मुगु । मुगु जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ्ग गाउँपालिकामा परेको हिमपातले विकास निर्माणका काम प्रभावित भएका छन् । जिल्लाको चार स्थानीय तह मध्ये उच्च हिमाली क्षेत्रमा रहेको मुगम कार्मारोङ्ग गाउँपालिकामा हिमपातले विकास निर्माणका काम प्रभावित भएका हुन् ।
मुगु, डोल्फु चितै, किम्री, ताखा, खारी लगायत बस्तीमा हिउँले ढाकेपछि गाउँपालिकामा गैरसकारी र अन्य निकायबाट संचालन हुने र भइरहेका विकास निर्माणका कामहरु समेत अवरुद्ध भएका छन् ।
बाक्लो हिउँले जमिन नछोड्दासम्म बाटो, खानेपानी, मठमन्दिर, भवन, पुल निर्माण लगायत योजना संचालन गर्न कठिनाइ भएको छ । भारी हिमपातका कारण निर्माण कार्य अवरुद्ध भएको मुगुम कार्मारोङ्ग गाउँपालिकाका प्रमुख छिरिङक्याप्ने लामाले बताउनु भयो ।
माथिल्लो बस्ती मुगु, चितै, डोल्फू, किम्री गाउँ बस्तीमा फागुन अन्तिमसम्म पनि विकास निर्माणका काम अघि बढाउन मुस्किल हुने उहाँको भनाइ छ । हिउँले असर नगर्ने तल्लो बस्ती छाइल, माग्री, पापु लगायतका स्थानमा विकास निर्माणका काम भइरहेको र माथिल्ला बस्तीमा हिउँले रोकिएको अध्यक्ष लामाले बताउनु भयो ।
गाउँपालिकाको सबै भन्दा माथिल्लो बस्ती मुगु गाउँका स्थानीय हिउँ छल्न मंसिर मै तराइ र बेशी झरेपछि गाउँतिर नउक्लिँदासम्म कुनै पनि विकास निर्माणका काम संचालन गर्ने अवस्था छैन भने तातो लागेपछि चैत र वैशाख महिना मात्र स्थानीय गाउँतिर उक्लिएपछि बल्ल विकास निर्माणका काम सुरुवात हुने गरेका छन् ।
हिमपातका कारण गाँउपालिका क्षेत्र भित्र पर्ने बस्तीहरुमा स्थानीयको उपस्थिति कम हुने र सबै तिर बाख्लो हिउँ भएकाले गाँउपालिका, प्रदेश र संघीय सरकारबाट चालु आर्थिक वर्षका लागि विनियोजित विकास निर्माणका काम तातो मौषम शुरु नहुन्जेल शुरु गर्न नठिनाई हुने अवस्था देखिएको गाँउपालिकाले जनाएको छ । यो आर्थिक बर्षका लागी गाँउपालिका का योजनाा मात्र २ सय बढी रहेका छन । प्रदेश र संघीय सरकारबाट तोकिएका योजनाहरुको लगत गाँउपालिकामा नहुने भएकाले के कति छन् त्यसको जानकारी नरहेको अध्यक्ष लामाले बताउनु भयो ।
विद्यालयमा हिउँदे विदा
हिउँदको समयमा मुगुम कार्मारोङ्ग गाउँपालिका अत्याधिक हिमपात हुने र चिसाले जनजीवन प्रभावित हुने भएकाले त्यस क्षेत्रमा रहेका विद्यालयमा हिउँदे बिदा दिइएको छ ।
छाँयानाथ रारा नगरपालिका, खत्याड र सोरु गाउँपालिकाका सबै विद्यालयमा वर्ष विदा हुने गरे पनि मुगुम कार्मारोङ्ग गाउँपालिकामा अत्याधिक चिसोका कारण हिउँदे विदा हुने गरेको हो । चिसोका कारण त्यस क्षेत्रका विद्यालयमा पुस १५ गतेदेखि फागुन १५ गतेसम्म विद्यालय बन्द हुने गरेका मुगुम कार्मारोङ्ग गाउँपालिकाका प्रमुख छिरिङक्याप्ने लामाले बताउनु भयो ।
उहाँका अनुसार मुगुुम कार्मारोङ्ग गाउँपालिकामा रहेका विद्यालयमा माथिल्लो क्षेत्रमा हिउँदे विदा दिइएको र तल्लो क्षेत्रमा रहेका विद्यालयलाई सञ्चालनमा रहेका छन् । तल्लो क्षेत्र बुद्ध माध्यमिक विद्यालय माग्री र छायलको विद्यालयमा वर्षेविदा हुने गरेका छन् ।
बन्द भएका विद्यालयमा फागुन १५ गते पछि मात्र पठन पाठन सुचारु गरिने बताइएको छ । त्यस क्षेत्रमा रहेका १८ सामुदायिक र १ संस्थागत गरी १९ विद्यालय रहेका छन् ।
प्रकाशित मिति: २६ पुष २०७६, शनिबार २०:०४