सुर्खेत । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुर्खेतले सूचना प्रविधि विधेयकविरुद्ध आइतबार प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई विरोध – पत्र बुझाएको छ ।
नेपाली कांग्रेस सुर्खेतका जिल्ला सभापति कमलराज रेग्मीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय सुर्खेतमा पुगेको टोलीले ज्ञापनपत्र बुझाएको हो ।
सुर्खेतसहित देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत विधेयक सच्याउन माग गर्दै विरोधपत्र बुझाईएको नेपाली कांग्रेस सुर्खेतका जिल्ला सभापति कमलराज रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार कांग्रेसले संविधानविपरीतका गतिविधिविरुद्ध पनि विरोधपत्र बुझाएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सूचना प्रविधि विधेयक संचालनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले नागरिक अधिकार हनन गर्न लागेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
सामाजिक सञ्जालमा कसैलाई व्यंग्य गरेवापत पाँच वर्ष जेल र १५ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने जस्ता प्रावधानले व्यक्तिगत गोपनियताको संवैधानिक अधिकार हनन गरेको सभापती रेग्मीको भनाई छ । उहाँले आलोचना एवं व्यंग्य गर्न पाउने नागरिकको स्वतन्त्रतालाई समेत समाप्त पार्ने नियोजित षड्यन्त्रविरुद्ध विधेयक ल्याएको भन्दै त्यसकै विरोधमा ज्ञापनपत्र बुझाईएको बताउनुभयो ।
कांग्रेसका स्थानीय नेता कार्यकर्ता जिल्ला प्रशासन कार्यालय सुर्खेतमा पुगेर ज्ञापनपत्र हस्तान्तरण गरेका हुन ।
गएको पुस १७ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सूचना प्रविधि विधेयक तथा नेपाल विशेष सेवा गठन र संचालनसम्बन्धी विधेयकले संविधानप्रदत्त नागरिक अधिकार हनन हुने निष्कर्ष निकालेको थियो ।
केन्द्रीय समिति बैठकले गत पुस २८ गते जिल्ला प्रशासन कार्यालयहरुमार्फत सरकारलाई विरोध पत्र बुझाउने निर्णय गरेपनि पार्टीको आन्तरिक किचलोका कारण हुन सकेको थिएन ।
प्रकाशित मिति: ५ माघ २०७६, आईतवार १७:०९