सुर्खेत । कर्णाली प्रदेशलाई पुर्ण अर्गानिक प्रदेश बनाउनकालागि यहाँका जनप्रतिनिधिहरुले साझा प्रतिवद्धता ब्यक्त गर्नु भएको छ । बुधवार देखि शुरु भएको प्रथम कर्णाली अर्गानिक कृषि सम्मेलन २०७६ मा सहभागी कर्णाली प्रदेशका जनप्रतिनिधिहरुले कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउनकालागि पाँच बुँदे साझा प्रतिवद्धता ब्यक्त गर्नुभएको हो । प्रथम कर्णाली अर्गानिक कृषि सम्मेलन २०७६ मा ५ बुँदे साझा प्रतिवद्धता जारी गर्दै बिहिबार कार्यक्रम समापन भएको छ ।
अर्गानिक खेतीमा बृद्धी, कर्णाली प्रदेशको समृद्धि भन्ने मुल नारा लिएर शुरु भएको प्रथम कर्णाली अर्गानिक कृषि सम्मेलन २०७६को समापन समारोहमा सहभागीहरुले विभिन्न ५ वटा प्रतिवद्धता ब्यक्त गर्नुभयाे । जसमा कर्णाली प्रदेशको खेतीपाती (खाद्यान्न, तरकारी, फलफूल, मसला, पशुपंछी पालन तथा कृषि पशुपंछीजन्य उद्योग समेत) समग्रतामा प्रागांरिक (अर्गानिक) बनाउन, सबै कर्णालीबासीमा प्रागांरिक (अर्गानिक) खेतीपातीको जागरण बढाउन प्रतिवद्धता जनाउनुभयाे ।
त्यस्तै प्रागांरिक (अर्गानिक) खेतीपातीको अभियान सफल बनाउन सहकार्य र समन्वय गर्न, कर्णाली प्रदेशको विविधतायुक्त विशेषता र स्थानीयतामा आधारित प्रागांरिक (अर्गानिक) खेतीपाती उन्नत बनाउन सामुहिक प्रतिवद्धता जनाउनुभएको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिनुभयो । आम जनसमुदायको जीवन पद्दतिलाई खेतीपाती, जनस्वास्थ्य र शिक्षाको एकिकृत विचार र अभ्यास गरी दिगो प्रकृति र गौरवमय मानव सभ्यतालाई भावी पुस्तामा हस्तान्तरण गर्न पनि साझा प्रतिवद्धता जनाएको मन्त्री केसीले जनाउनुभयो ।
संघीय सरकारका वन तथा वातावरणमन्त्री शक्तिवहादुर बस्नेत, कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम भुमि ब्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी, कर्णाली प्रदेशका मन्त्रीहरु, कर्णाली प्रदेश योजना आयोगका पदाधीकारी, प्रदेश सभाका सदस्यहरु, कर्णाली प्रदेशका स्थानीय तहका प्रमुख-प्रतिनिधिहरु, कर्णाली प्रदेशका जिल्ला समन्वय समितिका प्रमुख, संघीय सरकारका प्रतिनिधि, कर्मचारी, कृषकहरु, लगाएतका विभिन्न विज्ञहरुले साझा प्रतिवद्धता गर्नुभएको छ ।
दुईदिन सम्म संचालन भएको सम्मेलनमा संघीय सरकारका वन तथा वातावरणमन्त्री शक्तिवहादुर बस्नेत, कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भुमि ब्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी, पुर्व गृहमन्त्री जनार्दन शर्मा, २ नम्बर प्रदेशका भुमि ब्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र प्रसाद साह, राष्ट्रिय सभा सदस्य विमला राई पौडेल, कर्णाली प्रदेशका मन्त्रीहरु, कर्णाली प्रदेश योजना आयोगका पदाधीकारी, प्रदेश सभाका सदस्यहरु, कर्णाली प्रदेशका स्थानीय तहका प्रमुख-प्रतिनिधिहरु, कर्णाली प्रदेशका जिल्ला समन्वय समितिका प्रमुखहरु, संघिय सरकारका प्रतिनिधि, कर्मचारी, कृषकहरु,विभिन्न विज्ञहरुको सहभागीता रहेको थियो ।
प्रकाशित मिति: ८ फाल्गुन २०७६, बिहीबार १७:३६