मुगु । गत साउन ७ गते मुगु स्थित रारा विमान स्थलबाट २ ग्राम २५ मिली ग्राम परिमाणको ब्राउन सुगर सहित प्रहरीले १ जना युवकलाई नियन्त्रणमा लियो । २२ दिन हिरासतमा बसेपछि मुगु जिल्ला अदालतको आदेश अनुसार सोही महिनाको २९ गते १ लाख २० हजार धरौटीमा उनी छुटे ।
गत कात्तिक १८ गते रारा विमान स्थलबाटै एक अर्का २४ वर्षीय युवक पनि नाईट्राभेट ३५ र ट्रमाडोल ४ ट्याप्लेट लागु औषध सहित प्रहरीले नियन्त्रणमा लियो । ती युवक एक महिना हिरासतमा बसेर मंसिर १८ गते अदालत कै आदेश अनुसार १ लाख धरौटीमा रिहा भए ।
माघ महिनाको २१ गते सदरमुकामको कृष्ण चोक नजिक रहेको चन्दननाथ होटलबाट ०.१० मिलीग्राम ब्राउन सुगर सहित एक जोडी युवा युवतीलाई प्रहरीले नियन्त्रणमा लियो उनीहरु माथि अहिले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गत साउन यता नेपाल प्रहरीले लागु औषध सम्वन्धका ९ वटा मुद्दामा १२ जनालाई नियन्त्रणमा लिएर जिल्ला अदालतमा मुद्दा चलाईरहेको छ । यो अवधिमा प्रतिवादीहरुबाट प्रहरीले २ ग्राम ६३ मिलीग्राम ब्राउन सुगर, १७३० ग्राम ९५ मिलीग्राम चरेश र नाईट्राभेट ३५, ट्रमाडोल ४ ट्याप्लेट बरामद गरेको छ ।
पछिल्लो समय जिल्लामा युवायुवतीहरु चरेश, ब्राउन सुगर र ट्याब्लेट जस्ता लागुऔषध दुव्र्यसनीमा फस्दै गएपछि सेवन र ओसार पसारमा नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरीहरु आक्रम रुपमा खटिएको ल्लिा प्रहरी कार्यालय मुगुका प्रमुख भुवनेश्वर प्रसाद साहले बताउनु भयो ।
उहाँका अनुसार लागु औषध सेवन र ओसार पसारलाई शुन्यमा झार्न पछिल्लो समय मुगु प्रहरी यसका विरुद्घ आक्रामक बनेको छ । यसमा कडा कदम प्रहरीले चालेपछि लागु औषध नियन्त्रणको परिणाममा सफलता मिल्दै आएको जिप्रका मुगुले जनाएको छ । लागु औषध नियन्त्रणमा शुन्य सहनशिलता अपनाउन सुरक्षाकर्मीलाई निर्देशन दिईएको प्रहरी नायव उपरीक्षक साहले बताउनु भयो ।
साउन यता जिल्लामा ८ वटा लागु औषध घटनामा ९ जना विरुद्ध मुद्दा चलेर धरौटीमा छुटेका र २ जना माथि अनुसन्धान चली रहेको प्रहरी नायव उपरीक्षक साहले बताउनु भयो । अघोषित रुपमा मुगु जिल्लालाई लागु औषध निषेधित जिल्ला बनाउने अभियानमा नेपाल प्रहरी लागेको उहाँको भनाई छ ।
लागु औषध सेवनकर्ता र कारोवारी बढ्दै गएपछि प्रहरी कठोर रुपमा प्रस्तुत भएको र दिनरात नभनि नाका नाका र संकास्पद स्थानमा चेकजाँच बढाएको प्रहरीले जनाएको छ ।
समुदाय–प्रहरी साझेदारीले नियन्त्रणमा सफलता
गत वर्ष लागु औषध घटनामा १ जना प्रतिवादी रहेको र विभिन्न घटनाका विरुद्ध ४१ वटा उजुरी परे भने यो वर्षको मध्य मै लागु औषधमा ९ वटा सहित कुल ८२ वटा उजुरी परेको जिल्ला प्रहरी कार्यालयको रेकर्डमा देखिन्छ ।
विगतका वर्ष भन्दा यो वर्षको सुरुदेखिनै यस जिल्लामा लागु औषध नियन्त्रणमा सुरक्षा निकाय कडाइकासाथ लागिपरेकोले सेवन कर्ताहरुलाई नियन्त्रणमा लिन सफल हुँदै आएको प्रहरी नायव उपरीक्षक साहको भनाई छ ।
गृह मन्त्रालयको कार्ययोजना अनुसार समुदाय प्रहरी साझेदारी कार्यक्रम टोल देखि जिल्ला स्तरसम्म सञ्चालित छ । प्रत्येक समितिमा स्थानीयको सहभागीता छ । मुगु जिल्लामा २ सय ७० वटा टोल, वडा, विद्यालय, पालिका र जिल्ला स्तरीय समिति गठन भएका छन् । प्रत्येक दिन नेपाल प्रहरीले केही न केही सामुदायिक र जनचेतना मुलक कार्यक्रम गरिरहेको हुन्छ ।
गत साउन यता समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला भरी २४० कार्यक्रमहरु सञ्चालन गरिएका छन् ।
समुदाय प्रहरी साझेदारीले गाउँघर कतै झैझगडा, अस्वभाविक क्रियाकलाप र लागु औषधको कारोवार भएमा स्थानीय समितिका सदस्यहरुले सिधै नजिकको प्रहरीमा खबर गर्ने भएकाले अपराधिक घटना र लागु औषधको कारोवारमा संलग्न व्यक्तिहरुलाई नियन्त्रण लिन सहज भएको पनि प्रहरीले बताएको छ ।
प्रकाशित मिति: २४ माघ २०७६, शुक्रबार १९:४१