सुर्खेत । वीरेन्द्रनगर ८ मिलडाँडामा बसोबास गर्दै आएका भूमिहिन, सुकुम्वासीहरुलाई जिल्ला प्रशासन कार्यालय सुर्खेतले जग्गा खाली गराउन निर्देशन दिएको छ ।
यही चैत २ गते सूचना प्रकाशित गरी भूमिहिन, सुकुम्वासीहरु बसोबास गर्दै आएको जग्गा खाली गर्न निर्देशन दिएको हो । प्रशासनको निर्देशनपछि राष्ट्रिय भूमि अधिकार मञ्च, जिल्ला कार्यसमिति सुर्खेतले बिहीवार प्रशासनमा पाँच बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको छ ।
सुकुम्वासीहरुले १९ वर्षदेखि बसोबास गर्दै आएका मिलडाँडाका ४८ परिवार लगायत भूमीहिन, सुकुम्बासी र बसोबासको छानविन गर्न, भूमि अधिकारबाट बञ्चितहरुलाई भुमि वितरण गर्न प्रदेश र स्थानीय तहमा आवश्यक कानुन यथाशिघ्र निमार्ण गरी कार्यान्वयन गर्न, खाद्य सुरक्षा र मानव अधिकारको ग्यारेण्टी गर्नु पर्ने लगायतका पाँच बुँदे माग राखेका छन् ।
राष्ट्रिय भुमि अधिकार मञ्च जिल्ला कार्य समिति सुर्खेतका अध्यक्ष कष्णाकुमारी खत्रीले विश्वभर फैलिएको कोरोना भाइरसका कारण सरकारले घर बाहिर ननिस्किन आग्रह गर्दै विद्यालयहरु बन्द गरेको र सुकुम्वासीहरुलाई भने जग्गा खाली गर्न निर्देशन दिएर सडकको बास गराउने अवस्थामा पु¥याएको बताउनुभयो ।
राष्ट्रिय भुमि अधिकार मञ्चका केन्द्रिय सदस्य पहलसिंह पराई मगरले सरकारले आफ्ना माग पुरा नगरे कडा आन्दोलनमा जाने बताउनुभयो । त्यस्तै, मिलडाँडाका मयाप्रसाद जैसीले सरकारले गरिब, सुकुम्वासीहरुलाई पटक पटक आतंकित बनाउने काम गरेको गुनासो पोख्नुभयो ।
प्रकाशित मिति: ६ चैत्र २०७६, बिहीबार १७:३३