सुर्खेत । उपराष्ट्रपति नन्दबहादुर पुनले कर्णाली पर्यटकिय हिसावले महत्वपूर्ण क्षेत्र रहेको बताउँदै यसको विकास र प्रर्बद्धन गर्ने समय आएको बताउनु भएको छ ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा मंगलबार दोश्रो कर्णाली एक्स्पो महोत्सवको उद्घाटन सत्रमा बोल्दै पुनले नेपाली भाषाको उत्पति र सांस्कृतिक उद्गमस्थलको रुपमा रहेको कर्णालीमा कृषि, पर्यटन, जलश्रोत, पूर्वाधार, र बहुमुल्य जडिबुटीको भन्डारलाई चिनाउन जरुरी रहेको बताउनुभयो । सुर्खेतले सम्रग कर्णालीको विकासकोलागि नेतृत्व गरिहेको भन्दै आर्थिक विकाससंग पनि जोड्नुपर्ने उहाँले जनाउनुभयो ।
उपराष्ट्रपति पुनले राजनितिक उपलब्धीलाई संविधानले संस्थागत गरिसकेको भन्दै अव देश समृद्धिको बाटोमा अगाडी बढिसकेको दाबी गर्नुभयो । ‘अवको युग भनेकै आर्थिक समृद्धिको युग हो । उहाँले भन्नुभयो समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पुरा गर्नकालागि तिन तहका सरकारले प्रभावकारी कामको सुरुवात गर्नुपर्छ ।’ उहाँले कर्णाली सरकारलाई विकास निर्माणसंगै शिक्षा स्वास्थ्य, कृषि, पर्यटन क्षेत्रमा पनि काम थाल्न सुझाब दिनुभयो ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा विकास गर्न अन्यठाँउको जस्तो सहज नभएको भन्दै अन्तराष्ट्रिय लगानीपनि भित्र्याउनुपर्ने खाँचो रहेको बताउनुभयो । उहाँले आर्थिक समृद्धि नेपाली जनताको चहाना भएको भन्दै सरकार जनताको ईच्छा र आकंक्षा अनुसार अगाडी बढेको बताउनुभयो ।
सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले पछिल्लो समय जिल्लामा आयोजना हुने विभिन्न किसिमका मेला महोत्सवहरु भन्दा यो महोत्सव फरक हुने बताउनुभयो । मुलआयोजक समितिका संयोजक समेत रहनुभएका रावतले आर्थिक संकलन र नाफामुखी मात्र नभएर आम्दानीको केही प्रतिशत रकम व्यापारीको सामुहिक हितको लागि स्थापना गरिएको अक्षयकोषमा जम्मा गरिने बताउनुभयो ।
अध्यक्ष रावतका अनुसार मेलमा हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दै पहिलो पटक बीमा गरिएको छ । आगलागी, हावाहुरीबाट भिडभाड, खेल खेल्दा कुनै दुर्घटना भए, हाताहाती भए ६ करोडको बीमाको व्यवस्था गरिएको उहाँको भनाई छ । उहाँले ६ लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा झन्डै एक करोड तिस लाख बराबर खर्च हुने अनुमान गरिएको बताउनुभयो ।
समृद्ध कर्णालीको दिगो, आर्थिक विकासको आधारः अर्गानिक कृषि, पर्यटन, जलश्रोत र उद्योग हुन पुर्वाधारः भन्ने मुल नाराकासाथ उक्त महोत्सव १७ गतेसम्म संचालन हुनेछभने पाँचसय व्यवसायिक स्टलहरु रहने महोत्सवमा ८० वटा स्टल कृषिका मात्र रहने छन् ।
महोत्सवमा कर्णालीका दशवटै जिल्लाका कृषक उद्यमीहरुले उत्पादन गरेका रैथाने तथा अर्गानिक कृषि उपजहरुको प्रदर्शनी गरिनेछ ।
यसैबीच सुर्खेत उद्योग बाणिज्य संघले उपराष्ट्रपति नन्दबहादुर पुनलाई १७ बुद्धे माग पत्र बुझाएको छ । संघका अध्यक्ष रावतले बुझाएको मागपत्रमा कर्णालीको राजधानीमा रहेको विमानस्थलाई अन्तर्राष्ट्रियस्तरको विमानस्थल निर्माणकालागि पहल थाल्नुपर्ने, सुर्खेत नेपालगञ्ज सडकलाई दुईलेन बनाउनुपर्ने माग गरिएको छ ।
यस्तै सुर्खेत दैलेख कालिकोट जुम्ला हुँदै मानसरावोर जोड्ने सडक निर्माण, सुर्खेतको साटाखानीमा प्रस्तावित १ हजार विगाहा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना, प्रदेश एक जिल्ला एक उद्योग स्थापनाकालागि पहल गरिदिनुपर्ने माग गरिएको छ ।
माग पत्रमा पश्चिम सुर्खेतको लखरपाटा तथा सल्यानको गजेरी सिमेन्ट कारखाना, सुर्खेतको विद्युत प्रशारणलाई १३२ केभीए बनाउनुका साथै दैलेख, कालिकोट, जुम्ला र मुगुलाई राष्ट्रिय विद्युत प्रशारण लाईनमा अविलम्ब जोड्न पहल गरिदिनुपर्ने जनाईएको छ ।
यसैगरी चौकुने सिमेन्ट कारखाना, माथिल्ले कर्णाली जलविद्युत आयोजना, जाजरकोटको नलसिंहगाड तथा कालिकोटको तिला कर्णाली जलविद्युत आयोजना, कांक्रेविहार पुनःनिर्माणमा तीब्रता अर्गानिनक कृषि अनुसन्धान, हाल सुर्खेतमा निर्माणाधीन जडीबुटी संकलन तथा व्यवसाय, सुर्खेतमा प्रस्तावित प्रदेशस्तरीय मेडिकल कलेज स्थापनाका लागि तत्काल ठोस कदम चाल्नकालागि पहल गरिदन माग गरिएको छ ।
प्रकाशित मिति: ७ फाल्गुन २०७६, बुधबार १२:४९