आज पुस १६ । नेपाली कांग्रेसले आजको दिनलाई राष्ट्रिय मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ । यसअनुसार आज यो दिवस कांग्रेसीवृत्तमा बडो महत्वका साथ मनाइँदै छ ।
अंग्रेजी तारिख सन् १९६८ मा भारत गएका विपि ३० डिसेम्बर १९७६ का दिन स्वदेश फर्केका थिए । आठ वर्षको भारत निर्वसनपछि नेपाली कांग्रेसका संस्थापक महानायक विपि कोइराला स्वदेश फर्केको दिनलाई नेपाली कांग्रेसले राष्ट्रिय मेलमलिाप दिवसका रुपमा मनाउँदै आएको छ ।
शायद त्यतिवेलाको राष्ट्रिय राजनीतिको आवश्यकता बोध गरेर विपिबाट लिइएको एक अनिवार्य तर परिपक्व निर्णय थियो, नेपाल आगमन । जे होस, यो वहसको फरक विषय हो । निश्चित के हो भने मेलमिलापको औचित्य स्वीकार गर्दै विपि नेपाल फर्केपछि आन्तरिक राजनीतिले नयाँ धार र दिशा लिएको भने पक्कै हो ।
विपि नेपाल फर्केको कुराको कांग्रेसलगायत प्रजातान्त्रिक मूल्य मान्यतामा विश्वास गर्ने धेरैले स्वागत गरेका थिए । तर उनको अनुपस्थितिका कारण रिक्त स्थानको लाभ उठाउँदै टाउको उठाउन थालेको वामपन्थले भने विपिको स्वदेश आगमनलाई खासै रुचाएको थिएन । विपि नेपालबाट जाँदा र फर्कँदाको बीचमा स्थानीय राजनीतिक परिदृश्यमा निकै फरकपन आइसकेको थियो ।
राजा महेन्द्र, जसले नेपालमा वामपन्थ बढ्न सहयोग गरे भन्ने मानिन्छ, को अवसान भइसकेको थियो । नेपालमा पछिल्लो समयमा राजा महेन्द्रले प्रादुर्भाव गरेको भनिएको राष्ट्रवाद, जसको हालका लिनमा निकै चर्चा गरिएको छ, वर्तमान सत्ता सञ्चालकका लागि आदर्शको विषय बनेको मानिएको छ ।
खायर यसका सन्दर्भमा अलग वहस गर्न सकिन्छ । महेन्द्रको अवसानपछि, राजाका रुपमा वेलायतपढित वीरेन्द्र अवतरित भएका थिए । चिनको परिवर्तित राजनीतिक अवस्थाको प्रभाव नेपालमा परेको थियो । वंगलादेशको स्थापना र भारतमा सिक्किम विलयको प्रभावबाट पनि नेपाल अछुतो थिएन ।
नेपाली कांग्रेसले विगतमा प्रारम्भ गरेको सशस्त्र संघर्षको औचित्यमाथि कांग्रेसभित्रै प्रश्नचिन्ह उठाइरहिएको थियो । विश्व असंग्लग्न आन्दोलनमा सहभागी भएर नेपाली राजतन्त्रले आफ्नो औचित्य प्रमाणितको प्रयास गरिरहेको थियो । यस्तोमा विपिको नेपाल आगमन भएको थियो जसले तात्विकरुपमा निकै अर्थ राख्दथ्यो ।
विपिको नेपाल आगमनको सन्दर्भलाई आजको अवस्थामा नयाँ ढंगले विश्लेषण गरिनु आवश्यक छ । माथि उल्लेखित पृष्ठभूमीका केही कारक अवस्था हुन् जसको विश्लेषण गरिनु जरुरी छ र यसै आलोकमा विपिको नेपाल आगमन र राष्ट्रिय मेलमिलापको नीतिलाई बुझ्नु जरुरी छ । अर्को कुरा, विपिको अनुपस्थितिमा नेपाली राजनीतिले एक नयाँ कोर्स लिने प्रयास त गरिरहेको थियो नै सँगै निर्वासित अवस्थामा उनी नेपालका सन्दर्भमा प्रत्यक्ष भूमिका जिम्मेबारीका साथ निर्वाह गर्न सकिरहेका थिएनने ।
नेपाली राजनीति र समग्रमा नेपाली कांग्रेससँगै पनि उनको दुरी बढिरहेको आँकलन त्यसवेला गरिएको थियो । जवाहरलाल नेहरुपुत्री इन्दिरा गान्धी १९७५को इमरजेन्सीमार्फत् निकै शक्तिशाली बनेकी थिइन । विमान अपहरणको आरोपमा दुर्गा सुवेदी र सुशिल कोइरालालाई भारत सरकारले पक्राउ गरेको थियो । यस्तो अवस्थामा शायद विपिलाई भारतमा रहिरहँदा आफ्नो राजनीतिमा बाह्य निगरानी र नियन्त्रण बढ्न सक्ने सम्भावनाले पनि गाँजेको हुन सक्छ ।
विपि नेपालका पूर्व प्रधानमन्त्री थिए । नेपाली कांग्रेसका सभापति थिए । यसर्थ उनको नेपाल आगमनलाई किन अस्वाभाविक मान्ने भन्ने प्रश्न गर्न सकिन्छ तर नेपालको आन्तरिक राजनीतिक कारणले निर्वसनमा रहेकाले विपिले नेपाल आगमनहेतु त्यही समय किन रोजे भन्ने प्रश्न महत्वपूर्ण छ । यस सन्दर्भमा माथिका आधारमा विश्लेषण गर्ने हो भने नेपाल आगमनको त्यो समयलाई विपिले रणनीतिकरुपमा प्रयोग गरेको रुपमा बुझ्न सकिन्छ । त्यसवेलमा राष्ट्रिय राजनीतिका सन्दर्भमा सम्भवतः विपिका सामु तीन चार अवस्था विश्लेषणयोग्य थिए ।
पहिलो, राजा महेन्द्रको अवसान भइ राजा वीरेन्द्रको उदय भइसकेको थियो, जो तुलनात्मकरुपमा प्रजातन्त्रमा विश्वास गर्दथे । अतः हिजोको राजासँगको व्यक्तित्वको लडाई अन्त्य गरेर नयाँ राजासँग सम्बन्ध सुधार गरी नेपालमा प्रजातन्त्रको संघर्षको नयाँ अध्याय प्रारम्भ गर्न सकिन्थ्यो । उनको मेलमिलाप नीतिको विश्लेषण गर्ने हो भने यो राजालक्षित थियो भन्न सकिन्छ ।
उनले राष्ट्रियता संरक्षणको कुरा उठाउँदै राजाको घाँटी र आफ्नो घाँटी जोडिएको उल्लेख गरेबाट पनि उनको रणनीतिक सोचको विश्लेषण गर्न सकिन्छ । दोस्रो, आफ्नो अनुपस्थितिमा रिक्त स्थानमा टाउको उठाउन थालेको वामपन्थी प्रभावलाई रोक्न जरुरी थियो । प्रजातनन्त्रिक आन्दोलन कमजोर हुँदा वामपन्थी आन्दोलन फस्टाउन सक्थ्यो र शीतयुद्धकालीन विश्वमा नेपाल कुनै खास खेमामा आवद्ध हुन सक्थ्यो । तेस्रो, मूलधारबाट धेरै समय टाढा रहँदा राष्ट्रिय राजनीतिमा आफ्नो प्रभाव कमजोर हुन सकथ्यो र नेपाली कांग्रेसमाथिको नियन्त्रण र प्रभाव नै पनि समस्यामा पर्न सक्थ्यो । र चौथो, नेपालमा बढ्दो आन्तरिक कट्टरवादी प्रभाव र विदेशी स्वार्थलाई रोक्नु जरुरी थियो ।
सम्भवतः यी यस्ता आधार थिए जसले विपिलाई त्यही समयमा नेपाल फर्कन प्ररित गर्यो । तर जे होस तात्कालीन राष्ट्रिय राजनीतिमा विपिको मेलमिलाप नीतिको सकारात्मक प्रभाव परेको थियो । सबभन्दा महत्वपूर्ण कुरा विपि स्वदेश फर्केपछि आमजनतामा नयाँ आशाको सञ्चार भएको थियो भने कांग्रेसले नै पनि नयाँ रुप प्राप्त गर्ने प्रयासको प्रारम्भ भएको थियो । वैचारिक दृष्टिले कांग्रेस तुलनात्मकरुपमा केही परिपकव भएको अनुभव गरियो ।
आज नेपालमा राजतन्त्र छैन । वामपन्थी आन्दोलन पनि हिजोको अवस्थामा छैन र यसले नयाँ उचाई र कलेवर प्राप्त गरेको छ । कांग्रेसको नेतृत्व कोइराला परिवारभन्दा बाहिर गएको छ । विश्वमा असंग्लगन आन्दोलन कमजोर भएको छ र प्रत्यक्षतः शीतयुद्धको अवस्था छैन ।
यस्तोमा प्रश्न उठ्छ, के विपिको राष्ट्रिय मेलमिलापको नीति आजको अवस्थामा पनि सान्दर्भिक छ रु नेपालमा उदारवादी राजनीतिको प्रणेता मानिने विपि र नेपाली कांग्रेसको यो नीति, आज नेपाललगायत विश्वमा कट्टरपन्थले स्थान ओगटिरहेको अवस्थामा, को औचित्य छ रु यसको जवाफ हो, छ । बरु हिजाको दिनभन्दा आज यो नीति अझै सान्दर्भिक र महत्वपूर्ण ठहरिएको छ । हाल देशले विभिन्न नाममा राजनीतिक निकास नपाइरहेको अवस्थामा यो नीतिको उयपोगले सार्थक परिणाम सिर्जना गर्न सक्छ ।
आजको सन्दर्भमा यो दिवसको सर्वाधिक औचित्य स्वयं विपिकै पार्टीकै लागि छ भनेर भनियो भने अनुचित हुने छैन । नेपाल कांग्रेस आज इतिहासकै सर्वाधिक कठीन मोडमा उभिएको छ । वैचारिक र सागठनिक दुर्व दृष्टिले कमजोर सावित भइरहेको कांग्रेसका लागि विपिको मेलमिलापको सच्चा अनुशरणले एक नयाँ ऊर्जा प्रदान गर्न सक्छ तर कांग्रेस त्यसतर्फ खासै गम्भीर रहेको पाइँदैन ।
कांग्रेस आज विगतमा जनाधार वलियो रहेकै क्षेत्रमा कमजोर बनेको छ । दोस्रो र तेस्रो पुस्ताका नेपाली जनताबीच कांग्रेस आकर्षणको केन्द्र बन्न सकिरहेको छैन । पार्टी गुट उपगुटमा विभाजित भई निजी र वर्गीय स्वार्थमा चुर्लुम्म डुबेबो छ । सैद्धान्तिक धरातल अस्पष्ट रहेको आरोप लागिरहेको छ ।
यस्तोमा प्रश्न उठ्छ, कांग्रेसले देशमा सबै अटाउने लोकतन्त्रको विकास र संवद्र्धन कसरी गर्न सक्छ रु स्थिति अझै पनि नियन्त्रण बाहिर गइसकेको छैन । कांग्रेसका नेताहरुले वर्तमानको कांग्रेस र देशको भविष्यको लोकतन्त्रबारे गाम्भीर्यता देखाएनन् भने देश वामपन्थी कव्जामा जाने निश्चित छ । यस्तोमा विपिको मेलमिलापको नीतिले नेताहरुलाई निर्देशित गर्ने विश्वास गर्न सकिन्छ ।
प्रकाशित मिति: १६ पुष २०७६, बुधबार ११:५४