज्दात रहेको छ ।
प्रकाशित मिति: १० चैत्र २०७६, सोमबार १७:५७