सुर्खेत । कर्णालीमा अझै कम्तीमा दुई पटक भारी हिमपात हुनेछ । सुर्खेतस्थित जल तथा मौसम विज्ञान कार्यालयले माघ महिनासम्मको अवधिमा कम्तीमा दुई पटक भारी हिमपात हुने जनाएको छ । कार्यालय प्रमुख विनोद पराजुलीले जनवरी ९ को आसपास र जनवरी २१ को आसपासतिर कर्णालीमा फेरि भारी हिमपात हुने संकेत देखिएको बताउनुभयो ।
उहाँले विगत बर्षको तुलनामा यसबर्ष छिटै हिमपात भएको बताउनुभयो । डिसेम्बर २२ देखि बढी चिसो हुनुपर्ने भएपनि डिसेम्बर ७ मै यसबर्षको पहिलो हिमपात भएको जानकारी उहाँले दिनुभयो । हिउँदको डेढ महिना अझै बाँकी रहेकोले कम्तीमा दुई पटक भारी हिमपात हुने उहाँको भनाइ छ । विहीवार र शुक्रवार कर्णाली प्रदेशका जुम्ला, हुम्ला, मुगु, डोल्पा, कालीकोट, दैलेख र सुर्खेतमा हिउँ परेको छ । कार्यालय प्रमुख पराजुलीका अनुसार यसपटक कम्तीमा डेढ फिटजतिको हिउँ परेको छ ।
पराजुलीका अनुसार मुलुकका अन्य भागमध्ये कर्णाली प्रदेशमा सवैभन्दा बढी हिउँ पर्ने गर्दछ । ‘हिउँद लाग्नासाथ कर्णाली प्रदेशका विशेषगरी पाँच वटा जिल्लामा हिउँ पर्न सुरु गर्दछ उहाँले भन्नुभयो हुम्ला, डोल्पा, मुगु, जुम्ला र कालीकोटमा अत्यधिक हिउँ पर्दछभने दैलेखको महाबु र गुराँसे र सुर्खेतको उत्तरी क्षेत्र रातानाङ्लामा हिउँ पर्ने गर्दछ ।’
कर्णालीमा बर्षेनी हिउँ पर्ने क्रम बढ्दो छ । साविकका कर्णाली अंचलका पाँच जिल्लामा अत्यधिक हिमपात हुने र बाँकी पाँच जिल्लामा पानी बढी पर्ने हुँदा हिउँदमा यहाँको दैनिकी असाध्यै कष्टकर हुने गरेको छ । हावापानी कार्यालय सुर्खेतले जुम्ला, हुम्ला, मुगु र डोल्पालाई अत्यधिक हिमपात हुने जिल्लामा राखेको छ । हिउँदमा यहाँको तापक्रम माइनसमा झर्ने र हिउँ कम्तीमा दुई चार फिट बढी पर्ने गरेको कार्यालय प्रमुख विनोद पराजुलीले बताउनुभयो ।
हुम्लामा यसबर्ष मात्रै पाँच पटक हिमपात परेको छ । जुम्लामा दोस्रो पटक हिमपात परेको छभने कालीकोटमा १७ बर्षपछिकै सवैभन्दा धेरै हिमपात भएको छ । डोल्पा र मुगुमा पनि धेरै हिउँ परेको छ । दैलेख र सुर्खेतको उत्तरी क्षेत्रमा पनि यसबर्षको पहिलोपटक हिमपात भएको छ । बर्षेनी हिमपात हुने क्रम बढेका कारण हिउँद लाग्नासाथ कर्णाली प्रदेशका हिमाली जिल्लाका नागरिकहरु सतर्कसमेत हुने गरेका छन् ।
विगतका बर्षहरु झै हिउँ परेपनि धेरै लामो समयसम्म नटिक्ने प्रवृत्ति रहेको कार्यालय प्रमुख पराजुलीले बताउनुभयो । उहाँले हिउँ पर्ने गरेपनि लामो समयसम्म टिक्न नसकेको जनाउनुभयो । जलबायु परिवर्तनको असरका कारण यसो हुने गएको पराजुलीको ठम्याई छ । विगतमा हिउँ परेपछि कम्तीमा एक सातासम्म नपग्लने गरेको तर आजकल हिउँ पर्नासाथ पग्लिनुले हिउँ टिक्न नसकेको देखिएको उहाँले उल्लेख गर्नुभयो ।
प्रकाशित मिति: २० पुष २०७६, आईतवार १४:४४