सुर्खेत । कर्णाली प्रदेश सरकारले राजधानी सुर्खेत वीरेन्द्रनगर उपत्यका भित्रका २५ वटा सडक मर्मत तथा स्तरोन्नति थालेको छ ।
सडक स्तरोन्नतिकालागि प्रदेश सरकारले पूर्वाधार विकास निर्देशनालयलाई जिम्मा दिएको छ । सडक स्तरोन्नति र मर्मतका लागि सरकारले २१ करोड रकम विनियोज गरेको छ । पूर्वाधार विकास निर्देशनालयका प्रमुख बासुदेव पौडेलका अनुसार उक्त सडकहरु टेन्डर भएर मूल्याङ्कनको प्रक्रियामा रहेका छन् । कोही सडकको मूल्याङ्कन भइसकेको छभने कोही मूल्याङ्कनको प्रक्रियामा रहेको उहाँले जानकारी दिनुभयो ।
पौडेलका अनुसार अबको केही दिनभित्रै सम्झौता हुने र त्यसलगतै मर्मतको काम सुरु हुने भएको छ । सडकको ग्राभेल गर्ने, नाला बनाउने, तथा पिच गर्ने गरी प्रदेश सरकारले वजेट विनियोज गरेको छ । प्रदेश राजधानी शहरी सडकहरुको विस्तृत सर्वेक्षण पुरा गर्ने गरी नयाँगाउँदेखि गुरुङचौकसम्मको १५ लाख, देउती थानदेखि कोपिला स्कुलसम्म १० लाख, रत्न राजमार्ग टेक्पोपार्कदेखि भुरेली गाउँसम्म १५ लाख बजेट विनियोजन गरिएको छ । रत्न राजमार्गदेखि हरिडिलभूमि स्कुलसम्म १ करोड, रत्नराजमार्ग सृजनशील टोल हँुदै काठकुवा सम्मका लागि ५ लाख, हटलाईन दक्षिण र चन्द्रमान चौकदेखि खोर्केखोला सम्मका लागि १ करोड ७५ लाख वजेट विनियोजन भएको छ ।
यस्तै सडक स्तरोन्नतिकालागि मसलाघारीदेखि विहानी टोलसम्मको लागि ७५ लाख, वीरेन्द्रनगर ८ को वडा कार्यालय अगाडिको सडकका लागि १ करोड वजेट, मंगलगढी स्याउली बजारदेखि शिव माविको सडकको लागि ५० लाख, एकता नगर हुँदै काँक्रेविहारको सडकका लागि ५० लाख, रत्नराजमार्ग, दिपनगर हुँदै बुदबुदी गाउँका लागि ५० लाख तथा गणेशटोल देखि हसनापुर बाँध सम्मको सडक स्तरोन्नतिका लागि ५० लाख बजेट विनियोजन गरिएको छ ।
त्यसैगरी देउती बज्यै चौकेढुङ्गाको सडक मर्मतका लागि १ करोड ५० लाख, रत्न राजमार्गदेखि धुलियाविट सम्मका लागि १ करोड, पिपिरा गाग्रेताल सेडा चौक हुँदै रत्नराजमार्गको सडकको लागि १ करोड ५० लाख, भावरपुल देखि नेवारे सहकारी चौकको सडकका लागि १ करोड बजेट छुट्याइएको छ । रत्न राजमार्ग देखि मस्जिद जाने सडकको लागि १ करोड, पुरानो सञ्चयकोष चोकदेखि काठकुवा बुलबुले सम्मको लागि ५ लाख , राधेश्याम मन्दिरदेखि सदभाव टोल सम्मका लागि ५ लाख, नयाँ मार्ग (बजाज शोरुम जाने बाटो) कालोपत्रेका लागि ५ लाख, ढकालचोकदेखि बस्तीपुर सम्मका लागि ५ लाख, न्याउले टोलदेखि तिनकने चोकसम्मका लागि ५ लाख, भैरव माविदेखि समावेशीटोल हुँदै राजमार्ग सम्मका लागि ५ लाख तथा रहरपुरदेखि माथिल्लो पर्सेनी सम्मका लागि ५ लाख र नारायण पेट्रोल पम्प दक्षिण देखि चन्दनगर टोल हुदै बुदबुदीसम्मका लागि ५ लाख बजेट विनियोजन गरेको कार्यालयले जनाएको छ ।
सरकारले गत आर्थिक वर्षमा पनि ११ वटा सडकको स्तरोन्नति थालेको थियो । तर काम भने पुरा हुन सकेको छैन् । गत आर्थिक वर्षमा ११ वटा सडकका लागि प्रदेश सरकारले ३ करोड ५८ लाख बजेट विनियोज गरेको थियो । गत आर्थिक वर्षको सडकपनि डेन्टर प्रक्रियामा नै रहेको प्रमुख पौडेलले बताउनुभयो । उहाँका अनुसार प्रदेश सरकारले गत आर्थिक वर्षमा छनोट गरी निमार्ण गरेका सडकको चालु आर्थिक वर्षमा पनि निरन्तरता दिइरहेको छ । जसमा रत्नराजमार्गदेखि खोर्केखोला वीरेन्द्रनगरमा ४ सम्मको सडकका लागि ७ लाख बजेटको विनियोजन गरेको छ ।
तिलपुरदेखि इटौरा जाने सडक कचवे निमार्ण वीरेन्द्रनगर ३ का लागि ६ लाख बजेट विनियोज गरेको छ । वीरेन्द्रनगर नगरपालिकाका वडा नं. १ पुरी टोलका लागि ३२ लाख बजेको विनियोजन गरेको छ । पिपिरादेखि वीरेन्द्रनगर नगरपालिका ११ गाग्रेताल वस्तीपुर सडक स्तरोन्नति गर्न २१ लाख बजेट विनियोजन गरेको छ । पदमपुरदेखि वीरेन्द्रनगर नगरपालिका १० गणेश टोलसम्मका लागि १७ लाख, पृतना गेट दक्षिणदेखि वीरेन्द्रनगर नगरपालिकाका वडा नं. १३ करेखोला सम्मका लागि ४ लाख बजेट विनियोज गरेको पूर्वाधार विकास निर्देशनालयले जनाएको छ ।
यस्तै एकता नगर वीरेन्द्रनगर नगरपालिकाका वडा नं १० को सडक स्तरोन्नति गर्न १८ लाख, वीरेन्द्रनगर नगरपालिकाका वडा नं १० देउतीवज्यै चौकेढुङ्गा सडक स्तरोन्नतिका लागि २३ लाख, वीरेन्द्रनगर नगरपालिकाका वडा नं ३ सुन्दरमार्गका लागि १७ लाख र घरेलुचोक, मिलन चोक हुदै वीरेन्द्रनगरं ७ इत्राम खोला सम्मको सडक कालोपत्रेका लागि ३५ लाख र इत्रामखोला भारपुरदेखि वीरेन्द्रनगर ७ ज्ञानबहादुर ठाडाको घरसम्मको सडक स्तरोन्नतिका लागि २५ लाख वजेट विनियोजन गरिएको छ ।
पूर्वाधार विकास निर्देशनालय कर्णाली प्रदेशका प्रमुख पौडेलका अनुसार सडकको डिपिआर बनिसकेपछि विनियोजित बजेटको आधारमा काम अघि बढ्नेछ । कर्णाली प्रदेश राजधानी भित्रका अधिकांश सडक जीर्ण बनेपछि सरकारले सडकको स्तरोन्नति कामको सुरुवात गरेको हो । यसअघि पनि वीरेन्द्रनगर नगरपालिकाले सडकको समस्या समाधान गर्न भन्दै पटक पटक माटो र गिट्टी हालेर टार्दै आएको थियो ।
प्रकाशित मिति: २६ मंसिर २०७६, बिहीबार १४:४५