सुर्खेत । संघीय व्यवस्था निर्माण भईसक्दापनि कर्णाली प्रदेशका नागरिकलाई सहज स्वास्थ्य सेवा प्रवाह गर्ने सरकारको लक्ष्यमा अहिलेसम्म ध्यान पुग्न सकेको छैन् । तिन तहका सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर नागरिकको पहुँचसम्म पुर्याउने भनेपनि व्यवहारमा भने कार्यान्वयन हुनसकेको छैन् । रोग, भोक र शोकले पिल्सिएका नागरिक स्वास्थ्य सेवाको पहुँचमा पुग्न नसक्नु दुःखद अवस्था हो ।
ग्रामीण क्षेत्रका नागरिकलाई अझैपनि सामान्य औषधी उपचारका लागि स्वास्थ्य संस्थामा पुग्न झण्डै चार घण्टासम्म पैदल हिड्नु पर्ने बाध्यता रहेको छ । जाजरकोट शिवालय गाउँपालिकाका हरिभक्त रोकायले सामान्य उपचारका लागि चार घण्टा हिड्नुपर्ने बाध्यता रहेका दुखेसो पोख्नुहुन्छ ।
‘साविकको थालारैकरको वडा नं. २, ३, ६, ७, ८, ९ को लागि हाल गाउँपालिकाको वडा नं. ५ को ठाँटीमा स्वास्थ्य चौकी छ । उहाँले भन्नुभयो, ‘वडा नं. २ बाट २ घण्टा लाग्छ भने वडा नं. ९ बाट साढे ४ घण्टा लाग्छ, यति टाढा विरामी हिडेर पुग्न कसरी सम्भव हुन्छ । उहाँले थप्नुभयो, ‘पैदल हिड्दा हिड्दै विरामी मर्ने अवस्था हुन्छ ।’ उहाँका अनुसार विकट पहाडी क्षेत्रका नागरिकले सहजै स्वास्थ्य सेवा लिनबाट बञ्चित हुनु परेको छ ।
भएका स्वास्थ्य संस्थामा पनि पर्याप्त औषधी नहुँदा स्थानीय बासिन्दा जिल्ला सदरमुकाम र अन्यत्र जानुपर्ने बाध्यतामा छन् । रोकायले भन्नुभयो ‘धौ धौ स्वास्थ्य संस्थामा पुगिन्छ, चेकजाँच गराएर औषधी किन्न नीजि मेडिकलमा जानुपर्छ, कहिले सदरमुकाम जानुपर्ने हुन्छ।’
जाजरकोटस्थित शिवालय गाउँपालिका एउटा उदाहरण मात्रै हो । कर्णालीका अधिकांश स्थानीय तहमा नागरिकका दुःख उस्तै छन् । सहज र पायक पर्ने स्थानमा स्वास्थ्य संस्था नहुदाँ सास्ती खेप्दै आएका छन् । भौगोलिक विकटता रहेको कर्णाली प्रदेशका स्थानीय तह अन्तर्गत झण्डै तीन सयभन्दा बढी वडामा अझैपनि स्वास्थ्य संस्था छैनन् ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार कर्णालीका तीन सय २३ वडामा अझै पनि स्वास्थ्य संस्था छैनन् । जवकी स्थानीय तहको पुनःसंरचना गर्दा यसअघिको एउटा गाविसलाई अहिले एउटा वडा बनाइएको छ ।
कर्णाली प्रदेशमा २५ नगरपालिका र ५४ वटा गाउँपालिकामा सात सय २९ वडा रहेका छन् । कर्णाली प्रदेशका नगरपालिकाभित्र पनि एक सय २२ वटा वडा र गाउँपालिका भित्र दुई सय एक वडामा स्वास्थ्य संस्था छैनन् । स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखेको बताउँदै अव स्थानीय नागरिकले पालिकामै स्वास्थ्य सेवा पाउने सामाजिक मन्त्री दल रावल दावी गर्नुहुन्छ । ‘कर्णाली आफैमा भौगोलिक विकटता छ, जसमा यहाँका नागरिक सहजै स्वास्थ्य सेवा पाउन सकिरहेका छैन् । मन्त्रीले रावलले भन्नुभयो, ‘प्रदेश सरकारले स्वास्थ्य सेवा प्राथमिकतामा राखेको छ । सोही बमोजिम काम अघि बढाएका छौँ ।’
संघीय र प्रदेश सरकारले आवश्यक भौतिक पूर्वाधार तयार गरी जनशक्तिको व्यवस्थापन गर्ने तयारी गरेको मन्त्री रावलको भनाई छ । ‘स्थानीय स्तरमै आवश्यक पूर्वाधार तयार गरेर दक्ष जनशक्तिको व्यवस्थापन गर्ने तयारीमा लागिरहेका छौँ । उहाँले भन्नुभयो, ‘पूर्वाधारका लागि संघीय सरकारले पनि सहयोग गरिरहेकै छ । त्यसमा प्रदेश सरकार गम्भिर भएर लागेको छ । अव कोही कसैले अकालमै ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्नतर्फ सरकार प्रतिवद्ध भएर लागेकोछ ।’
प्रकाशित मिति: ९ मंसिर २०७६, सोमबार ११:५९