सुर्खेत । जनतालाई सुविधा दिने बाचा गरेर स्थानीय सरकारको बागडोर सम्हालेका जनप्रतिनिधि सर्वसाधारणका आधारभूत आवश्यकतामा खर्चिनुपर्ने पैसा धमाधम आफ्नो सुविधामा खर्चिरहेका छन् । स्थानीय तहको नेतृत्वमा पुग्नासाथ जनप्रतिनिधि आफ्नो सुविधा थप्ने ध्येयमा मात्रै भुलिरहेका छन् भने सर्वसाधारण अत्यावश्यकीय सेवाबाट समेत बन्चित हुनु परेको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतका स्थानीय तहहरुमा अधिकांश गाउँमा अझै पनि भरपर्दो उपचार सुविधा छैन । विशेषज्ञ चिकित्सकको सेवा लिन वा गम्भीर बिरामीलाई अस्पताल भर्ना गर्नका लागि वीरेन्द्रनगर सदरमुकाम ल्याउनुपर्ने बाध्यता अझै टरेको छैन । सुर्खेतमा नौ स्थानीय तह छन, जहाँ हजारौं नागरिकका लागि आवश्यक पर्ने एम्बुलेन्सको समेत व्यवस्था छैन । तर ढाईवर्ष अघि चुनिएका जनप्रतिनिधिले भने स्थानीय तहको बजेटमा आफ्ना लागि महँगामहँगा गाडी किनेर हुइकीने गरेका छन् ।
त्यति मात्र होइन, जनताको सेवा, सुविधा र हितमा काम गर्ने भन्दै कसम खाएर निर्वाचित भएर आएका जनप्रतिनिधिहरु भने आफ्नै सेवा सुविधा बढाउन लागि परिरहेका छन् । सुर्खेत स्थानीय तहका अधिकांश जनप्रतिनिधि यसका उदाहरण बनेका छन् ।
लाखौँ रकम खर्चेर गाडी किन्ने प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षको ध्यान जनताको स्वास्थ्य सेवाको पहुँच पुर्याउन जान सकेको छैन । कतिपय गाउँपालिका र नगरमा २/२ वटा गाडी हुँदा पनि जनताका लागि चाहिने एम्बुलेन्स किन्ने कुनै योजनासमेत छैन ।
लेकवेशी नगरपालिका–१ का ५ वर्षीय सर्जक केसीलाई दुई वर्ष अगाडि सर्पले टोकेपछि अस्पताल चाँडो पुर्याउन नसक्दा उहाँको मृत्यु भयो । लेकवेशीबाट मेहेलकुना अस्पताल नजिक पर्ने भएपनि समयमै एम्बुलेन्स नपाउदा उहाँको मृत्यु भयो ।
‘जहरेबाट मेहेलकुना अस्पताल पुर्याउने एम्बुलेन्स नै पाइएन,’ आमा पबित्राले भन्नुभयो्, ‘एम्बुलेन्स भइदिएको भए त मेरो छोरा जस्तै अन्य बिरामीलाई सहज हुन्थ्यो तर यहाँ एम्बुलेन्सको व्यवस्था नै छैन ।’ स्थानीय सरकार जनताको स्वास्थ्यप्रति गम्भीर नभएको उहाँले गुनासो गर्नुभयो ।
केही महिनाअघि भेरीगंगा–९ की चन्द्रकला सुनारलाई सुत्केरी व्यथाले च्यापेपछि अप्रेशन गरेर बच्चा निकाल्नुपर्ने भयो । तर एम्बुलेन्स नभएकै कारण प्रसव पिडामै उहाँलाई सार्वजनिक गाडीमा राखेर प्रदेश अस्पताल वीरेन्द्रनगर पुर्याईयो । ‘धेरैजसो चेकजाँच मेहेलकुना अस्पतालमा हुन्छ, तर केही सेवा भएपनि डाक्टर छैनन्,’ स्थानीय जगदिश कार्कीले भन्नुभयो, यहाँ एम्बुलेन्स नभएकाले सार्वजनिक गाडीमा राखेर भएपनि वीरेन्द्रनगर स्थित प्रदेश अस्पतालमा लग्नुपर्ने हुन्छ ।
गुर्भाकोट नगरपालिकाको मेहेलकुना अस्पतालमा हालसम्म आफ्नो एम्बुलेन्स नहुँदा बिरामीलाई सेवा दिन समस्या भएको अस्पताल प्रशासन स्विकार गर्छ । अस्पतालमा भएको एउटा मात्र एम्बुलेन्स बिग्रिएर थन्किएपछि अस्पताल एम्बुलेन्स विहिन बनेको छ ।
अस्पतालालाई पाँच वर्ष पहिले भारत सरकारले एम्बुलेन्स दिएको थियो । तर त्यो एम्बुलेन्स पनि बिग्रिएपछि हाल अस्पताल एम्बुलेन्स विहिन भएको हो । एम्बुलेन्सका लागि अस्पताल प्रशासनले पटक पटक स्थानीय सरकारलाई अनुरोध पनि गरेको थियो तर स्थानीय सरकारले नै एम्बुलेन्सका लागि कुनै चासो नदिएको अस्पताल प्रसाशनले जनाएको छ । गत आर्थिक वर्ष प्रदेश सरकारले एम्बुलेन्स खरिदका लागि बजेट विनियोजन भएपनि फ्रिज भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट मनिष कुमार मिश्रले जनाउनु भयो ।
तर गुर्भाकोट नगरपालिकाले भने मेहेलकुना अस्पताल आफूहरुको अधिकार क्षेत्रभित्र नपर्ने जनाएको छ । गुर्भाकोट नगरपालिकाका नगर प्रमुख हस्तबहादुर पुनले आफ्नो नगरभित्र रहेकाले सेवा प्रवाहको चिन्ता भएतापनि कर्मचारी सहयोग गर्ने अधिकार आफूहरुको नभएको बताउनु भयो । उहाँले गुर्भाकोट नगरपालिकामा खरीद गरिएको एम्बुलेन्स केहिदिनमात्रै आउने बताउनुभयो । गुर्भाकोट नगरपािलकाका प्रमुख, उपप्रमुखका लागि २ वटा गाडीको व्यवस्था रहेको छ ।
सुर्खेतका सबै स्थानीय तहले प्रमुख उपप्रमुखका एक–एक वटा गाडी किनिसकेका छन् । लेकवेशी नगरपालिकाले करिब ३५ लाख मूल्य बराबरको गाडी खरिद गरेको सूचना अधिकारी केशर बहादुर डाँगीले जानकारी दिनु भयो । उहाँका अनुसार मेयर, उपमेयरका लागि २ वटा गाडीको व्यवस्था गरिएको छ । उहाँले भन्नुभयो ‘नगरपालिकामा टाटा कम्पनीको करिब ३५ लाख मूल्यको गाडी ल्याईएको छ र अहिले ५८ लाखको स्करपियो पनि खरिद गरेका छौँ ।’
सूचना अधिकारी डाँगीले लेकवेशी नगरपालिकाले एउटा एम्बुलेन्स किन्ने योजनामा रहेको बताउनु भयो । उहाँले भन्नुभयो ‘नगरपालिकाले एम्बुलेन्सको लागि सूचना जारी गरिसकेको छ, अबको केही महिनाभित्र एम्बुलेन्सको व्यवस्था हुन्छ ।’
भेरीगंगा नगरपालिकामा भने पुरानै गाडी प्रयोग गर्दै आएका छन् त्यहाँका जनप्रतिनिधि । ‘जनप्रतिनिधि आउनुभन्दा पहिले नै एउटा गाडी थियो त्यो नै प्रयोग गरेका छौँ ।’ उपप्रमुख रेणु आर्चायले २० लाखको २ वटा एम्बुलेन्सको खरिदको प्रक्रियामा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सभाले एम्बुलेन्स किन्नका २० लाख रुपैयाँ विनियोजन गरेको छ । अबको २/३ महिनामा दुई वटा एम्बुलेन्स सञ्चालन गर्ने योजनामा छौँ ।’
यता सिम्ता गाउँपालिकाले समेत जनताको लागि आवश्यक एम्बुलेन्स नकिन्ने भएको छ । गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षले ३३ लाख मूल्य बराबरको गाडी प्रयोग गर्दै आइरहेका छन् । तर एम्बुलेन्स भने छैन । सूचना अधिकारी प्रकाशकुमार चन्दले भन्नुभयो, ‘रेडक्रसको एम्बुलेन्स छ । हामीले गाउँपालिकामा ल्याउने प्रयास गरिरहेका छौँ।’
पञ्चपुरी नगरपालिकामा दुई वटा गाडी रहेका छन् । तर नगरपालिकाले एम्बुलेन्स भने किनेको छैन् । ‘पिएसी सालकोटमा र बावियाचौरमा एक–एक गरी दुई वटा एम्बुलेन्स छ,’ नगर उपप्रमुख मुक्तिदेवी रेग्मीले भन्नुभयो, ‘अहिले दुई वटा गाडी प्रयोग गर्दै आएका छौ ।’
यता चिंगाड गाउँपालिकाले समेत ३५ लाख बढीको गाडी किनेको छ । ‘टाटा कम्पनीको करिब ३५ लाख मूल्य बराबरको गाडी किनेका छौँ ।’ गाउँपालिका अध्यक्ष देवबहादुर चन्दले भन्नुभयो, ‘गाउँपालिका भित्रै अहिले एउटा एम्बुलेन्स छ त्यो भएरपनि किनेका छैनौँ ।’
त्यस्तै, बराह ताल गाउँपालिकाले टाटा कम्पनीको करिब ३५ लाखको गाडी किनेको छ । गाउँपालिका उपाध्यक्ष शोभा शर्माले भन्नुभयो, ‘गाउँपालिकामा टाटा कम्पनीको करिब ३५ लाखको गाडी प्रयोग गर्दै आएका छौँ ।’ उहाँले एम्बुलेन्स सञ्चालनका लागि केही महिना लाग्ने जानकारी दिनुभयो ।
चौकुने गाउँपालिकाले पनि ६० लाखको गाडी खरीद गरेको छ । गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षका लागि ६० लाखको गाडीको व्यवस्था गरिएको गाउँपालिकाका योजना प्रमुख रमेश घिमिरेले जनाकारी दिनुभयो । उहाँले गाउँपालिकाले एम्बुलेन्स व्यवस्था गरेको बताउनु भयो ।
वीरेन्द्रनगर नगरपालिकाले पनि नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतका लागि एक–एक वटा गाडीको व्यवस्था गरेको छ । नगरपालिकाका सूचना अधिकारी दिपेन सुवेदीले एम्बुलेन्स खरिदका लागि प्रक्रियामा रहेको बताउनु भयो । वीरेन्द्रनगर नगरपालिकाले एम्बुलेन्स भन्दा पहिले जनताको आवश्यकता र माग बमोजिम दमकल, फोहर उठाउने टिप्पर, ढुङगा माटो बोक्ने टिप्पर, ब्याकहोल्डर जस्ता गाडी खरिद गरिसकेको छ ।
प्रकाशित मिति: ४ पुष २०७६, शुक्रबार १७:०५