सुर्खेत । नागरिकता बनाउन आउनुभएकी सिम्ता गाउँपालिका १ गान्द्राकी १७ वर्षीया कल्पना सिंह ठकुरी जिल्ला प्रशासन कार्यालय सुर्खेतमा आएको एक घण्टामै उहाँको नागरिकता बन्दा उहाँ निकै खुशी देखिनुहुन्थ्यो । उहाँलाई यो भन्दा पहिला दिदीको नागरिकता बनाउँन आउँदा २ दिन लागेको थियो तर आज एक घण्टामै नागरिकता बन्दा निकै खुशी लागेको छ ।
भेरीगंगा नगरपालिका ११ रामघाटबाट आउनुभएकी गंगा बुढामगरले पनि जिल्ला प्रशासनमा छिटो काम भएको देख्दा निकै खुशी हुनुहुन्थ्यो । उहाँले यो भन्दा अगाडि दाईको नागरिकता बनाउन आउँदा निकै भिडभाड लाग्ने गथ्र्यो, समयमा काम नहुँदा अर्को दिन आउन झन्झट लाग्थ्यो तर आज नागरिकता बनाउने काम छिटै बनेको छ ।
कल्पना र गंगा जस्तै जिल्ला प्रशासन कार्यालय सुर्खेतमा आएका सेवाग्राहीहरु आफ्नो काम समयमै बन्दा निकै खुशी देखिन्थे । आजभोली प्रशासन कार्यालयमा पहिले जस्तो सेवाग्राहीको भिडभाड पनि देखिएको थिएन ।
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले सेवाग्राहीको कामलाई पहिलो प्राथमितामा राखेर कार्यालय सञ्चालन हुन थालेपछि सेवाग्राहीमा खुसी छाएको बताउनुभयो । उहाँले सेवाग्राहीका लागि हेल्पडेक्सको स्थापना गर्नाले पनि सेवाग्राहीलाई कार्यालयको सेवाका विषयमा जानकारी लिन सहज भएको जनाउनुभयो । उहाँका अनुसार कार्यालयले टोकन प्रणालीको समेत सुरुवात गरेको छ ।
गत आर्थिक वर्षमा जिल्ला प्रशासन कार्यालय सुर्खेतले सात हजार ७ सय ९५ नयाँ नागरिकता दिएको छभने वैवाहिक अंगिकृत नागरिकता १, प्रतिलिपि नागरिकता ५ हजार दुई सय १५, राहदानी जिल्लाबाट सिफारिस दुई हजार तिन सय ९, दु्रत सेवा सिफारिस दुई हजार दुई सय ८६ वितरण गरेको जनाएको छ ।
यसैगरी यो आर्थिक वर्षको साउनमा नयाँ नागरिकता आठसय १, प्रतिलिपि नागरिकता पाँचसय २७, राहदानी एकसय ९६, द्रुत सेवा सिफारिस एकसय २४ जनालाई वितरण गरिएको छ ।
यस्तै भदौ महिनामा नयाँ नागरिकता ६ सय १०, प्रतिलिपि नागरिकता चार सय ६१, राहदानी एक सय ४१, दु्रत सेवा सिफारिस एक सय ३१, असोजमा नयाँ नागरिकता चार सय १०, प्रतिलिपि नागरिकता तिन सय ६६, राहदानी एक सय ९७ दु्रुत सेवा सिफारिस एक सय ८९ वितरण गरिएको छ ।
यसैगरी कात्तिकमा नयाँ नागरिकता सात सय ८४, प्रतिलिपि नागरिकता चार सय ३५, राहदानी दुई सय ३६, दु्रत सेवा सिफारिस दुई सय ८४, मंसीरमा नयाँ नागरिकता सात सय २४, वैवाहिक अंगिकृत २, प्रतिलिपि नागरिकता पाँच सय ८३ जनालाई वितरण गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
प्रकाशित मिति: २९ पुष २०७६, मंगलवार १९:३१