सुर्खेत । वन चर्न गएका आफ्ना आमा आएको थाहा पाएपछि पाठापाठी म्या–म्या गर्दै थिए भने गोठलाले त्यसको चाँजो पाँजो मिलाउँदै थिए । यो प्रक्रिया सुर्खेतको त्रिवेणी चोक स्थित कालिका बाख्रा फर्ममा संधै चलिरहन्छ ।
तर आज भने बाख्राको यो परिवारमा अष्ट्रेलियाबाट आएका दुई सदस्य थपिएको दृश्यले नयाँ माहोल बनाएको छ । जुन सदस्य सत प्रतिशत बोयर जातको बाख्रा उत्पादनका लागि अष्ट्रेलियाबाट ल्याइएका थिए । सतप्रतिशत बोका र सतप्रतिशत पाठीबाट उत्पादन भएको बीऊ पनि सतप्रतिशत बोयर जातको हुन्छ । जुन उत्पादन महंगोमा बीऊका लागि विक्री वितरण गरिन्छ ।
पारिलो घाम अनि प्रयाप्त घाँस बाख्राका लागि उपयुक्त स्थान सुर्खेतको लेकवेशी नगरपालिका–१० त्रिवेणी चोक अहिले विश्व बजारमा उन्नत मानिएको बोयर जातको बाख्राको बीऊ उत्पादनको केन्द्र हुन पुगेको छ ।
सत प्रतिशत बोयरको एक बोका र दुई पाठीबाट पाँच वर्ष सम्म बीऊ उत्पादन गरी विक्री वितरण गर्ने र त्यसपछिका वर्षमा मासुका लागि उत्पादन गर्ने योजना बनाएको कालिका बाख्रा फर्मका सञ्चालक डम्बर तियारी बताउँनुहुन्छ ।
सत प्रतिशत बोका र ५० प्रतिशत पाठीबाट उत्पादन भएको बीऊको उत्पादन प्रति किलो १ हजार २ सय रुपैयाँ रहेको छ भने स्थानीय माउ र सत प्रतिशत बोकाबाट उत्पादन भएको बीऊको मूल्य प्रति किलो ८ सय रुपैयाँ रहेको छ ।
बीऊका लागि सतप्रतिशत बोका र सतप्रतिशत पाठीकासाथै ५० देखि ७५ प्रतिशत बोयर तथा लोकल बाख्राबाट उत्पादन गरिने र २५ प्रतिशत देखि ५० प्रतिशतसम्म उत्पादन हुने बाख्रा मासुका लागि प्रयोग गरिने उहाँको भनाई छ ।
थोरै घाँस खाने र धेरै मासु बढ्ने बोयर बाख्राले दिनमा ३ देखि ४ किलो घाँस खाने र दैनिक २ सय देखि २ सय ५० ग्राम मासु बढ्ने गरेको व्यवसायी तिवारी बताउनु हुन्छ । मासुका लागि एक बाख्राबाट ८० किलो देखि एक क्वीन्टलसम्म हुने उहाँको भनाई छ ।
६ विगाह जग्गा सहित करिब १ करोड ५० लाख रुपैयाँको लागतमा शुरु गरिएको कालिका बाख्रा फार्म कर्णाली प्रदेशकै नमूनाको रुपमा स्थापित गर्नुकासाथै उदाहरणको रुपमा गरेपछि के हुन्न र भन्ने तहसम्म स्थापित गर्न लागिपरेको फर्म सञ्चालक तिवारीको भनाई छ ।
थप जानकारी व्यवसायी डम्बर तिवारीको आवाजमा भिडियो सहित
प्रकाशित मिति: ४ पुष २०७६, शुक्रबार १९:४९