सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पशुचौपाया व्यवस्थापन लागि गौशाला निर्माण गरिएको छ । नगरमा छाडा छोडिएका पशुचौपायाका लागि उक्त गौशालाको निर्माण गरिएको हो ।
वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ११ को सिमलकुनामा निर्माण गरिएको गौशालामा हाल पाँचवटा गाई राखेर कामको सुरुवात गरिएको छ । तीनवटा उत्पादन दिने र २ वटा उत्पादन नदिने गाई गौशालामा राखिएको केपी व्यबसायका प्रवन्ध निर्देशक कृष्णप्रसाद ढकालले जानकारी दिनु भयो । उहाँका अनुसार ४८ देखि ५० पशुचौपाया अट्ने गौशाला निर्माण गरिएको छ । ढकालले अबको केही दिनमा सडकमा भएका पशुहरुलाई गौशालामा लैजानका लागि गौशाला विधिवत रुपमा सुचारु गरिने जनाउनु भयो ।
गौशालामा परिक्षणको लागि पहिलो चरणमा ५ वटा गाई राखिएको छ । प्रदेश सरकारको ४० प्रतिशत र निजी क्षेत्रको ६० प्रतिशतको लगानीमा गौशाला निर्माण गरिएको हो । गौशाला निर्माणका लागि कर्णाली प्रदेश भुमी व्यबस्था कृषि तथा सहकारी मन्त्रालयले १९ लाख ६० हजार आर्थिक सहयोग गरेको थियो ।
ढकालका अनुसार वीरेन्द्रनगर नगरपालिकाले २ लाख ३८ हजार घाँसको लागि भन्दै आर्थिक सहयोग गरेको छ । केपी व्यबसायद्धारा सञ्चालित गौशाला पुष महिनाको मसान्त सम्म निर्माण गरिसक्नुपर्ने भएपनि साउन महिनामै निर्माण कार्य सम्पन्न भई प्रयोगमा आइसकेको प्रबन्ध निर्देशक ढकालले बताउनु भयो । गौशाला प्रयोगमा आएसँगै बायोग्यास समेत सञ्चालनमा ल्याइएको निर्देशक ढकालले बताउनु भयो । उहाँका अनुसार गौशालाबाट बायोग्यास उत्पादन गर्ने, बायोग्यासबाट निस्किएको फोहोरलाई जैविकमलका रुपमा प्रयोग गर्न सकिने छ ।
स्थानीय मललाई व्यवस्थित गरी कम्पोष्ट मल बनाउने र गाईको पिसाबको मानव जिवनमा हानी नपु¥याउने किटनाशक विशादी बनाउने योजना भएको ढकालको भनाई छ । बनाइएको विशादीले अर्गानिक उत्पादनमा टेवा पुग्ने अपेक्षा गरिएको उहाँले जनाउनु भयो ।
वीरेन्द्रनगरमा छाडा छोडिएका पशुचौपायाले सडक दुर्घटना बढेको थियो । नगरपालिकालाई छाडा पशुचौपाया व्यबस्थापन गर्न चुनौती बनिरहेको थियो । तर गौशाला निर्माण भएपछि पशुचौपायाको व्यबस्थापन हुने अपेक्षा नगरपालिकाले लिएको छ ।
छाडा पशुचौपायाको व्यबस्थापनको लागि भन्दै पुष पहिलो हप्तादेखि नै पशुको गणना गरिने पनि ढकालले जनाउनु भयो । उहाँका अनुसार पशुलाई ट्याग लगाएर छाडाछोडिएका र घर पालिएका पशु चिनिने गरि पशुगणना समेत गरिने उहाँको भनाई छ । आम्दानी हुने बेला सम्म पशु घर पालिने र आम्दानी दिन छाडेपछि सडकमा लगेर छोड्ने गरेको भन्दै पशुको गणना गरि ट्याग गर्न सकेमा पशुचौपाया छाडा छोड्ने प्रवृतिमा कमी आउने ढकालले बताउनु भयो ।
वीरेन्द्रनगरमा पशुपालन गरेका किसानका घरघरमा पुगेर पशुको गणना गरिने र आम्दानी दिन छोडेपछि पशु छाडा छोडेको पाइएमा कारबाही समेत गर्ने उहाँको भनाई छ ।
प्रकाशित मिति: १० मंसिर २०७६, मंगलवार १२:४६