मुगु । मुगु जिल्लाको एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाको छैठौ नगर सभा भैरहदा हल बाहिर ढुङ्गामुडा गरिएको छ । सोमबार कृषि कार्यालयको सभाहलमा नगरसभा चलिरहदा हल बाहिर नेकपा सर्मथक जिल्ला स्तरका नेता कार्यकर्ताहरुले ढुङ्गामुडा गरेका हुन् ।
नगरपालिका नगरसभा संचालन कार्यविधि २०७४ को परिच्छेद २ दफा ३ अनुसार कृषि कार्यालयको हलमा नगरपालिकाको छैठौ नगरसभा उदघाटन भै केही प्रस्ताव र निर्णयहरु बहुमतका आधारमा पारित भएपछि हलभित्र असन्तुष्ट सदस्यहरुले होहल्ला गरेपछि हल बाहिर रहेका नेकपा सर्मथक जिल्ला स्तरका नेता कार्यकर्ताहरुले ढुङ्गामुडा गरेको नगर प्रमुख हरिजंग शाहीले बताउनु भयो । ढुङ्गामुडाले सभाहलका झयालका सिसा र ढोका तोडफोड भएका छन् ।
बाहिर ढुङ्गामुडा र भित्र हो–हल्ला हुँदा हल भित्र असन्तुष्ट सदस्यहरु वडा नं ५ का वडा अध्यक्ष डम्बर रावल, कार्यपालिका सदस्य रत्न बडुवाल र सर्मथक सदस्यहरु सुवास बुढा, परेगराज चौलागाई, कर्ण रावललाई सामान्य चोट लागेको छ ।
नगर सभाका बहुमत सदस्यहरुले बजेट, नगर शिक्षा ऐन २०७५ संशोधन र स्वास्थ्य ऐन, नगरपालिका केन्द्र भित्र शान्ति सुरक्षाका लागि सिसि क्यामारा जडान, अल्का साँधु–चराप, नेटा–थार्प, तलितुम–लामाचौर, रंजनबालै–घट्टलेख–चराप र कोटिल्ला–सातमोड सडक नगरपालिकाको जेसिवीबाट निर्माण गर्ने र नगरपालिकाको कार्यालय भवन निर्माणका लागि जग्गा खरिद गर्ने निर्णय पारित भएको नगरसभा सदस्य परेगराज चौलागाईले बताउनु भयो ।
जनताका पक्षमा भएका निर्णयहरुको साथीहरुले यो वा त्यो नभनेर समर्थन गर्नुपर्नेमा राजनैतिक नजरबाट ग्रसित भै निर्णय गर्न नसक्दा सामान्य होहल्ला भएको नगरसभा सदस्य कर्ण बहादुर रावलले जानकारी गराउनु भयो ।
यता नेकपा सर्मथक जिल्ला स्तरका नेताहरुले नगरप्रमुखले आफ्ना सदस्यहरुलाई लोभ लालजमा फसायर सधै बहुमत जुटाउने र लामो छलफलै नगराएर आफु अनुकलको निर्णय गर्ने गरेकाले आफुहरु बाध्य भएर विरोधमा उत्रनु परेको बताउनु भयो ।
छैठौ नगरसभामा नेकपा सर्मथक वडा नं २ का वडा अध्यक्ष परेगराज चौलागाई, वडा नं १२ का वडा अध्यक्ष सुवास बुढा, कार्यपालिका सदस्य कर्ण कुलाल, हजारकला विक, पशुपति शाही, सहित १० सदस्यहरुले नगर प्रमुखले प्रस्ताव गरेका प्रस्तावहरुको सर्मथन गरेको नगरपालिकाले जनाएको छ ।
नगरसभाका कुल ७२ सदस्यहरु मध्ये ३७ नेकपा र ३५ काँगे्रस समर्थक सदस्यहरु रहेका छन् । यो नगर सभामा नेकपाबाट निर्वाचित १० जना सदस्यहरुले समर्थन गरेकाले अब ४५ नगरप्रमुखको सर्मथन र २७ विपक्षमा रहेको वडा नं ४ का वडा अध्यक्ष विष्णु कुमार भामले बताउनु भयो ।
यसैबीच पटक–पटक पार्टीको निर्णयहरुको उलन्घन गर्दै आफ्नो व्यक्तगत स्वार्थका लागि नगरप्रमुखले प्रस्ताव गरेका निर्णयहरुको सर्मथन गर्ने नेकपाबाट निर्वाचित जनप्रतिनिधिहरुलाई कार्वाहीका लागि पार्टीको सम्वन्धित निकायहरुमा सिफारिस गरिएको नेकपा नगर कमिटीले जनाएको छ ।
नगरसभा अवरोध प्रति नगरपालिकाको निन्दा
छायाँनाथ रारा नगरपालिकाको नगरसभा सञ्चालन भइरहेको अवस्थामा भएको अवरोध र तोडफोडको घटना प्रति नगरपालिकाले निन्दा एवं घोरभत्र्सना व्यक्त गरेको छ ।
नगरसभा सञ्चालन भइरहेको स्थानमा नेकपाका नेता एवं कार्यकता नै सम्लग्न भई तोडफोड एवं गाली गलोज गर्नुकासाथै नगरसभामा अवरोध गरेको घटना गैर जिम्मेवार एवं निन्दनीय भएको छायाँनाथ रारा नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत ललितजंग मल्लद्वारा मंगलबार जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रकाशित मिति: २९ पुष २०७६, मंगलवार २०:४७