सुर्खेत । सुर्खेतमा सम्बन्ध विच्छेद गर्नेमा पुरुषभन्दा महिला अगाडि देखिएका छन् । पुरुष भन्दा महिलाहरु सम्बन्ध विच्छेदमा बढी आउने गरेको जिल्ला अदालत सुर्खेतले जानकारी दिएको छ ।
२०७५ भदौबाट शुरु भएको नयाँ कानुन देवानी संहितामा पुरुष पनि सिधै अदालतमा सम्बन्ध विच्छेदका लागि जान पाउने व्यवस्था अनुसार सम्बन्ध विच्छेद गर्नेमा पुरुषहरुको संख्यामा केही वृद्धि भएको छ । पुरुष, महिला दुबैले अदालतबाट सम्बन्ध विच्छेद दर्ता गर्न पाउने प्रक्रियामा महिलाहरु अगाडि देखिएको जिल्ला अदालत सुर्खेतको तथ्याङ्कले देखाएको छ । विगतमा भने पुरुषहरुले सम्बन्ध विच्छेदका लागि अदालत जान पाउने व्यवस्था नहँुदा महिलाहरुले मात्र अदालत पुगेर सम्बन्ध विच्छेद गर्ने गर्दथे ।
यो आर्थिक वर्षमा महिलाका १६२ र पुरुषका ५९ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको जिल्ला अदालत सुर्खेतका श्रेस्तेदार भुपाल भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार महिलाका १६२ र पुरुषका ५९ गरी जम्मा २२१ वटा मुद्दा दर्ता भएकोमा ७० वटा फछ्र्याैट भएको र १५१ वटा बाँकी रहेका छन् ।
चालु आर्थिक वर्षको साउनमा ५७, भदौमा ३१, असोजमा ७, कात्तिकमा १०, मंसिरमा ४१ र पुसमा ३२ जना महिला, पुरुषले सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गरएका हुन् ।
रोजगारीका लागि विदेश गएका अधिकांश पुरुष र महिलाहरुको पारिवारिक सम्वन्ध दिगो नहुने गरेको जिल्ला अदालत सुर्खेतका न्यायाधीश प्रल्हाद कुमार योगीले बताउनु भयो । उहाँका अनुसार अधिकांश सम्वन्ध विच्छेदका मुद्दा बैदेशिक रोजगारमा गएकाहरुको परिवारविच आर्थिक कारोवारका कारण हुने गरेको छ । ‘विगतका वर्षभन्दा अहिले सम्बन्ध विच्छेदका मुद्दाहरु सजिलै आउँछन् उहाँले भन्नुभयो ‘आजभोली त झन बिहे भएको ३ महिनामै सम्बन्ध विच्छेद गराउन आउनेको संख्या बढ्न थालेको छ । भनेको मानेन, यो गरेन, त्यो गरेन भनेकै भरमा सम्बन्ध विच्छेद गराउन आउनेको संख्या बढ्दो छ ।’
न्यायाधीश योगीले सम्बन्ध विच्छेद गराउन आएका महिला, पुरुषका बालबच्चाले माया नपाएकै कारण चोरी, डकैती, लागुऔषध जस्ता कार्यमा फस्ने र अपराधतिर जाने दुखद अवस्था रहेको बताउनु भयो । उहाँले भन्नुभयो ‘कतिपय बच्चा ल्याएर सम्बन्ध विच्छेद गराउन आउँछन् र पछि गएर अर्को विहे गरेर गएभने त्यो बच्चाको बिचल्ली हुन्छ जसले गर्दा त्यो बच्चा हत्या, हिंसा, चोरी र लागुऔषधमा फस्ने अवस्था छ ।’
उहाँका अनुसार कतिपय सम्बन्ध विच्छेदका मुद्दा दबाव र प्रभावमा आउने गरेका छन् । जिल्ला अदालत सुर्खेतमा नविन प्रकृतिका मुद्दा नभएको र परम्परागत मुद्दाहरु धेरै बढेको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: १० माघ २०७६, शुक्रबार १९:२२