सुर्खेत । कर्णाली प्रदेश सभासँग अब कर्णाली प्रदेशका स्थानीय तहहरू पनि जोडिने भएका छन् । प्रदेश सभाको गतिविधि र स्थानीय तहको विषयमा छलफल गर्न कर्णाली प्रदेशमा ‘भिडियो कन्फ्रेन्स’ सुरु भएको छ । प्रदेशसभा र प्रदेशभित्रका १० वटै जिल्लाको गतिविधि बारे पारदर्शी रूपमा एकै थलोबाट जानकारी लिनेदिने उद्देश्यले ‘भिडियो कन्फ्रेन्स’ सञ्चालनमा ल्याईएको हो ।
प्रदेश सभामा जडान गरिएको भिडियो कन्फ्रेन्सको सोमबार सामाजिक समितिले मुगुमा आयोजना गरेको खाद्य सुरक्षा सम्बन्धीको विद्येयकका बारेमा ‘भिडियो कन्फ्रेन्स’गरिएको सभामुख राजबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार कर्णालीका केही जिल्लामा भिडियो कन्फ्रेन्सको अभ्याससमेत गरिएको छ ।
प्रदेश सभालाई स्थानीय तहसँग समन्वय र छलफलका लागि भिडियो कन्फ्रेन्स सुरु गरिएको सभामुख राज बहादुर शाहीले बताउनुभयो । ‘संसदीय गतिविधिको विषयमा जानकारी दिन र लिनको लागि यो काम गरिएको हो’ उहाँले भन्नुभयो, ‘कुनै विधेयकमा स्थानीय तहका जनप्रतिनिधिको विचार बुझ्न पनि यसले सहयोग गर्ने छ ।’
यसले संसदीय गतिविधिका साथै कानुन निर्माणका सवाल जनताको माझमा पुर्याउन सजिलो हुने सभामुख शाहीले विश्वास व्यक्त गर्नुभयो । ‘सधैँ, सबै व्यक्तिलाई बोलाएर छलफल, सल्लाह गर्न सम्भव हुँदैन’, उहाँले भन्नुभयो, ‘त्यस्तो अवस्थामा भिडियो कन्फ्रेसमार्फत आवश्यक छलफल गर्न सहज हुनेछ ।’
प्रदेश सभालाई अझै प्रभावकारी बनाउन प्रदेश सभा भवनमा थप प्रविधि जडान गरिएको प्रदेश सभा सचिवालयका सचिव जिवराज बुढाथोकीले बताउनुभयो ।
उहाँले अनुगमनलाई मजबुत बनाउने उद्देश्यले यो विधि अपनाइएको जनाउनुभयो । उहाँका अनुसार यसबाट स्थानीय तहका सूचना प्रदेशसभामा जानकारी हुनेछ । बुढाथोकीले भन्नुभयो‘अन्य जो कोही पनि यही विधिमार्फत सम्पर्कमा आएर प्रदेशसभाको गतिविधि बुझ्न र स्थानीय तहको गतिविधि बारे बोल्न पाउने छन ।’
युएनडिपीको सहयोगमा कर्णालीमा भिडियो कम्फ्रेन्सका लागि उपकरणहरू जडान गरिएको हो ।
प्रकाशित मिति: १३ माघ २०७६, सोमबार १७:०१