मुगु । मुगु सदरमुकाम गमगढी नजिकै रहेका दुई विद्यालय भवनको आइतवार शिलान्यास गरिएको छ । छायाँनाथ रारा नगरपालिका वडा नम्बर २ चैना र वडा नम्बर ५ कार्कीवाडामा रहेका दुई विद्यालयको भवन शिलान्यास गरिएको हो ।
छायाँ नेपालको आर्थिक सहयोग, छायाँनाथ रारा नगरपालिकाको लागत साझेदारी तथा हिरिसडेक मुगुको सहजीकरणमा वडा नम्बर २ मा रहेको बालमन्दिर प्राथमिक विद्यालय चैनको दृष्टिविहिन बालबालिकाको छात्रावास भवन र वडा नम्बर ५ मा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालय कार्कीवाडाको विद्यालय भवनको शिलान्यास गरिएको हिरिष्डेक मुगुले जनाएको छ ।
बालमन्दिर प्राथमिक विद्यालय चैनका दृष्टिविहिन बालवालिकाको ४ कोठे छात्रावास भवनको लागि छायाँ नेपालको ८५ लाख ८४ हजार ७ सय १० र छायाँनाथ रारा नगरपालिकाको लागत साझेदारी २२ लाख ३२ हजार गरी १ करोड ८ लाख १६ हजार ७ सय १० रुपैयाँमा पक्की भवन निर्माण गरिने सहजीकरणको जिम्मा लिईएको संस्था हिरिष्डेक मुगुका कार्यकारी निर्देशक मिन रावलले बताउनु भयो ।
नेपाल राष्ट्रिय आधारभुत विद्यालय कार्कीवाडामा छायाँ नेपालको ५९ लाख ५० हजार ६ सय ७४ र छायाँनाथ रारा नगरपालिकाको लागत साझेदारी १३ लाख ९२ हजार गरी ७३ लाख ४२ हजार ६ सय ७४ रुपैयाँ को लागतमा पक्की भवन निर्माण गरिने निर्देशक रावलको भनाई छ । विद्यालय भवनमा ट्वाईलेट बाथरुमको पनि व्यवस्थापन गरिने छ ।
विद्यालय भवन शिल्यानास कार्यक्रममा बोल्दै छायाँ नेपालका केन्द्रिय कोषाध्यक्ष पुस्कर आचार्यले छायाँ नेपालले शिक्षा, स्वास्थ्य, वातावरण लगायतका क्षेत्रमा काम गर्दे आइरहेको बताउनु भयो । उहाँले मुगुमा दृष्टिविहिन बालबालिकाको लागि सहयोग गर्न पाउँदा खुसी लागेको बताउनु भयो ।
त्यस्तै छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख हरिजंग शाहीले कर्णाली प्रदेशको हिमाली विकट जिल्ला मुगुमा आएर शिक्षाबाट बञ्चित दृष्टिविहिन वालवालिका लगायतका विद्यार्थीका लागि भवन निर्माणमा सहयोग र सहकार्य गर्ने संस्था छायाँ नेपाललाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै काम गर्ने अवसर जुटाउन आग्रह गर्नु भयो ।
विद्यालय भवन निर्माणका लागि छायाँ नेपालको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत लागत साभेदारीमा भवन निर्माण हुन लागेको नगरप्रमुख शाहीले बताउनु भयो ।
प्रकाशित मिति: २७ पुष २०७६, आईतवार २०:०३