तनहुँ । साहित्यकार तथा समाजसेवी पुष्पराज पौडेलले आफ्ना माता—पिताको नाममा २ लाख रुपैँयाको भैरव—जीव स्मृति छात्रवृत्ति कोष स्थापना गरेका छन् । पाँच दशक अघि आफैँ प्रधानाध्यापक भई प्राध्यापन गरेको तनहुँको भानु नगरपालिका ८ स्थित मनोहर माध्यमिक विद्यालयका गरिब तथा जेहन्दार विद्यार्थीका लागि एस.ई.ई.मा उत्कृष्ट अङ्क ल्याउने छात्र, छात्रालाई पुरकृत गर्ने उद्देश्यले सो छात्रवृत्ति कोष स्थापना गरिएको हो ।
सोमबार विद्यालयको ५२ औं बार्षिकोत्सवका अवसरमा सो छात्रवृत्ति आकृति रानाभाट र सन्तोष कुमाललाई जनही ७/७ हजार रुपैँया कवि स्वयं पौडेलले प्रदान गर्नुभयाे ।
सोही अवसरमा विद्यालय प्रङ्गणमा आयोजित समारोहमा कवि पौडेलको कविता कृति सयपत्रीको विमोचन गरियो । प्रा.डा. खगेन्द्र लुईटेल, सभासद् कृष्णकुमार श्रेष्ठ, कृतिकार स्वयं, कवि रमेश पौडेल, प्राज्ञ नमूना शर्मा, बजुराका सभासद् लालबहादुर थापाले संयुक्त रूपमा विमोचन गर्नु भएकाे थिायाे ।
प्रा.डा. लुईटेलले नेपालको वर्तमान शैक्षिक अवस्थाका बारेमा चर्चा गर्दै कवि पौडेलको सिर्जनधर्मीताका बारेमा प्रकाश पार्नु भयाे । कवि रमेश पौडेलले सयपत्रीभित्र विभन्न भाव र रङ्गका सय थान कविता रहेका र तिनले कविको विगत र वर्तमानलाई जोड्ने काम गरेको बताउनुभयाे । प्राज्ञ नमूना शर्माले कृति भित्रकै छन्दोवद्ध कविता सुनाउँदै शुभकामना दिनुभयाे ।
विमोचन समारोह मनोहर मा. वि. का विद्यालय व्यवस्थापन समिती अध्यक्ष रामकृष्ण देवकोटाको अध्यक्षतामा भएको थियो । समारोहमा गण्डकी वाङ्मय प्रतिष्ठानका अध्यक्ष अर्जुन अधिकारी, त्यस भेकका सामाजिक, राजनीतिक क्षेत्र, विद्यालयका अभिवावक र विद्यार्थीहरूको सघन उपस्थिति थियो ।
प्रकाशित मिति: २२ पुष २०७६, मंगलवार २०:५१