पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालका प्रकृति र संस्कृतिलाई पर्यटन बजारमा पुर्याउनुपर्ने बताउनुभएको छ । सेन्चुरी युवा क्लबको आयोजनामा कास्कीको पर्यटकीय गाउँ छोम्रोङमा आजदेखि शुरु १८औँ सेन्चुरी ल्होसार मेलाको उद्घाटन गर्दै उहाँले प्रकृति र संस्कृतिले धेरै सम्पन्न भएर पनि त्यसको अधिकतम उपयोग गर्न नसकेको बताउनुभयो ।
अन्नपूर्ण क्षेत्र पद्यात्रा पर्यटनको विशिष्ट गन्तव्य भएको उल्लेख गर्दै उहाँले यस क्षेत्रको मौलिकता तथा यहाँका संस्कृतिलाई जोगाउँदै दीगो पर्यटन विकास हुने गरी लाग्नुपर्नेमा जोड दिनुभयो । पर्यटकीय सम्भावनायुक्त क्षेत्रमा स्थानीय उत्पादनलाई जोड दिँदै आयआर्जन बढाउने तर्फ लाग्नुपर्ने आवश्यकता औंल्याउँदै मुख्यमन्त्री गुरुङले उत्पादन र उत्पादकत्व वृद्धिले मात्रै समृद्धि सम्भव हुने उल्लेख गर्नुभयो ।
प्रदेशसभा सदस्य राजीव पहारीले अन्नपूर्ण क्षेत्र हिमाली दृश्यावलोकनका साथै पद्यात्रा पर्यटनका कारणले विश्वलाई नै आकर्षित गरेको उल्लेख गर्दै यहाँका मौलिकता जोगाउनुका साथै पर्यावरणीय संरक्षणमा स्थानीयवासीको जागरुकता आवश्यक भएको बताउनुभयो । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले अन्नपूर्ण क्षेत्रको समग्र पर्यटकीय विकासलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताउँनुभयो ।
सेन्चुरी युवा क्लबका अध्यक्ष विकास गुरुङले छोम्रोङमा वर्षौदेखि चल्दै आएको ल्होसार मेलालाई निरन्तरता दिँदै यसवर्ष पनि विभिन्न कार्यक्रमका साथ मनाउन लागिएको जानकारी दिनुभयो । यही पुस ९ गतेसम्म चल्ने मेलामा बाँस्केटबल प्रतियोगिता, भलिबल प्रतियोगिताका साथै विभिन्न सांस्कृतिक कार्यक्रम गरिने उहाँले बताउनुभयो । रासस
प्रकाशित मिति: ६ पुष २०७६, आईतवार १७:४९