सुर्खेत । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष–२०२० को सुरुवात आज देखि भएको छ । पर्यटन प्रवद्र्धनका लागि ल्याइएको यो योजना संघीय सरकारको मात्रै नभएर प्रदेश सरकारले पनि उत्तिकै महत्व दिएको छ । जस अन्तर्गत कर्णाली प्रदेश सरकारको आयोजनामा आज सुर्खेतको बुलबुले उद्यानबाट कर्णालीमा भ्रमण वर्षको शुभारम्भ गरिएको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कर्णाली प्रदेश पर्यटन प्रवद्र्धन समिति र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० मा कर्णाली प्रदेश सरकारले एकलाख विदेशी पर्यटकसहित पाँच लाख पर्यटक कर्णालीमा भित्र्याउने लक्ष्य राखेकोजनाएको छ ।
कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको समृद्धिको पहिलो आधार पर्यटन भएको बताउनु भयो । ‘व्यवस्था परिवर्तनपछि आर्थिक समृद्धिको अभियानमा छौ । नेपालको पर्यटनको सम्भावना धेरै छ ।’ उहाँले भन्नुभयो, ‘सगरमाथा, प्राकृतिक सौन्दर्य प्रकृतिको प्रयोग गर्न सके नेपालको सांस्कृतिक क्षेत्रलाई पनि पर्यटन क्षेत्रको रुपमा विकास गर्न सकिन्छ ।’
मुख्यमन्त्री शाहीले भ्रमण वर्षमा मात्रै नभई कर्णालीको पर्यटन प्रवद्र्धन गर्नका लागि अन्य थुप्रै योजनाहरू बनाएको जनाउनु भयो । आन्तरिक पर्यटकहरूले मात्र कर्णालीको पर्यटन विकास हुन नसक्ने बताउँदै उहाँले विदेशी पर्यटकहरूको संख्या बढाउनेतर्फ जोड गरिरहेको बताउनु भयो ।
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले भ्रमण वर्ष२०२० मा समेत हामीले एक लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘कर्णाली घुम्न लायक ठाउँ हो भन्ने पर्यटकहरूलाई लाग्यो भने मात्रै पर्यटकहरू कर्णाली आउँछन् । त्यसका लागि कर्णालीका पर्यटकीय स्थलहरूको व्यापक प्रचार–प्रचार गर्नुपर्दछ, त्यो हामीहरूले गरिरहेका छौं ।’
प्रदेशसभाका सभामुख राजबहदुर शाहिले राष्ट्रको महत्व पूरा गर्न पर्यटन क्षेत्रले ठुलो योगदान दिने बताउनु भयो । ‘यो नेपाल भ्रमण बर्षले आगामी बर्षमा पनि नेपालको समग्र पर्यटन क्षेत्रको योगदान पुर्याउने अपेक्षा गरेको छु ।’ उहाँले भन्नुभयो, ‘हाम्रो प्रदेशमा पनि त्यसैले शुभारम्भ गरिएको हो । सम्पन्नता हासिल गर्ने महत्वपुर्ण क्षेत्रको रुपमा रहेको पर्यटन क्षेत्रको भरपुर उपयोग गर्न जरुरी छ ।’ उहाँले पर्यटनमैत्री संस्कार व्यबहार प्रदर्शन गर्न आबश्यक रहेको बताउँदै सरकारी, गैरसरकारी क्षेत्र, निजि क्षेत्र, आम जनसमुदायले पर्यटन क्षेत्रको महत्व कायम राख्दै कर्णाली समृद्धिको अभियानमा सहभागी बन्न आग्रह गर्नु भयो ।
कर्णाली प्रदेशमा भ्रमण वर्षको शुभारम्भका अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको थियो । भ्रमण वर्षलाई भव्यरूपले सफल पारौं भन्ने नारा लेखिएका ब्यानर सहित ¥याली तथा झाँकी समेत निकालिएको थियो ।
यसैगरी कर्णाली प्रदेशले यहाँका ४० वटा पर्यटकिय गन्तव्य छनोट गरेको छ । स्वर्गकी अप्सराका नामले चिनिने मुगुको राराताल, डोल्पाको शे–फोक्सुन्डो, सल्यानको कुपिन्डे दह, रुकुमपश्चिमको स्यार्पुताल, सुर्खेतको बुलबुले, कांक्रेविहार र दैलेखेको पञ्चकोशी लगायत छनोट भएका हुन् ।
त्यस्तै भेरी र कर्णालीमा र्याफ्टिङ, कालीकोटस्थित ३ सय १८ मिटर अग्लो पचालझरण, युद्ध पर्यटकीय स्थल पिली, हुम्लाको लिमी उपत्यका, खसभाषाको उद्गमस्थल जुम्लाको सिंजा, जाजरकोट दरबार लगायत ४० वटा स्थानलाई पर्यटकीय गन्तव्यका रुपमा छनोट गरिएको छ ।
यसैबीच भ्रमण वर्षलाई सफल बनाउन यहाँ कर्णालीमा आउने पर्यटकलाई विशेष छुट दिइने भएको छ । सुुर्खेतका होटल व्यवसायीहरुले पर्यटकलाई २० प्रतिशत छुट दिने भएका छन । होटल व्यवसायी संघ सुुर्खेतले आन्तरिक तथा बाह्य पर्यटकलाई १० प्रतिशत खाना र अवासमा १० प्रतिशत छुट दिने निर्णय गरेको छ । संघका अध्यक्ष गोरख रावतले कर्णालीमा पर्यटकहरुलाई आकर्षित गर्नका लागि छुट गरिएको बताउनु भयो ।
कर्णालीमा आउने पर्यटकले र्याफ्टिङमा पनि छुट पाउने भएका छन् । र्याफ्टिङएण्ड एडभेन्चर प्रालि पञ्चपुरी सुुर्खेतले ५० प्रतिशत छुट दिने जनाएको छ । प्रालिका निर्देशक देवराज जैसीले कम्पनीले पर्यटन बर्ष २०२० अवधिभर ५० प्रतिशत छुट दिने बताउनु भयो । उहाँका अनुसार भेरी नदीको जामुु पुलदेखि भेरी कर्णाली दोभान हुुँदै कुहिने पुलसम्म १५ किलोमिटर राफ्टिङमा दुुई हजार शुल्क भएकोमा जनवरी एकदेखि एक हजार मात्र शुल्क लिइने छ ।
प्रकाशित मिति: १६ पुष २०७६, बुधबार २०:४३