सुर्खेत । कर्णालीमा यो वर्षमा एक लाख ७२ हजार पाँच सय ५४ मेट्रिक्टन धान उत्पादन भएको छ । गत वर्षमा भने एक लाख ७१ हजार ६ सय ६६ मेट्रिक्टन धान उत्पादन भएको थियो । गत वर्षको तुलनामा यो वर्षमा आठसय ८८ मेट्रिक्टन धान उत्पादनमा वृद्धि भएको हो ।
समयमा वर्षा र सिँचाई प्रयाप्त भएका कारण यो वर्ष धान उत्पादनमा वृद्धि भएको हो । मौसम अनुकुल हुनु र उन्नत जातको धानको बीऊ प्रयोग बढ्दै जानुले कर्णाली प्रदेशमा धान उत्पादन बढेको कृषि निर्देशनालयले जनाएको छ ।
कृषि निर्देशनालयका अनुसार प्रदेशको सुर्खेतमा सबैभन्दा धेरै धान उत्पादन भएको छ । गत वर्ष ५० हजार ८ सय ८३ मेट्रिक्टन धान उत्पादन भएको सुर्खेतमा यो वर्षमा ५१ हजार ५ सय ६७ पुगेकोछ । जिल्लामा १३ हजार ५ सय २ हेक्टर क्षेत्रफलमा उक्त धान उत्पादन भएको कृषि निर्देशनालयका बागवानी विकास अधिकृत भक्तिराम शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा कम हुम्लामा सात सय ९६ मेट्रिक्टन धान उत्पादन भएको छ । गत वर्ष उक्त जिल्लामा सात सय ६३ मेट्रिकटन मात्र धान उत्पादन भएको शर्माले जनाउनु भयो ।
सल्यानमा ७ हजार ७८ हेक्टर क्षेत्रफलमा २९ हजार तीन सय ७२ मेट्रिटन धान उत्पादन भएको छ । सो जिल्लामा गत गत वर्षमा २८ हजार ९ सय ६० मेट्रिक्टन धान उत्पादन भएको थियो । रुकुम पश्चिममा ७ हजार ८० हेक्टर क्षेत्रफलमा २८ हजार नौ सय ६३ मेट्रिक्टन धान उत्पादन भएको छ । जिल्लामा गत वर्षमा २८ हजार ९ सय ६० मेट्रिक्टन धान उत्पादन भएको थियो ।
यसैगरी जाजरकोटमा ३ हजार ७० हेक्टर क्षेत्रफलमा नौ हजार नौ सय ७१ मेट्रिक्टन धान उत्पादन भएको छ । जिल्लामा गत वर्षमा नौ हजार नौ सय ९५ मेट्रिक्टन धान उत्पादन भएको थियो । जाजरकोटमा पनि गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा धान उत्पादनमा कमी आएको छ । डोल्पामा २.७६ हेक्टर क्षेत्रफलमा ५ सय ८३ मेट्रिक्टन धान उत्पादन भएको छ ।
जिल्लामा गत आर्थिक वर्षमा ६ सय ५ मेट्रिक्टन धान उत्पादन भएको थियो । डोल्पा जिल्लामा पनि गत आर्थिक वर्षको तुलनामा यो वर्षमा धान उत्पादनमा कमी आएको छ ।
कर्णालीका तिन जिल्ला दैलेख, डोल्पा र जाजरकोटमा भने धान उत्पादनमा कमी आएको छ । उक्त जिल्लामा समयमा पानी नपाउनु, आकाशे पानीको भर पर्नुपर्ने बाध्यता जस्ता कारण पनि उक्त जिल्लामा धान उत्पादनमा कमी आएको बागवानी विकास अधिकृत शर्माले बताउनु भयो ।
उहाँका अनुसार कालीकोटमा २ हजार ५ सय ७७ हेक्टर क्षेत्रफलमा सात हजार सात सय ५१ मेट्रिक्टन धान उत्पादन भएको छ । उक्त जिल्लामा गत वर्षमा ७ हजार ७ सय ८५ मेट्रिक्टन धान उत्पादन भएको थियो । जुम्लामा २ सय ८० हेक्टर क्षेत्रफलमा पाँच हजार सात सय धान उत्पादन भएको छ । जिल्लामा आर्थिक वर्षमा ५ हजार ६ सय मेट्रिक्टन धान उत्पादन भएको थियो ।
यस्तै मुगुमा चार हजार १सय ६७ हेक्टर क्षेत्रफलमा छ हजार ३ सय ६ मेट्रिकटन धान उत्पादन भएको छ । जिल्लामा गत वर्षमा ४ हजार ५ सय ५ मेट्रिक्टन धान उत्पादन भएको थियो ।
वर्ष मौसमले साथ दिनुका साथै उन्नत जातको धान रोपेका कारण पनि धान उत्पादनमा वृद्धि भएको कृषि निर्देशानलयले जनाएको छ । सिँचाइको अभाब भएको ठाउँमा लामो समयसम्म आकाशे पानीले नै सहयोग गरेका कारण पनि धान उत्पादन भएको कार्यालयले जनाएको छ ।
कर्णाली प्रदेशमा मनसुली, राधान, हाइब्रेट, सेहरान, चन्दननाथ, खुमला लगायतका धान खेती गरिन्छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी धनबहादुर कठायतले धान खेतीमा भित्रिएको प्रविधिले पनि उत्पादनमा वृद्धि भएको बताउनु भयो । उहाँले प्रदेशमा स्थानीय जातको धानलाई प्रोत्साहन दिँदै उत्पादनलाई बढ्वा दिने बताउनु भयो ।
प्रकाशित मिति: ३ माघ २०७६, शुक्रबार ०९:०२