सुर्खेत । एक वर्ष अघि प्रदेश राजधानी सुर्खेतको मंगलगढीचोकको बाटोमा ढलिरहेको अवस्थामा फेला परे । नाम, ठेगाना उमेर बताउन नसक्ने उनी अर्धनग्न अवस्थामा थिए । सडकमा यसरी अलपत्र अवस्थामा रहेका उनलाई सुर्खेतस्थित मानव सेवा आश्रमले साहयता ग¥यो । पूर्ण रुपमा मानसिक रोगी रहेका उनको उपचार र सेवा पाएपछि अवस्थामा सुधार हुँदै आएको छ ।
उनी जस्तै सडकपेटीमा अलपत्र परेका व्यक्ति, असाहाय, अपांग, मनोरोगीको आश्रयस्थल बनेको छ, मानवसेवा आश्रम, सुर्खेत । कष्टकर जीवनयापन गरेका सबै उमेर समूहका व्यक्तिको उद्धार गरेर आश्रममा राखिन्छ ।
यस्तै मानसिक रोगी गंगाराम सुनारलाई मानव सेवा आश्रमले उपचार र सेवा गरेर पूर्णरुपमा निको बनाइसकेको आश्रमका संयोजक सृजना वलीले जानकारी दिनु भयो । ‘पहिले उहाँलाई ल्याउँदा अवस्था एकदमै नाजुक थियो, उहाँले भन्नुभयो आफ्नो दिशा आफ्नै टाउकोमा लगाउने, चिच्याउने गर्नुहुन्थ्यो तर अहिले उपचार गरेर पूर्णरुपमा निको भएको छ ।’
यस्तै जुम्लाकी मानसिक रोगी दुईला नेपाल क्षेत्रीलाई २ वटा छोरीसहित बराहताल गाउँपालिकामा भेटाईएको थियो । उनलाई उक्त गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतको सहयोगमा मानव सेवा आश्रममा पु¥याईयो । अहिले उनको उपचार भइरहेको छ ।
सुर्खेतस्थित आश्रममा आएका १८ जना मनोरोगीहरुको उपचार गरेर घरमा पुनर्मिलन गराईसकेको आश्रमका संयोजक वलीले बताउनु भयो ।
संयोजक वलीका अनुसार आश्रममा ५ जना अशक्त, १० जना बेवारिसे, ४ जना नवजात शिशु र अन्य मानसिक रोगी गरेर ४४ जनाले आश्रय पाईरहेका छन् ।
आश्रमकी संयोजक संयोजक वली भन्नुहुन्छ, ‘अनाथ, अपांग, अशक्त र असाहायलाई उद्धार गरेर आश्रममा ल्याउने र उहाँहरुको औषधि उपचार गर्ने, परिवार भेटिएमा पारिवारिक पुनर्मिलन गराउने काम गर्छौं, परिवार नभेटिएमा आश्रम नै उहाँहरुको जीवनभर सेवा गर्छ ।’
सडकमा मानसिक सन्तुलन गुमाएका, वृद्ध वा अपांग भएर वा कुनै रोगको उपचार गर्न नसकेर सडकमै अलपत्र भएका, चौतारीमै रात काट्न बाध्य भएकालाई आश्रय दिनका लागि आश्रम खुलेको हो ।
मुठीदानबाटै सबथोक
सुर्खेतमा रहेको आश्रमका ४४ जनालाई स्याहारसुसार, खानपान, औषधी उपचार लगायतका लागि मासिक १ देखि डेड लाख रुपैयाँसम्म खर्च हुन्छ । ‘विभिन्न सहयोगदाताहरुले सहयोग गर्नुहुन्छ,’ आश्रमकी सुर्खेत संयोजक वली भन्नुहुन्छ, ’सहयोगीहरुकै कारण सडकमा अलपत्र जीवन बिताइरहेका मानिसलाई उद्धार गरेर सेवा गर्न सकेका छौं ।’
वलीले मानव सेवा आश्रम सुर्खेत मुठीदानबाट नै चलिरेहको बताउनु भयो । ५० जना अट्ने भवनको भाडा वीरेन्द्रनगर नगरपालिकाले व्यहोरिरहेको छ । नगरपालिकाले मानव सेवा आश्रमको भवनका लागि मासिक ५० हजार रुपैयाँ भाडा उपलब्ध गराएको संयोजक वलीले जानकारी दिनु भयो ।
संयोजक वलीले आश्रम चलाउनका लागि मुठीदानबाट उठेको पैसाले नै खर्च चलाईरहेको जनाउनु भयो । उहाँले कर्णाली प्रदेश सरकारले आश्रम खुलेको सुरुवातीमै १० लाख सहयोग गरेको बताउनु भयो । उहाँका अनुसार आश्रममा जन्मदिन, विवाह, ब्रतबन्ध, चौरासी, वैवाहिक कार्यक्रम, वार्षिकी, पितृकार्य जस्ता कार्य गरेर एक छाक खुवाएर सहयोग गर्ने गरिएको छ । उहाँ भन्नुहुन्छ, ‘यसले आफू पनि बाँचौं र अरुलाई पनि बाँच्न देऊ भन्ने उपदेशलाई बल पु¥याउँछ ।’
प्रकाशित मिति: १२ मंसिर २०७६, बिहीबार १५:३९