सुर्खेत । कर्णाली प्रदेश विकास परिषद्को पहिलो बैठक प्रदेश राजधानी वीरेन्द्रनगरमा शुरु भएको छ । परिषद् अध्यक्ष मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको अध्यक्षतामा शुरु भएको बैठकमा प्रदेश योजना आयोगले तयार गरेको कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योेजनाको मस्यौदाका बारेमा सदस्यहरुको सुझाव तथा मार्गदर्शन लिईने वताइएको छ ।
बैठकमा परिषद्को सदस्यका रुपमा प्रदेश सरकारका मन्त्रीहरु, विपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता, प्रदेश सभा संसदीय समितिका अध्यक्षहरु, गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समितिका प्रमुखहरुको सहभागिता रहेको छ ।
बैठकको शूरुमा कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा.डा.पुण्यप्रसाद रेग्मीले आवधिक योजना तर्जुमा, निर्माण प्रक्रिया र मस्यौदा सम्वन्धी आधारपत्र प्रस्तुत गर्ने कार्यतालिका रहेको छ । उपाध्यक्ष रेग्मीको आधार पत्र प्रस्तुती पछि दिनभर नै आवधिक योजनाको मस्यौदामाथि बैठकका सहभागि परिषद सदस्यहरुको छलफल तथा सुझाव लिईने कार्यक्रम रहेको आयोगका प्रवक्ता सुदिश अर्यालले जानकारी दिनुभयो ।
कर्णाली प्रदेश योजना आयोग (गठन तथा कार्यसञ्चालन) आदेश २०७५ को दफा ७ को प्रावधान बमोजिम गठित प्रदेश विकास परिषदको बैठक पहिलो पटक शूरु भएको हो ।
कर्णाली प्रदेशको विकास र समृद्धिको मार्गचित्रका रुपमा योजना आयोगले तयार गरेको प्रथम पञ्चवर्षीय योजना (आ.व.२०७६/७७–२०८०/८१) मस्यौदामा १० वटा परिच्छेद रहेका छन । पञ्चवर्षीय योजनाको मस्यौदामा स्थानीय तथा प्रदेश तहका जनप्रतिनिधि, विज्ञ एवं सरोकारवालाहरुको सुझाव लिएर स्वीकृतिका लागि प्रदेश सरकारलाई पेश गरिनेछ ।
मुख्यमन्त्री महेन्द्रवहादुर शाही अध्यक्ष रहेको प्रदेश विकास परिषद्का पदाधीकारीहरुमा सहअध्यक्ष आर्थिक मामिला तथा योजना मन्त्री र सदस्यहरुमा प्रदेश सरकारका विभागीय मन्त्रीहरु, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष, प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेता, प्रदेश सभाका समिति अध्यक्षहरु, प्रदेश योजना आयोगका सदस्यहरु, जिल्ला समन्वय समितिका प्रमूखहरु, नगरपालिकाका प्रमुखहरु, गाउँपालिकाका अध्यक्षहरु, प्रदेश सरकारद्धारा मनोनित ५ जना सदस्यहरु, प्रदेश सरकारका सचिवहरु रहने व्यवस्था गरिएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सदस्य सचिव रहेको विकास परिषद्मा कर्णाली प्रदेश सरकारले विभिन्न क्षेत्रमा योगदान पुर्याएका ५ जनालाई सदस्यमा मनोनयन गरेको छ । परिषद सदस्यहरुमा डा.राधिका वुढ्थापा (जुम्ला), उषा लामा (हुम्ला), चन्द्रा अधिकारी (जाजरकोट) मध्यपश्चिमाञ्चल विश्वविद्यालयकी एशोसियट प्रोफेसर यशोदा थापा र उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश अध्यक्ष पदमवहादुर शाहीलाई सरकारले मनोनयन गरेको थियो ।
प्रकाशित मिति: १० माघ २०७६, शुक्रबार १२:२७