पहिलो पटक काठमाडौं पुग्नु भएका पाठकलाई के थाहा गणेशमान सिंहको घर सोध्दा प्रहरी हिरासतमा पुगिन्छ भनेर, हो ३६ वर्ष अघि यो घटना भोग्न पुग्नु भएका सुर्खेत बाबियाचौरका डिल्लीराम पाठक अहिले राष्ट्रिय सभा निर्वाचनका लागि कर्णाली प्रदेशबाट नेपाली कांग्रेसको तर्फबाट उम्मेखवार हुनु भएको छ ।
यही माघ ९ गते राष्ट्रियसभाको निर्वाचन हुँदैछ । त्यसका लागि प्रतिपक्ष नेपाली कांग्रेसले कर्णाली प्रदेशबाट सुर्खेत पंचपुरी नगरपालिका ५ का डिल्लीराम पाठकलाई उम्मेदवार बनाएको छ । पाठकसँगै नेपाली कांग्रेसकी अर्का उम्मेदवार बराहताल गाउँपालिकाकी गणेशकुमारी बस्नेत अहिले मतदातासंग मत मागिरहनु भएको छ । पाठक यतिबेला मतदाताहरुलाई रिझाउन र इमान्दार हुन आग्रह गरिरहनु भएको छ ।
२०२१ साल साविक बाबियाचौर हाल पञ्चपुरी नगरपालिका वडा नं. ५ मा जन्मिनुभएका पाठक २०३६ सालदेखि विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नु भएको हो । तत्कालीन समयममा नेताहरु शिवराज जोशीलगायतको संगतमा परेर विद्यार्थी राजनीतिक सुरु गरेको बताउने पाठक २०३९ सालमा वीपी कोइरालाको अस्तु सेलाउनसमेत संलग्न हुनु भएको थियो ।
२०४० सालमा कांग्रेस भातृसंस्था नेविसंघको महाधिवेशन प्रतिनिधि भएर पहिलो पटक भाग लिन काठमाडौं पुग्नु भएको थियो । काठमाडौंमा स्थानीय भनेर गणेशमानसिंहको घर कहाँ हो भनी सोध्दा सादा पोशाकका प्रहरीलाई सोध्न पुगेपछि उहाँ हिरासत पुग्नु भयो । ३ दिन ३ रात हिरासतमा पुगेपछि बल्ल उहाँ गणेशमान सिंहको घरमा पुगी कार्यक्रममा भाग लिनु भएको थियो । गणेशमान सिंहले प्रजातन्त्र एक दिन अवश्य आउँछ भनेर भन्दा आफू खुशी भएको र त्यसपछि पुनः सुर्खेत आएको पाठकले बताउनु भयो ।
कलेजमा पढ्दै गर्दा उहाँ इत्राम स्कुलमा पढाउने गर्नुहुन्थ्यो । अढाई बर्ष शिक्षक भएपछि निजामति कर्मचारीमा १० बर्ष सेवा गर्नु भएका पाठक २०५१ सालमा काठमाडौं यातायात व्यवस्था विभागमा काम गर्दै गर्दा तत्कालीन कम्युनिष्ट सरकारले आस्थाको आधारमा गलहत्याएर रातारात सरुवा गरेपछि त्यसको प्रतिकार गर्न प्रधानमन्त्रीको पुत्ला दहन गर्न समेत पछि पर्नु भएन । त्यतिबेला प्रधानमन्त्री मनमोहन अधिकारी थिएभने गृहमन्त्री केपी शर्मा ओली थिए ।
जागीरबाट राजीनामा दिएपछि उहाँ मातृ पार्टी कांग्रेसमा आवद्ध हुनु भयो । कांग्रेस सुर्खेतको जिल्ला कार्यसमिति सदस्य हुनासाथ तीन कार्यकाल सहसचिव भएर १५ वर्ष काम गर्नु भएका पाठक अहिले पार्टीले राष्ट्रियसभाको निर्वाचनमा कर्णाली प्रदेशबाट उम्मेदवार हुनु भएको छ । पार्टीले आफुलाई ढिलै भएपनि सम्झेकोमा त्यसलाई सहर्ष स्वीकार गर्नुको बताउँनुहुन्छ ।
पाठकलाई यो पनि थाहा छ, प्रतिपक्ष कांग्रेस सत्तारुढ नेकपाभन्दा अंकगणितमा पछाडि छ । तर पनि उनी खुशी छन् । नतिजा जे आउँछ, त्यसलाई स्वीकार गर्नुपर्छ । राष्ट्रियसभा भनेको सम्मानित संस्था हो । उहाँ भन्नुहुन्छ, राष्ट्रियसभा भनेको भीआईभीहरुले भोट हाल्ने र भिभिआईभीहरु लड्ने सम्मानित ठाउँ हो । त्यसैले नतिजा जे आएपनि राष्ट्रियसभा जस्तो सम्मानित संस्थाको लागि उम्मेदवार बनाउन पार्टीले जसरी सम्झियो, पार्टीलाई धन्यवाद छ ।’
हार्ने चुनावमा पार्टीले टिकट दिएको भन्ने महसुस भएन भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ्, मलाई त्यस्तो पटक्कै लागेन । किनभने पार्टीले सम्झिएर टिकट दिएको हुनाले मैले त्यस्तो ठानेको छैन । राष्ट्रियसभा जस्तो गरिमामय संस्थाको उम्मेदवार बन्न पाउनु नै ठूलो सम्मान हो । चुनावमा अंकगणित हुने भएकोले जीत हार स्वभाविक हो, उहाँले भन्नु भयो ।
उम्मेदवारी मनोनयन गरेपछि अहिले सवै मतदाताहरुसंग उहाँले मत मागिरहनु भएको छ । उहाँलाई सवैले राम्रो आश्वासनपनि दिइरहनु भएको छ । इमान्दार र निष्ठाको राजनीतिज्ञ भनेर सह्राना गरिरहेका छन् । उम्मेदवारी दिएपछि पार्टी, नेता कार्यकर्ताहरु पनि एकभर लागेको उहाँको भनाइ छ । साथै उहाँले गरिमामय संस्थाका लागि योग्य उम्मेदवारहरुलाई बिजयी गराउनसमेत आव्हान गर्नुभएको छ ।
राष्ट्रियसभाका लागि कर्णाली प्रदेशमा ४ जनाको उम्मेदवारी परेको छ । सत्तारुढ दल नेकपाबाट मायाप्रसाद शर्मा र सुमित्रा विसीको उम्मेदवारी परेको छ । कर्णाली प्रदेशमा कूल मतदाता १९८ जना रहेका छन् । जसमा कांग्रेसका ४८ जना छन्भने बाँकी नेकपाका छन् । अंकगणितमा कांग्रेस कमजोर भएपनि पार्टीको निर्णय स्वीकार गर्नु र राष्ट्रियसभालाई गरिमामय संस्था ठान्ने पाठकको इच्छा नराम्रो भने छैन ।
प्रकाशित मिति: २९ पुष २०७६, मंगलवार २१:०५