मुगु । हिमाली जिल्ला मुगु लगाएत कर्णालीका सबै जिल्लामा भारी हिमपात भएको छ । बिहीबार अपराहन्न देखि लगातारको हिमपातपछि मुगुको जनजिवन प्रभावित भएको छ ।
लगातको हिमपातले मुगु जिल्लाको पूर्वी करान भेगका ९ वटै वडा, खत्याड गाउँपालिकाको खमाले, सेरी, कवा, चाकपाडे, लमेरा, कोटिल्ला लगायत, सोरु गाउँपालिकाको, सोरुकोट, धैना, कालै, रुम र छायाँनाथ रारा नगरपालिको रारा, ताल्चा विमान स्थल, बाम शोभा, लिउडी मुन्दु, कोटिल्ला झ्यारी, रोवा लगायतका स्थानमा एक फिट सम्म हिउँ जमेको छ ।
हिमपातको कारण नेपालगंज सुर्खेतबाट मुगु आउने यातायातका सवारी साधनहरु जुम्ला जिल्लाको गोठीज्यूला र कालीकोटको नाग्मामा अलपत्र परेका छन् भने रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरु पनि निकै समस्यामा परेका छन् ।
अघिल्लो हिउँदमा माघको पहिलो साताबाट हिमपात भएपनि यो वर्ष एक महिना अगाडी नै हिमपात सुरु भएको हो । हिमपात संगैको चिसोले बालबालिका, वृद्धवृद्धा र काममा निस्कने व्यक्ति बढी प्रभावित भएका छन् ।
चिसोले गर्दा भेडा बाख्रा सहित अन्य पशुचौपायालाई समेत समस्या भएकोे सोरु गाउँपालिकाका पदम बहादुर शाहीले बताउनु भयो । बाक्लो हिमपातले शैक्षिक संस्था, सरकारी कार्यालयको कामकाज प्रभावित भएका छन् । निजि विद्यालय रारा डाईनामिक स्कुलको शुक्रबारको अर्धवार्षिक परीक्षा हिमपातका कारण बन्द गरिएको रारा डाईनामिक विद्यालयका प्रधानाध्यापक कमल शाहीले जानकारी दिनुभयो ।
मुगु जिल्लाको एक मात्र हवाई सेवा ताल्च विमान स्थलमा हिमपात र बाक्लो हुस्सुका कारण हवाई सेवा बन्द भएको छ भने नाग्म गमगढी सडक पनि बन्द भएको छ । अघिल्लो पटकको हिमपातले दुई सातासम्म बन्द भएको नाग्म गमगढी सडक पुनः बन्द भएको हो । सडक यातायात र हवाई सेवा बन्द हुँदा यात्रु अलप्रत्र परेका छन् ।
नेपाल टेलिकमको एडिसियल इन्टरनेट सेवा बन्द भएको छ । बाक्लो हिमपातले जुम्लाको डाफेँ लेखमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा समस्या आएपछि मुगु सहित साविको कर्णालीका जिल्लामा एडिसियल इन्टरनेट सेवा नमस्ते मोवाइल सेवामा अवरुद्ध भएको नेपाल टेलिकम जिल्ला शाखा मुगुका निमित्त कार्यालय प्रमुख गणेश डिसीले बताउनु भयो । नेपाल टेलिकमको सेवा अवरुद्ध हुँदा सञ्चार सेवाबाट स्थानीय बञ्चित भएका छन् ।
यो वर्ष एक महिना अगावै हिमपात भएका कारण हिउँदेबालीको उत्पादमा राम्रो हुनेमा कृषकहरु आशावादी छन् । विशेष गरि अहिले खेतवारीमा लगाएको जौं, गहुँ बाली उम्रिने समय भएको र यहि वेला हिमपात र पानी पर्दा खेतीपातीका लागि राम्रो मानिन्छ । अहिले समयमा नै वर्षा भएकाले सुख्खा जमिनमा छरिएको जौं, गहुँ राम्रैसंग उम्रिने, उम्रेको बाली नष्ट गर्ने फट्याँग्रा लगायतका किरा मर्ने र हिउँदे बाली तथा तरकारीको उत्पादनमा पनि वृद्धि हुने जिल्ला कृषि विकास कार्यालय मुगु निमित्त पन्चलाल बुढाले जानकारी दिनुभयो ।
प्रकाशित मिति: १८ पुष २०७६, शुक्रबार १९:३०