सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी कर्णाली प्रदेश कमिटीका अध्यक्ष गोरखबहादुर बोगटीले पार्टीको नेतृत्वमा सरकार चल्नुपर्ने बताउनुभएको छ । वीरेन्द्रनगरमा आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष बोगटीले सो कुरा बताउनुभएको हो । ‘आमरुपमा पार्टी सरकारको मातहत हो भन्ने कुरामा कुनै दुविधा छैन, उहाँले भन्नुभयो पार्टीको नेतृत्वमा सरकार चल्नुपर्छ र पार्टीको नेतृत्वमै सरकार चलाउने अभियानमा हामीले अभ्यास गरिरहेका छौँ ।’
नेपाल कम्युनिष्ट पार्टी कर्णाली प्रदेश कमिटीको आयोजनामा फागुन ६ र ७ गते सम्पन्न तेश्रो प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलाद्वारा पारित १० बुँदे निर्णय सार्वजनिक गर्दै अध्यक्ष बोगटीले भेलाले नेकपा, कर्णाली प्रदेश कमिटीको दोश्रो बैठकले गरेका निर्णयहरु कार्यान्वयनको समिक्षा गर्दा पार्टी एकता सम्बन्धी अधिकांश कामहरु जिल्ला तथा स्थानीय तहसम्म सम्पन्न भएको जानकारी दिनुभयो । उहाँले भेलाले केही जिल्लामा देखा परेका समस्याहरु समाधान गर्न सम्बन्धित कार्यकर्ताहरुसंग छलफल गरेर टुङ्ग्याउने निर्णयअनुसार आवश्यक छलफल गरेर समाधान गरेको बताउनु भयो ।
कमिटीका अध्यक्ष बोगटीले नेकपा, केन्द्रीय कमिटीको २०७६ माघ १५ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न दोश्रो बैठकद्धारा पारित ‘पार्टी एकता शुद्धिकरण तथा जन सम्बन्ध विस्तार अभियान’ लाई सबै जिल्लाहरुमा कार्यान्वयन गर्न गराउन केन्द्रले तय गरेको प्रक्रियालाई अवलम्वन गरी प्रदेशभरी थप प्रभावकारी कार्यान्वयनका लागि निर्णय गरेको जनाउनुभयो । उहाँले जनआन्दोलन तथा जनयुद्धका शहिद, वेपत्ता पारिएका व्यक्ती, घाईते अपाङ्गको तथ्याड्ढ र निजहरुको समग्र अध्ययनका लागि टिम परिचालन गर्ने निर्णय भएको बताउनुभयो ।
अध्यक्ष बोगटीले २०७६ फागुन महिनाभरी सबै जिल्लाहरुमा जिल्ला कमिटीका बैठकहरु सम्पन्न गर्ने निर्णय भएको जनाउनुभयो । उहाँका अनुसार जिल्लामा विभिन्न तहका कमिटीका बैठक, भेला, प्रशिक्षण, स्कुलिङ् तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्न गराउनका लागि तहगत रुपमा सानो टिम निर्माण गरी कार्यान्वयन गर्ने र यो कार्य २०७७ बैशाख दोश्रो हप्तासम्म टोलसम्म सबै जिल्लामा सम्पन्न गर्ने निर्णय भएको छ । उहाँले प्रदेश कमिटीको सचिवालय विभाग र फाँटहरुको गठनका आवश्यक राय परामर्श गरी प्रदेश कार्यालयले टुङ्ग्याउने निर्णय गरिएको जनाउनुभयो ।
भेलाले प्रदेश कमिटीका सदस्यहरुको कार्य विभाजनका सम्बन्धमा गत दोश्रो बैठकले गरेको नीतिगत निर्णयानुसार कतिपय जिल्ला कमिटीहरुले गरेका निर्णयहरुलाई अनुमोदन गरी परिपत्रमार्फत जानकारी गराउने निर्णय समेत गरेको नेकपाले जनाएको छ । साथै उक्त कार्य गर्न बाँकी रहेका जिल्ला कमिटीहरुले सोहीअनुसार गर्न गराउन निर्देशन गर्ने, सरकारका कामहरुप्रति हुने गरेको जनगुनासोलाई मध्यनजर गरी सबै तहका सरकारका आगामी काम कार्बाहीहरुलाई प्रभावकारी बनाउन प्रदेश कार्यालयले विशेष पहल गर्ने लगाएतका निर्णय गरेको जनाइएको छ ।
प्रकाशित मिति: ११ फाल्गुन २०७६, आईतवार १९:०५