सुर्खेत । राष्ट्रिय गौरव भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले आयोजना प्रभावितलाई मुआब्जा वितरण गर्न सुरु गरेको छ ।
आयोजनाको डुवान क्षेत्रमा पर्ने जग्गाको मुआब्जाका लागि मुल्याङ्कन समितिले गरेको सिफारिसका आधारमा मुआब्जा दिने निर्णय गरिएको छ । डुवान क्षेत्रमा अधिकतम प्रति रोपनी दश लाख रुपैयाँसम्म मुआब्जा उपलब्ध गराउने गरी मुल्याङ्कन समितिले प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन बुझाएको थियो । ऐलानी, दर्ता जग्गा र सडकको पहुँच भए नभएको आधारमा मुल्याङ्कन गरिएको आयोजनाले जनाएको छ ।
मुआब्जाका लागि आयोजनाले ८५ करोड भन्दा बढी बजेट खर्च गरिसकेको छ । आयोजनाले लेकवेशी नगरपालिकाको लेखफर्सामा र गुर्भाकोट नगरपालिकाको गुमीमा पहिलो चरणको मुआब्जा वितरण गरेको उहाँले जनाउनुभयो ।
आयोजनाले पुरै डुवान भएका प्रभावितहरुका लागि पहिलो चरणमा मुआब्जा वितरण गरेको छ । सबै माग सम्बोधन गर्ने गरी आयोजनाले मुआब्जा वितरण थालेको आयोजनाका इन्जिनियर शम्भुराज पण्डितले जानकारी दिनुभयो । ‘आयोजनाले पुरै डुवानमा परेको र कित्ताकाँट गर्नु नपर्ने जग्गाधनीलाई पहिलो चरणमा मुआब्जा वितरण थालिएको हो’ उहाँले भन्नुभयो, ‘सबै प्रक्रिया पुरा गरी आएका आयोजनाले प्रभावितले मुल्याङ्कन समितिले निर्धारण गरेको मुआब्जा पाउनेछन् ।’ ऐलानी जग्गाका प्रभावितका लागि मनत्री परिषद्बाट निर्णय गराउने पर्ने भएकोले केही ढिलाइ हुने इन्जिनियरपण्डितले बताउनुभयो ।
यता आयोजना प्रभावितहरु क्षेत्रका वासिन्दाको सहमति विना नै मुआब्जा वितरण गर्न थालेको भन्दै त्यहाँका स्थानीयले विरोध जनाएका छन् । त्यहाँका स्थानीयले बर्षौदेखि बसोबास गर्दै आएकाले उक्त बसोबास गर्दै आएको क्षेत्रको मुआब्जा र पीडितलाई पुर्नस्थापनाको व्यवस्था गर्नुपर्ने माग राख्दैै आएका छन् ।
आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने अधिकांशको लालपुर्जा छैन । लालपुर्जा नभएकाहरुलाई मुआब्जा दिन सरकारले निर्णय गर्नु पर्ने आयोजनाले जनाएको छ । आयोजनाले लालपुर्जा भएकाहरुलाई मात्र मुआब्जा र क्षतिपूर्ति दिन थालेपछि स्थानीयले विरोध जनाएका छन् ।
आयोजना प्रभावितले एकै पटक मुआब्जा पाउनु पर्ने आफुहरुको माग सुनुवाई नभएको भेरी बवई सरोकार समितिका अध्यक्ष जेवी सुनारले गुनासो गर्नुभयो । ‘लालपुर्जा नभएका बर्षौदेखि भोगचलन गर्दै आएकाहरुलाई पनि मुआब्जा दिनु पर्ने हाम्रो पुरानै माग हो’ उहाँले भन्नुभयो, ‘आयोजनाले पीडितको माग सम्बोधन नगरे आन्दोलन गर्नुको विकल्प हुँदैन ।’
पहिलो चरणमा सुरुङ निर्माण गरेको आयोजनाले दोस्रो चरणमा बाँध र विद्युत गृह निर्माणका लागि मुख्य चीनको गुवाङडुवाङ युएनटिएन इन्जिनियरिङ कम्ंपनी रहने गरी रमण जेभीसँग सम्झौता गरेको जनाइएको छ । दोस्रो चरणको पूर्वाधार बिकास गर्ने गरी आयोजनाले ६ अर्ब १६ करोड ५२ लाख रुपैयाँ लागतमा सम्झौता गरिएको हो ।
२०८० सालसम्म ४८ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहित भेरी नदीमा बाँध निर्माण तथा बबईमा विद्युत गृह निर्माणको काम सुरु गरिएको आयोजनाका इन्जिनियर शम्भुराज पण्डितले जनाउनुभयो । उहाँका अनुसार निर्माण ठेक्का पाएका यि दुई कम्पनीले पुलसहितको ब्यारेज, सर्जसाफ्ट (ट्यांकी) र पावर हाउस निर्माण गर्नेछन् । आयोजनाले दोस्रो चरणमा ४८ मेगावाटको बिजुली उत्पादन गर्ने र तेस्रो चरणमा सिँचाइका लागि काम गर्ने गरी योजना बनाएको जनाएको छ । जसबाट बाँके बर्दियाको ५१ हजार हेक्टर जमिनामा १२ महिना सिँचाई सुविधा पु¥याउन सकिने लक्ष्य आयोजनाले लिएको छ ।
प्रकाशित मिति: १ मंसिर २०७६, आईतवार १२:०५