मुगु । हिमपातका कारण गत शुक्रबार देखि मुगु जिल्ला सञ्चार विहिन बन्न पुगेको छ । नेपाल टेलिकमका सबै नेटवर्कहरुले काम गर्न छोडेपछि मुगु सञ्चार विहिन भएको हो ।
विहीबार बेलुका देखि शुक्रबार सम्म भएको हिमपातले नेपाल टेलिकमको जुम्लाको डाँफे लेखमा राखिएको रेडियो लिङ्गमा समस्या आउँदा उक्त टावरबाट सञ्चालित मुगुका जिएसएम, एसटिडि नेटवर्कले काम गर्न छोडेको र एडिएसएल इन्टरनेट सेवा पनि अवरुद्ध भएको हो ।
इन्टरनेट सेवा नचलेपछि जिल्लाका सरकारी तथा गैर सरकारी संघ सस्था, वित्तिय कारोवार गर्ने सहकारी तथा बैकहरु र स्थानीय तहहरुको सेवा प्रवाहमा समेत समस्या भएको छ । मौषममा खरावी आईरहने भएकाले अझै नेटवर्कको समस्या कति लम्विने हो अनिश्चित रहेको छ ।
राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय मुगुका प्रवन्धक हरिन्द्र बोहोरा एडिएसएल इन्टरनेट नचल्दा बैंकमा सेवाग्राहीको भिड लाग्ने गरेको, बैंकका सबै सिस्टम चलाउन समस्या भएको बताउनु भयो । उहाँले बैंकमा बचत, लगानी र भुक्तानी गर्न आउने सेवाग्राहीका लागि बैंकको आन्तरिक इन्टरनेट सेवा भिस्याटबाट चलाएपनि भिस्याटको गति सुस्त हुँदा समस्या भएको बताउनु भयो ।
बैंक मै सेवा लिन आएको छायाँनाथ रारा नगरपालिका वडा नं ४ भामवाडा गाउँका सेवाग्राही विष्णु बहादुर भण्डारी बैंकमा रहेको आप्mनो खातामा बचत के कति छ भनेर बुझ्न आएको ३ घण्टा भैसक्दा पनि थाहा पाउन नसकेको गुनासो गर्नु भयो ।
इन्टरनेट सेवा नचलेपछि विभिन्न सेवा आयोगमा खुलेका विज्ञापनहरुका लागि आवेदन फारम भर्न र राजश्व दस्तुर जम्मा गर्न पनि समस्या भएको आयोग तयारी गरिरहेका विद्यार्थीहरुको गुनासो छ ।
यस्तै जिल्ला कै ठुलो वित्तिय सस्था छायाँनाथ साकोसका लेखापाल लोकराज शाही आफ्नाे सहकारीमा वित्तिय कारोवार सप्टवयर मार्फत हुँदै आएको र सप्टवयर अनलाइनमा मात्र चल्ने भएकाले लघुवित्तको कारोवार गर्न समस्या भएको र लगानी, बचत, भुक्तानी जस्ता कार्य गर्न समस्या भएको बताउनु हुन्छ ।
मुगुमा इन्टरनेट जन्य काम चार दिन देखि अवरुद्ध भएका कारण सेवा लिनका लागि टाढा टाढाबाट जिल्ला सदरमुकाममा आउने सेवाग्राही निरास भएर फर्कने गरेका छन भने देश कै प्रमुख पर्यटकीय क्षेत्र रारामा आउने पर्यटकहरु समेत मर्कामा परेका छन् ।
इन्टरनेट नहुँदा स्वयं नेपाल टेलिकमको मुगु कार्यालयलाई समेत विल भुक्तानी, सिम विक्री लगायतका काम गर्न समेत गाह्रो भएको टेलिकम मुगुले जनाएको छ ।
इन्टरनेट नचलेपछि योजना तथा कार्यक्रमहरुको भुक्तानी दिन मुगु जिल्लामा रहेका चार वटा स्थानीय तहहरुलाई समस्या भएको छ । नेट नचल्दा स्थानीय तहको वित्तिय कारोवार गर्ने सप्टवयर सुत्र नचल्दा आफुहरुलाई काम गर्न समस्या भएको छायाँनाथ रारा नगरपालिकाका लेखापाल जगतजंग रावल बताउनु हुन्छ ।
जिल्लामा टेलिकमसंगै निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायक सस्था वल्डलिङ्ग, एनसेल र सुविसुले समेत जिल्लामा आफ्नो सेवा विस्तार गरेको भएपनि यी सस्थाका सेवाहरु नाम मात्रका रहेका छन् । यिनीहरुले वितरण गरेका इन्टरनेटको गति सुस्त रहेका छन् ।
नेटवर्क गएको ४ दिन वितेको र यो कती लम्विने निश्चित नभएकाले अग्रीम भुन्तानी गरेका जिएसएम डाटा र एडिएसएलका सेवाग्राहीहरुको अवधि के हुने हो भनेर सेवाग्राही चिन्तित देखिन्छन् । नेपाल टेलिकमको थ्रिजी सेवा गाउँ गाउँसम्म विस्तार भएकाले सर्व साधारणहरु पनि मोवाइलमा डाटा लिएर इन्टरनेट जन्य कारोवार र सेवा लिने गर्दै आएका छन् ।
डाँफे लेखमा बाख्लो हिउ जमेको र मौषममा सुधार नआएकोले टावरमा के कस्तो समस्या हो बुझन जान समेत प्राविधिकहरुलाई समस्या भएकाले नेटवर्कमा कहिले सुधार हुन्छ भन्न सकिने अवस्था नरहेको टेलिकम मुगु कार्यालयका कर्मचारीहरु बताउँछन् ।
प्रकाशित मिति: २१ पुष २०७६, सोमबार १९:५८