मुगु । हिमाली जिल्ला मुगुमा कोरोना भाइरसका बारेमा सचेतना दिन गमगढी बजार र्याली गरिएको छ ।
सचेतना कार्यक्रममा स्वास्थ्य सेवा कार्यालय मुगुका डाक्टर नहकुल शाहीले कोरोना भाइरसबाट कसरी बच्ने र लक्षणका बारेमा नागरिक स्तरमा प्रष्ट पार्नु भएको थियो । उहाँले नोवेल कोरोना भाइरस एक सरुवा रोग भएको र मुगु चीनसंग सीमा जोडिएको जिल्ल्ला भएकाले यसबाट बच्न स्वयं नागरिक सचेत हुनुपर्ने बताउनु भयो ।
डाक्टर शाहीले कोरोना भाइरसका लक्षण ज्वरो आउनु र खोकी लाग्नु, छिटोछिटो सास फेर्नु, श्वासप्रश्वासमा कठिनाइ लगायतका लक्ष्ण हुने भएकाले यस्तो अवस्थामा घरमै नवसी नजिकको स्वास्थ्य संस्था एवं जिल्ला अस्पतालमा गई समयमै उपचार गराउन सबैमा आग्रह समेत गर्नु भयो ।
एक महिनादेखि चीनमा महामारीको रूपमा फैलिएको कोरोन भइरस विश्वका धेरै देशहरूमा फैलिएपछि चीनसंग सीमाना जोडिएको मुगुमा पनि फैलिन सक्ने भन्दै नागरिकलाई यस रोगका बारेमा सचेतना दिन र सजक रहन जिल्ला स्वास्थय सेवा कार्यालय मुगु र समुदाय प्रहरी साझेदारी कार्यक्रमको समन्वयमा कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताउनु भयो । उहाँका अनुसार नोवेल कोरोना भाइरसका विरुद्ध विश्व स्वास्थ्य संगठनले स्वास्थ्य आपतकाल घोषणा गरेसँगै नेपालले पनि सजगता अपनाएको हो ।
मुग जिल्ला पनि चीनसंग नजिक रहेको र संगै सीमाना जोडिएको जिल्ला भएकाले कोरोना भाइरसका विरुद्ध र्याली गरी कोराना भाइरस बाट बच्ने र रोग नलाग्न कसरी ध्यान दिने भन्ने बारेमा नागरिक स्तरमा सचेतना कार्यक्रम गरिएको प्रजिअ घिमिरेले बताउनुभयो ।
प्रहरी समुदाय साझेदारी कार्यक्रम अन्तर्गत सोमबार मुगु सदरमुकाम गमगढीमा कोरोना भाइरसबाट बच्ने उपाय बारे जनचेतना दिन बजार परिक्रम गरी नागरिकलाई सचेतना दिईएको हो ।
छिमेकी देश चीनमा फैलिएको निमोनिया जस्तै मानिसको मृत्यु गराउने कोरोना भाइरसको संक्रमण चीनसंग सीमाना जोडिएका जिल्लाहरुमा फैलन सक्ने भन्दै सचेतना कार्यक्रम गरिएको प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साहले बताउनु भयो । मुगु सदरमुकाम गमगढीबाट चीनको सीमा ८४ किलोमिटर मात्रै टाढा रहेको छ ।
प्रकाशित मिति: २० माघ २०७६, सोमबार १९:२९