सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कार्यकारी परिषद्ले नियमावली छलेर ४ जना कर्मचारीलाई प्रतिस्पर्धा विना नै ठाडो नियुक्ति दिएको छ । विश्वविद्यालयको गत मंसिर २७ गते बसेको कार्यकारी परिषद्ले शिक्षक कर्मचारी नियमावली २०६९ को निर्णय नं. १० मा टेकेर ती ४ कर्मचारीलाई विना प्रतिस्पर्धा ठाडो नियुक्ति दिएको हो ।
ठाडो नियुक्ति पाउनेहरुमा कमल सिंजापति, जयकृष्ण न्यौपाने, अजीत बौडेल र सिर्जना मल्ल रहेका छन् । सिंजापति, न्यौपाने र बौडेललाई अधिकृत तहमा र मल्ललाई सुव्वा तहमा नियुक्ति दिइएको बताइएको छ । परिषद्ले शिक्षक कर्मचारी नियमावली २०६९ को नियम १० को उपनियम १ बमोजिम नियुक्त गरेको जनाएको छ । तर करारमा कर्मचारी नियुक्त गर्दा नियम ९ अनुसार हुनुपर्ने स्रोतले बताएको छ । नियम ९ मा सार्वजनिक सूचना प्रकाशित गरी प्रतिस्पर्धाका आधारमा करारमा कर्मचारी नियुक्त गर्नुपर्ने उल्लेख छ । तर परिषद्ले उक्त नियम छलेर नियम १० को आधारमा ती कर्मचारी नियुक्त गरेको पाइएको छ ।
स्रोतका अनुसार सिंजापतिलाई अहिले कामु उपकूलपतिको स्वकीय सचिव, न्यौपानेलाई रजिष्ट्रारको स्वकीय सचिवको जिम्मेवारी दिइएको छ । सिंजापति यसअघि पनि उपकूलपतिका स्वकीय सचिव थिए । बौडेल शिक्षा शास्त्र केन्द्रीय क्याम्पसका आंशिक शिक्षक हुन् । मल्ल यसअघि रजिष्ट्रारको स्वकीय सचिव थिइन् ।
नियमावलीको नियम १० मा विश्वविद्यालयको आवश्यकता अनुसार विशेष दरवन्दी सिर्जना गरी विशेष योग्यता भएका ख्यातिप्राप्त अनुभव र दक्ष शिक्षक कर्मचारीलाई विशेष करार गरी काममा लगाउन सक्नेछ भनी उल्लेख गरिएको छ । यही बुँदाको आधारमा ती ४ जनालाई परिषद्ले प्रतिस्पर्धा नै नगरी नियुक्त गरेको बताइन्छ । उनीहरुको विशेष योग्यता, अनुभव र दक्षता के हो भन्ने खुलेको छैन ।
नियम ९ मा करार नियुक्तिका लागि सेवा आयोगले तोकेका आधार र कार्यविधि पूरा गरी सार्वजनिक सूचना प्रकाशित गरी प्रतिस्पर्धाद्वारा तोकिएको अधिकारीबाट एक पटकमा एक वर्ष करारमा नियुक्ति गर्न सकिने उल्लेख छ । विना प्रतिस्पर्धा, पदाधिकारीहरुको निकटता र पहुँचका आधारमा ठाडो नियुक्त गरी नियमावलीको धज्जी उडाइएको स्रोतको भनाइ छ । नियम ९ अनुसार गर्दा सार्वजनिक सूचना प्रकाशित गरी प्रतिस्पर्धा गर्नुपर्ने भएकोले त्यो कार्य नगराउन परिषद्को बैठकले नियम १० मा टेकेर कर्मचारीहरुलाई नियुक्ति दिएको देखिन्छ । नियम १० मा पनि नियुक्त भएका कर्मचारीहरुको विशेष योग्यता, ख्यातिप्राप्त अनुभव र दक्षता उल्लेख गरिएको तर प्रतिस्पर्धा गर्नुपर्ने उल्लेख नगरिएको कारण यसै बुँदालाई टेकेर नियुक्त गरिएको छ ।
यता विश्वविद्यालयले भने नियामावलीमा टेकेर नै कर्मचारीलाई नियुक्ति दिएको दावी गरेको छ । विश्वविद्यालयका निमित्त रजिष्ट्रार डा. यमबहादुर कार्कीले लामो समयदेखि सेवा गरेकालाई विश्वविद्यालयले आन्तरिक दरबन्दी दिन मिल्ने व्यबस्था भएका कारण नियुक्ति दिएको जिकिर गर्नु भयो । विश्वविद्यालयमा काम गरिरहेका कर्मचारीलाई आवश्यकताका आधारमा र विशेष काम गरेको आधारमा नियुक्त गरेको उहाँको भनाई छ ।
विश्वविद्यालयले एक जना ज्यालादारी कर्मचारी ड्राइभरलाई समेत पदबाट हटाएको छ । ज्वालादारी कर्मचारी सवारी चालक प्रमोद धमलालाई सेवाबाट हटाइएको हो । तर निमित्त रजिष्ट्रार कार्कीले विश्वविद्यालयमा कार्यरत कुनै पनि कर्मचारीलाई नहटाएको दाबी गरेका छन् । समयावधि थप नभएका कारण समस्या परेको भन्दै सवारी चालक धमलाको समयावधि थप गर्नका लागि पहल गरेको बताउनु भयो ।
प्रकाशित मिति: ३ माघ २०७६, शुक्रबार १६:३३