सुर्खेत । चाडपर्व सकिएसंगै कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरकाका पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको आगमन बढ्न थालेको छ । वीरेन्द्रनगरका पर्यटकीय स्थल कांक्रेबिहार, बुलबुले ताल र देउती बज्यैमा भौतिक पूर्वाधार निर्माणसँगै पर्यटकको आवागमन बढ्न थालेको हो ।
दसैं र तिहार जस्ता चाडपर्वका बेला यहाँ घुम्न आउनुका साथै बनभोजका लागि पनि पर्यटक आउने गरेको वीरेन्द्रनगर नगरपालिका–९ का वडाध्यक्ष सुरेश मानन्धरले जानकारी दिनु भयो । उहाँले भन्नुभयो, ‘चाडपर्व सकिएसँगै पिकनिकस्थलको रुपमा यो क्षेत्र भीड लाग्ने गर्दछ ।’ मानन्धरका अनुसार सुर्खेत पुगेपछि थोरै समयमा धेरै पर्यटकीय स्थलको घुमघाम गर्न सकिने भएपछि भीडभाड बढ्न थालेको हो ।
देउती बज्यैमा बिहान भीडभाड लाग्छ भने कांक्रेविहार र बुलबुले तालमा दिउँसो पर्यटक घुमघाम गर्ने गर्दछन् । यी तीनै स्थलमा दैनिक पाँच सय भन्दा बढी पर्यटक आउने गरेको वडाध्यक्ष मानन्धरले बताउनुभयो । ‘कांक्रेबिहारमा दैनिक पर्यटकहरूको संख्या बढ्दै गएको छ,’ मानन्धरले भन्नुभयो, ‘यो राराको सिजन हो । त्यसैले पनि रारा जाने पर्र्यटक सुर्खेतका पर्यटकीय स्थलमा आउने गर्दछन् ।’
वडाध्यक्ष सुरेश मानन्धरले धार्मिक तथा पुरातात्विक महत्वको कांक्रेबिहारमा आउने पर्यटकका लागि घोडा चढेर घुम्न पाइने व्यवस्था गरिएको बताउनु भयो । कांक्रेविहारमा जाने पर्यटकले घोडा चढेर घुम्न पाइने भएपछि पर्यटक आकर्षित भएका छन् । ‘कांक्रेबिहार आएर भग्नावशेष हेरेर फर्कने पर्यटक घोडा चढेर जंगल सफारी गर्न आउँदा खुसी देखिन्छन्,’ उहाँले भन्नुभयोे, ‘कांक्रेबिहारमा पर्यटक आकर्षण गर्नकालागि अझै थुप्रै काम गर्न बाँकी छ ।’
कांक्रेबिहारमा घोडा चढेर तीन सयमा जंगल सफारी गर्न पाइन्छ । गत ३० असारदेखि कांक्रेबिहारमा घोडा चढ्न पाइने सुविधा भएपछि हरेक महिना कांक्रेबिहार आउने पर्यटकको संख्या बढेको उहाँको भनाइ छ । कांक्रेबिहारमा आउने पर्यटकका लागि वडाकार्यालयले अहिले तिनवटा घोडा व्यवस्था गरेको छ ।
बुलबुलेमा पिकनिकको रमझम
पर्यटकीयस्थल बुलबुले तालमा विभिन्न जिल्लाबाट बनभोज खान आउनेको संख्या बढेको छ । बुलबुले टिकट काउन्टरका कर्मचारी डिल्लीराम न्यौपानेले दैनिक २५ सय सम्म बनभोज खान आउने गरेको बताउनु भयो । उहाँका अनुसार सुर्खेत, दैलेख, जाजरकोट, सुदुरपश्चिम र गण्डकी प्रदेशबाट समेत बनभोज खान आउने गरेका छन् । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न बुलबुले उद्यान पुनःनिर्माण गरिनुका साथै तालमा डुङ्गा पनि सञ्चालन गरिएको छ ।
बुलबुलेमा तालकासाथै बगैँचा, शान्ति पार्क, पिकनिक स्थलको पनि व्यवस्था गरिएको छ । तालबाट निस्किएको पानीबाट परम्परागत १० धारा बनाइएको छ, जहाँ पर्यटकले नुहाइधुवाइ गर्न सक्छन् । बुलबुलेमा एक करोड नौ लाखको लागतमा स्वतः सफा हुने सार्वजनिक शौचालय समेत निर्माण गरिएको छ ।
सुर्खेत आउने पर्यटकका लागि बुलबुले ताल, कांक्रेबिहार र देउती बज्यै प्रमुख आकर्षक स्थल मानिन्छ । अझ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर भएसँगै सुर्खेतका पर्यटकीय स्थान रोजाइमा पर्न थालेका छन् ।
प्रकाशित मिति: ४ मंसिर २०७६, बुधबार १४:१६