सुर्खेत । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णालीमा कार्यरत पत्रकारको सुरक्षा प्रदेश सरकारको जिम्मेवारी रहेको बताउनु भएको छ ।
फ्रिडम फोरम र कर्णाली फाउण्डेशनद्वारा सोमवार वीरेन्द्रनगरमा आयोजित पत्रकार सुरक्षा र दण्डहीनता विषयक कार्यक्रममा मन्त्री भण्डारीले पत्रकारविरुद्ध हुने अपराधको दण्डहीनता अन्त्य गर्दै जीवन सुरक्षाका लागि प्रदेश सरकारले प्राथमिकता दिने उहाँले प्रतिबद्धता जनाउनु भयो । उहाँले भन्नुभयो ‘पत्रकारको सुरक्षाको ग्यारेण्टी सरकारले गर्छ, यहाँहरू सरकारलाई रचनात्मक सुझाव र भ्रष्टाचारविरुद्ध सशक्त भएर लाग्नुहोस ।’ राज्यको चौथो अङ्गका रूपमा लिइएको पत्रकारिता पेसाको संरक्षण र पत्रकारको हितमा सरकारले काम गर्ने उहाँले बताउनु भयो ।
‘कर्णाली प्रदेश सरकार पत्रकारमाथि हुने दण्डहीनता अन्त्यको लागि तयार छ’ मन्त्री भण्डारीले भन्नुभयोे, ‘समाजप्रतिको जवाफदेहिता निर्वाह गर्दा पत्रकारको जीवन सुरक्षा गर्नु राज्यको दायित्व हुन आउँछ, प्रदेश सरकारले पत्रकारलाई असुरक्षित भएको महसुस हुन दिनेछैन ।’
कार्यक्रममा कर्णाली प्रदेशका प्रहरी नायब महानिरिक्षक पूर्णचन्द्र जोशीले पत्रकार सुरक्षाका लागि आफु सदैव लागिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो । मुख्य न्यायधिवक्ता विद्याभुषण मानन्धरले पत्रकारले स्वतन्त्र भुमिकाकासाथ दण्डहिनता न्युनिकरण गर्नका लागि कलम चलाउन जरुरी रहेको बताउनु भयो । उहाँले पत्रकार सुरक्षाका लागि राज्य गम्भिर हुनुपर्ने जनाउनु भयो ।
कर्णाली प्रदेशमा यस वर्ष प्रेस स्वतन्त्रता उल्लंघनका ६ वटा घटनाहरु भएका छन् । फ्रिडम फोरमका महासचिव एवं पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले सन २०१९ मा कर्णाली प्रदेशमा प्रेस स्वतन्त्रता उल्लंघनका घटनाहरु भएको जानकारी दिनुभयो ।
अघिल्लो वर्ष यस प्रदेशमा ३ वटा घटना भएका थिए । देशभर सन २०१८ मा ९७ वटा र २०१९ मा ९८ वटा उल्लंघनका घटनाहरु भएका छन् । फ्रिडम फोरमका अनुसार २०५२ सालदेखि यता कूल २३ जना पत्रकारको हत्या भएको छ भने ३ जना वेपत्ता छन् ।
महासचिव झाले पत्रकारविरुद्ध कुनैपनि हिंसा नहोस् भनेर फ्रिडम फोरमले विभिन्न कामहरु गरिरहेको बताउनु भयो । पत्रकारको महत्व पत्रकार मात्र होइन, समाजसंग पनि भएकोले राज्यका कुनैपनि निकायहरु पत्रकारका विरुद्धमा कुनैपनि हिंसा गराउन नहुने उहाँको भनाइ छ ।
कार्यक्रममा कर्णाली फाउन्डेसनका कर्णाली संयोजक खगेन्द्र भट्टराईले खोजी रिपोर्टिङ्ग गर्दा पत्रकारहरू जोखिममा रहेको बताउँदै पत्रकारको सुरक्षाको लागि राज्यले ध्यान दिनुपर्ने बताउनु भयो ।
प्रकाशित मिति: २ मंसिर २०७६, सोमबार १७:२६