मुगु । हिमाली जिल्ला मुगु जोड्ने नाग्म गमगढी सडक खण्ड खुलाउने प्रयास गरिएको छ । गत पुस १७ गते परेको बाक्लो हिमपातले नाग्म गमगढी सडक अबरुद्ध भएको हो ।
बाक्लो हिमपातले नाग्म गमगढी सडक खण्डको भुलबुले–घुच्ची, सातमोड–झाड नाउलामा ४ फिट सम्म हिउँजमेपछि एक महिना देखि बन्द भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।
पहिलो पटक गत मंसिर २८ गते परेको हिमपातले पनीनाग्म गमगढी सडक बन्दभएको र बन्द सडक एक सातापछि डोजर लगाई खुलाईएको भएपनि पुनः परेको हिउँले सडक बन्द भएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लिलाबहादुर भण्डारीले बताउनु भयो ।
५ दिन देखि सडकको हिउँ पन्छाउन डोजर प्रयोग गरेपनि बाक्लो हिमपातले जमिन नछोडे पछि समस्या भएको सडक डिभिजन कार्यालयका प्रमुख भण्डारीले बताउनु भयो । मौसममा सुधार आए र यस्तै कामको गतिमा डोजरले हिउँ पन्छाउदै गएमा नाग्म गमगढी सडक एक साता भित्र संचालनमा आउने प्रमुख भण्डारीले जानकारी दिनुभयो ।
नाग्म–गमगढी सडक खण्डमा हिउँदमा हिमपातले र वर्षामा पानीले अबरुद्ध हुने गरेको छ । २०६९ साल पुस १ गते मुगु सडक सञ्जालमा जोडिएको भएपनि हालसम्म सडकको स्तरउन्नति नहुँदा यो सडक खण्डमा वर्षको ४ महिना मात्र सवारी साधन चल्ने गरेका छन् ।
सडक खुलेको लामो समय भै सक्दा पनि सडकका न्यूनतम् मापदण्ड ग्राभेल, पानीका नाला, ढल, कल्भड, व्यवस्थित नहुँदा हिउँदमा हिउले र वर्षामा पानीले सडक बन्द हुने गरेको उद्योग बाणिज्य संघ मुगुका उपाध्यक्ष रत्नसिंह मल्लले बताउनु भयो ।
वर्षको ८ महिनासम्म सडक बन्द हुँदा व्यापारीलाई ब्यवसाय गर्न पनि समस्या हुने गरेको छ । उपभोक्ताले खोजेको सामान पाउन समयै उपल्बध गराउन व्यापारीहरुलाई मुस्किल हुने गरेको छ । सडकको नाममा राजनीतिक खिचातानीले व्यापारी, सर्वसाधारण मर्कामा परेका छन् ।
सडक बन्द हुँदा स्थानीय तहका विकास निर्माणका काम पनि प्रभावित भएका छन् । स्थानीय तहका पुल, पुलेसा बत्तीका सामान ढुवानीमा समस्या भएको र काम पनि अधुरै रहेका स्थानीय तहका जनप्रतिनिधिहरुको गुनासो छ ।
त्यस्तै मुगु जिल्लाको खत्याड गाउँपालिका जोड्ने गोठी जिउला–कालाकाँडा–गम्था सडक खण्ड पनि अबरुद्ध छ । अवरुद्ध भएको सडक दुई महिना पुगी सक्दा पनि सरोकारवाला निकायहरु सडक खुलाउनमा मौन रहदा यो गाउँपालिकाका स्थानीय बजार रातापानी, माझचौर, राउतडी, सेरी र पाँचेमा दैनिक उपभोग्य तथा निर्माण सामग्रीहरुको अभाव बढ्दै गएको छ ।
यो खण्डमा बाख्लो हिउँ जमेर सडक अवरुद्ध भै यातायातका साधन चल्न नसक्दा स्थानीय व्यापारी तथा सर्वसाधरणले सास्ती भोग्दै आएका छन् ।
स्थानीय व्यापारी लोकराज दाहाल सडक अवरुद्ध भएको लामो समय हुँदा पनि सडक डिभिजन तथा गाउँपालिकाले सडक खुलाउन कुनै प्रयास नगर्दा आफुहरु मर्कामा परेको बताउँनुहुन्छ ।
यो गाउँपालिकामा पनि जिल्लाका अन्य स्थानीय तहहरु झै विकास निर्माणका काम शुरु हुन सकेका छैनन् । निर्माण सामगी्रहरु स्थानीय बजारमा उपलब्ध नहुँदा विकास निर्माणका कामहरु अवरुद्ध भएका हुन् ।
प्रकाशित मिति: १४ माघ २०७६, मंगलवार १६:२४